ad ad

बागमती


बागमतीमा लम्पी स्किन विरुद्धको सप्ताहव्यापी खोप अभियान

बागमतीमा लम्पी स्किन विरुद्धको सप्ताहव्यापी खोप अभियान

सुनिता विष्ट
साउन २४, २०८१ बिहिबार १७:३५, हेटौंडा

बागमती प्रदेश सरकारले शुक्रबारबाट सप्ताहव्यापी रुपमा लम्पी स्किन विरुद्धको खोप लगाउने भएको छ। बिहीवार प्रदेशको कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै गाई भैंसीमा लाग्ने लम्पी स्किन रोग विरुद्धको खोप सप्ताहव्यापी लगाइने जानकारी गराइएको हो।
  
प्रदेशका १३ जिल्लामा ७६ हजार २ सय ७५ गाई भैंसीमा लम्पी स्किन रोग विरुद्धको खोप लगाइने मन्त्रालयले जनाएको छ। प्रदेशका १३ जिल्लामा रहेको ८ वटा पशु सेवा कार्यालयबाट शुक्रबार एकैपटक खोप अभियानको सुरुवात गरिने बताइएको हो। अघिल्लो बर्ष माहामारीकै रुपमा फैलिएको लम्पी स्किन नियन्त्रण गर्नका लागि खोप अभियान चलाइएको थियो। उक्त खोप अभियानमा ४८ हजार ३ सय ६४ पशुलाई खोप लगाइएको मन्त्रालयको तथ्यांक छ। 

प्रत्येक बर्ष लगाउन पर्ने खोप यसबर्ष पनि सप्ताहव्यापी अभियान नै सञ्चालन गरेर लगाउन लागिएको मन्त्रालयले जनाएको छ। खोप लगाउने स्थानको पहिचान, लजिष्टिक व्यवस्थापन, जनचेतनामूलक सामाग्रीहरुको प्रचारप्रसार, समन्वय बैठक, अभिमुखीकरण लगायतका क्रियाकलापहरु समेत सम्बन्धित पशु सेवा कार्यालयहरुद्वारा गरिएको मन्त्रालयले जनाएको छ। 

कति खोपकर्ता ?
मन्त्रालयका अनुसार प्रदेशको १३ वटै जिल्लामा लम्पी स्किन विरुद्धको खोप लगाउन सुरु गरिने छ। प्रदेशका ८ वटा भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मार्फत खोप लागाउन ३ सय ७६ जना खोपकर्ता नियुक्त गरिएको हो।

जसमा पशु सेवा कार्यालय, ललितपुरले १० हजार १२५ खोप लगाउनको लागि ५४ जना भ्याक्सिनेटर नियुक्त गरिेको छ भने पशु सेवा विज्ञ कार्यालय मकवानपुरले ९ हजार १ सय खोप लगाउनको लागि ६२ जना भ्याक्सिनेटर नियुक्त गरेको तथ्यांक छ। 


यस्तै, नुवाकोटले १२ हजार ५ सय खोप लगाउन २५ जना, धादिङले ८ हजार ५ सय खोप लगाउन ४२ जना, चितवनले ९ हजार ७ सय खोप लगाउन १३ जना, दोलखाले ६ हजार ५ सय खोप लागउन २५ जना खोपकर्ता नियुक्त गरेका छन्।

यस्तै, काभ्रेले ९ हजार ९ सय खोप लगाउन ९५ जना खोपकर्ता नियुक्त गरेका छन् भने सिन्धुली पशु सेवा कार्यालयले ९ हजार ९ सय ५० खोप लगाउन ६० जना खोपकर्ता नियुक्त गरेका छन्। ८ वटा पशुसेवा कार्यालयमार्फत प्रदेशका १३ वटै जिल्लामा  खोप लगाइने बताइएको छ । 

७६ हजार पशुवस्तुमा खोप
कृषि तथा पशुपन्छी विकास मन्त्रालयले शुक्रबारबाट सञ्चालन हुने खोप अभियानमा ७६ हजार गाई,भैंसीमा लम्पी स्किन विरुद्धको खोप लगाइने लक्ष्य राखेको छ। खोप अभियान पश्चात् पनि रोगको अवस्थाका आधारमा खोप कार्यलाई निरन्तरता दिने मन्त्रालले जनाएको छ।

हालसम्मको अवधिमा प्रदेश सरकार, स्थानीय निकाय तथा भेटेरिनरी अस्पतालहरुको पहलमा प्रदेशमा १ लाख ४४ हजार गाईभैंसीमा लम्पी स्किन विरुद्धको खोप लगाइएको मन्त्रालयको तथ्यांक छ। यस बर्षको सप्ताहव्यापी अभियानका लागि प्रदेश सरकारले ७३ लाख १९ हजार रुपैंया बजेट विनियोजन गरेर सप्ताहब्यापी कार्यक्रम आयोजना गर्न लागिएको मन्त्रालयको दाबी छ।

मन्त्री श्रेष्ठको पहिलो निर्णय कार्यान्वयन
त्यसोत, यही साउन ९ गते नियुक्त भएका कृषि मन्त्री प्रकाश श्रेष्ठले लम्पी स्किनविरुद्धको खोप अभियान सञ्चालन गर्ने भन्ने पहिलो निर्णयमा हस्ताक्षर गरेका थिए। सोही अनुरुप आफ्नो निर्णय कार्यान्वयन गर्दै अभियान सुरु गर्न लागिएको मन्त्री श्रेष्ठले बताए। 

किसानहरुको पशुधन संरक्षण गर्नका लागि प्रदेश सरकार सधैं तत्पर रहेको बताउँदै मन्त्री श्रेष्ठले अभियानका समयमा छुटेका गाईभैंसीलाई अन्य समयमा पनि निरन्तर खोप लगाइने जानकारी दिए।

के हो लम्पी स्किन ? 
यो सबै उमेरका गाई भैंसीहरुलाई लाग्ने एक प्रकारको सङ्क्रामक तथा सरुवा रोग हो। यस रोगले विशेष गरि गाईलाई असर गर्दछ । यस रोगबाट स्थानीय जातका गाई भन्दा उन्नत जातका गाई बढी प्रभावित हुने गरेको पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयका निर्देशक डा. गौरीमान श्रेष्ठले बताए। 

उनका अनुसार लामखुट्टे, किर्ना र भुसुना जस्ता कीराहरुले यो रोगको बिषाणु रोगी पशुबाट स्वस्थ पशुमा सार्ने गर्छन्। यसको अलावा रोगी पशुहरुको सिंगान, दूध र घाउबाट निस्केको पीप, रगत, जस्ता जैविक रसहरुको प्रत्यक्ष संसर्गबाट पनि यो रोग सर्न सक्छ।

लम्पी स्किन रोगले मुख्यत पशुको छालामा असर गर्दछ र बिरामी पशुको छालामा गाँठागुठीहरु देखा पर्ने गर्दछन्। अफ्रिकामा उत्पति भएको यो रोग सन् २०१२ पछि मध्य पूर्व, दक्षिण पूर्व युरोप हुँदै एसियाको बङ्गालादेश तथा भारतमा आएको पाइन्छ।

यसैगरी नेपालमा मोरङ जिल्लाको सुन्दरहरैचा नगरपालिकाको गाईहरुमा वि.सं २०७७ साल असारमा पहिलो पटक देखिएको थियो भने रोगको पुष्टि चाहि १२ साउन २०७७  मा गरिएको थियो।


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .