गणतन्त्र दिवस २०८१ को अवसरमा बागमती प्रदेशमा विविध कार्यक्रमको आयोजना गरिने भएको छ। बागमती प्रदेश सरकारले तीन दिनसम्म गणतन्त्र दिवसलाई भव्य रूपमा मनाउने निर्णय गरेको हो।
जेठ १३, १४ र १५ गते गणतन्त्र दिवस मनाउन लागेको शुक्रबार पत्रकार सम्मेलन गरेर आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जानकारी दिएको छ।
बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलको संयोजकत्वमा, सभामुख, मन्त्रीहरु, उपसभामुख, विपक्षी दलका नेता, विषयगत समितिका सभापति, संवैधानिक निकायका प्रमुख, कर्मचारी र सुरक्षा निकायका प्रमुख सम्मिलित ४२ सदस्यीय मूल समारोह समिति गठन गरिएको बागमती प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठले जानकारी दिए।
गणतन्त्र दिवसका अवसरमा जेठ १३ गते सामाजिक विकास मन्त्रालयले गणतन्त्र दिवस सम्बन्धी विषयमा विद्यालयस्तरीय बक्तृत्वकला प्रतियोगिता आयोजना गर्ने र युवा तथा खेलकुद मन्त्रालय र खेलकुद परिषदले मैत्रीपूर्ण खेलकुद कार्यक्रम गर्ने भएका छन्।
यस्तै, जेठ १४ गते स्वास्थ्य मन्त्रालयले सार्वजनिक रक्तदान कार्यक्रम, वन तथा वातावरण मन्त्रालयले वृक्षारोपण, सञ्चार रजिष्ट्रारको कार्यालयले प्रदेश सरकारको लगानीमा निर्मित लघु चलचित्र तथा वृत्तचित्र प्रदर्शन साँझ ५ बजे नारायणी मलको चलचित्र घरमा गर्ने कार्यक्रम राखिएको छ।
१५ गते गणतन्त्र दिवसको अवसरमा सम्बन्धित मन्त्रालय–कार्यालयहरुले आफ्नो परिसर सरसफाइ, प्रभातफेरी र मूल समारोहमा शैक्षिक संस्थाबाट शिक्षक तथा विद्यार्थीको सहभागिताका लागि हेटौँडा उपमहानगरपालिका मार्फत समन्वय गर्ने निर्णय भएको छ।
हेटौंडाको भुटनदेवी माविको चौरमा भेला भई स्कुल रोड–बुद्धचोक–चौकिटोल–मानस चोक हुँदै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको प्राङ्गणमा व्याण्ड बाजासहितको प्रभातफेरी गरिने छ।
गणतन्त्र दिवसको अवसरमा गणतन्त्र प्राप्तिका लागि सहिद भएका परिवारका सदस्यलाई सम्मान, पत्रकारहरूलाई पुरस्कार र साँझ प्रदेशस्थित सबै मन्त्रालयहरू मातहतका जिल्लास्थित कार्यालयहरू, सामुदायिक संघसंस्था, शैक्षिक प्रतिष्ठान तथा सार्वजनिक निकायले दीपावली गरी गणतन्त्र दिवस मनाउने तयारी गरीएको मन्त्री श्रेष्ठले जानकारी दिए।
Shares

प्रतिक्रिया