बागमती


बागमती प्रदेश सभा : विवाद सुल्झाउन ११ सदस्यीय विशेष समिति गठन

बागमती प्रदेश सभा : विवाद सुल्झाउन ११ सदस्यीय विशेष समिति गठन

नेपालखबर
फागुन १७, २०८० बिहिबार १७:५४, हेटाैँडा

बागमती प्रदेश सभामा सत्ता र प्रतिपक्षी दलबीचको विवाद समाधानका लागि विशेष समिति गठन गरिएको छ।

बिहीबार बसेको प्रदेश सभा बैठकले विशेष समिति गठन गरेको हो। प्रदेशसभा नियमावली २०७४ पहिलो संशोधनको नियम १५२ बमोजिम २०८०/०८१ को बजेट तथा कार्यक्रम व्यवस्थापनसम्बन्धी विषेश समिति गठन गरेको हो।

नेकपा माओवादी केन्द्र बागमती प्रदेश संसदीय दलका प्रमुख सचेतक रत्नप्रसाद ढकालले पेश गरेको उक्त विषेश समिति गठनसम्बन्धी प्रस्तावलाई कांग्रेस संसदीय समितिका सचेतक गोविन्द लम्साल, नेकपा एमाले संसदीय दलका मुख्य सचेतक मधुसुदन पौडेल र राप्रपाका सांसद राजेन्द्र प्रजापतिले समर्थन गरेका थिए।

उनीहरुको समर्थन सहित संसदमा पेस गरिएको सो समिति गठनसम्बन्धी प्रस्ताव सर्वसम्मत स्वीकृत भएको सभामुख भुवनकुमार पाठकले रुलिङ गरेका हुन्।  

नेपाली कांग्रेस बागमती प्रदेशका सचेतक गोविन्द लम्साल सभापति रहेको विशेष समितिमा  प्रदेशसभामा प्रतिनिधित्व गर्ने ६ दलका ११ जना सांसद सदस्य रहेका छन्।

सदस्यहरूमा कांग्रेसका सांसद प्रभात तामाङ, नेकपा माओवादी केन्द्रका प्रमुख सचेत रत्न प्रसाद ढकाल र इन्द्रप्रसाद गोतामे, नेकपा एमालेबाट एमाले बागमतीका प्रमुख सचेतक मधुसुदन पौडेल र डा. दिनेशचन्द्र देवकोटा रहेका छन्।

यसैगरी नेकपा एकीकृत समाजवादीकी रमा आलेमगर र वसन्त प्रसाद मानन्धर,  राप्रपाबाट राप्रपा संसदीय दलका नेता उद्धव थापा र गिरबहादुर तामाङ छन्। हाम्रो नेपाली पार्टीबाट संसदीय दलका नेता शैलेन्द्रमान बज्रचार्य सदस्य छन्।

प्रदेशका विपक्षी दलहरुले चालु आर्थिक वर्षको बजेट कार्यान्वयनमा समानुपातिक र समावेशी हुनुपर्ने भन्दै संसद अवरुद्ध गर्ने चेतावनी दिँदै आएका थिए।

गत असार १ गते ल्याएको बजेट असार १८ गते पास गर्नका लागि मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले ठूलै चुनौती खेप्न पर्यो। त्यतिबेला विपक्षी दल एमाले र राप्रपाले सदन अवरुद्ध गर्दा मुख्यमन्त्रीले ती दलहरुसँग तीनबुँदे लिखित सहमति गरेका थिए।

उक्त सहमतिको कार्यान्वयनको ‘प्ले कार्ड’ फालिरहेको एमाले र राप्रपाको चित्त बुझाउन विशेष समिति गठन गरिएको बताइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .