ad ad

बागमती


बागमती प्रदेश सभा : संसदीय सभापतिको निर्वाचन शनिबार, सर्वसम्मतको कसरतमा सरकार

बागमती प्रदेश सभा : संसदीय सभापतिको निर्वाचन शनिबार, सर्वसम्मतको कसरतमा सरकार

नेपालखबर
जेठ ३, २०८१ बिहिबार १५:५५, हेटाैँडा

बागमती प्रदेश सभा सचिवालयले संसदीय समिति सभापतिको निर्वाचन सम्बन्धी सूचना प्रकाशन गरेको छ। बिहीबार प्रदेशसभा सचिव कृष्णहरी खड्काले निर्वाचनको कार्यतालिका सहितको सूचना जारी गरेका हुन्।

प्रदेश सभा नियमावली (पहिलो संशोधन), २०७४ को नियम १४९ को उपनियम (१) बमोजिम समितिको सभापति पदको निर्वाचनका शुक्रबार मनोनयन दर्ताको कार्यसूचि रहेको प्रदेश सभाका प्रवक्ता मनोज कुमार गुप्ताले बताए।

प्रदेश सभा सचिवालयका अनुसार विभिन्न समितिको सभापतिका लागि जेठ ३ गते मतदाताको नामावली प्रकाशन विहान ११ बजे, मतदाता नामावली माथि दाबी विरोध दिउँसो १ बजेसम्म प्रदेश सभा सचिवालयमा हुने गरी कायम गरिएको छ।

यस्तै, मनोनयन दर्ता शुक्रबार हुने कार्यतालिका छ भने निर्वाचनको कार्यक्रम शनिबार हुने गरि सभामुख भुवन कुमार पाठकले कार्यक्रम तय गरेका हुन्।

सम्बन्धित समितिको सभापति पदमा निर्वाचनमा उम्मेवदार बन्न सो समितिका सदस्यले एक जना सदस्यको समर्थन समितिको सभापति निर्वाचित गरियोस् भन्ने प्रस्तावमा प्रदेश सभा नियमावली (पहिलो संशोधन) २०७४ को अनुसूची–३ बमोजिमको ढाँचामा पेश गर्नुपर्ने हुन्छ। उक्त प्रस्तावको आधारमा सचिवालयले निर्वाचन कार्यक्रम अनुसार प्रक्रिया अघि बढाउने छ।

बागमती प्रदेश सभामा प्रदेश मामिला समिति, अर्थ तथा विकास समिति, सार्वजनिक लेखा समिति, उद्योग पर्यटन तथा वातावरण समिति र शिक्षा, स्वास्थ्य तथा कृषि समिति गरि ५ वटा संसदीय समिति रहेका छन्। प्रदेश सरकारको कार्यकाल सुरु भएको डेढ बर्ष पछि संसदीय समितिलाई पूर्णता दिन लागिएको हो।

यता, प्रदेशमा रहेका राजनीतिक दलहरु सकेसम्म सर्वसम्मत नेतृत्व टुंग्याउने जमर्कोमा छ। सात राजनीतिक दल रहेको प्रदेश सभामा हाम्रो नेपाली पार्टी (हानेपा) र नेपाल मजदुर किसान पार्टी (नेमकिपा) बाहेक अन्य पाँच दलहरुलाई एक/एक वटा समितिको सभापति दिने तयारी सरकार पक्षको छ।

प्रदेश सभाको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले दुईवटा समितिको नेतृत्वको दावी गरिरहेको छ। प्रमुख प्रतिपक्षी दलले स्वतः पाउने सार्वजनिक लेखा समिति र अर्को एक समितिको सभापति पाउनुपर्ने दाबी गरिरहेको छ।

दुईवटा समितिको सभापति कांग्रेसले पाए मात्रै निर्वाचन प्रणालीमा नजाने नत्र निर्वाचनमै होमिने कांग्रेस बागमती संसदीय दलका उपनेता रामकृष्ण चित्रकारले बताए।

‘हामीले दुई वटा समितिको नेतृत्व मागेका हौं’, उनले नेपालखबरसँग भने, ‘कसरी मिलाउने भन्ने कुरा सरकारको हो। कांग्रेसले दुईवटा पाए सर्वसम्मत हुन्छ। नत्र हामी निर्वाचनमै जाने हो।’

यता, सर्वसम्मत चयन गर्ने तयारीमा जुटिरहेको नेकपा एमाले बागमतीका सचेतक मधूसुदन पौडेलले बताए। यद्यपि, निर्वाचन नै हुने सम्भावना बढी रहेको सचेतक पौडेलले बताए।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .