देशभरसँगै काठमाडौँ उपत्यकाको पनि तापक्रम घट्दो क्रममा छ।
मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सरोज पुडासैनीका अनुसार आज (आइतबार) बिहान ५:४५ बजेको मापनमा काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ४.५ डिग्री सेल्सियस देखिएको छ।
हिजो (शनिबार) यही समयमा उपत्यकाको न्यूनतम तापक्रम ५.२ डिग्री सेल्सियस देखिएको थियो। तर पछि बिहान ८:४५ बजे अझ घटेर ४.५ डिग्री सेल्सियस कायम भएको थियो।
आज पहिलो मापनमै काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ४.५ डिग्री सेल्सियस देखिएको हुँदा अहिले बिहान पुनः ८:४५ बजे मापन गर्दा थप घट्ने अनुमान गर्न सकिन्छ।
यस्तै काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम पनि घट्दो क्रममा छ। मौसमविद् पुडासैनीका अनुसार आज उपत्यकाको अधिकतम तापक्रम १५ देखि १७ डिग्री सेल्सियससम्म हुने अनुमान छ। शनिबार काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम १७.५ डिग्री सेल्सियस थियो।
२४ घण्टामा सबैभन्दा कम तापक्रमलाई त्यस दिनको न्यूनतम र २४ घण्टामा सबैभन्दा बढी तापक्रमलाई त्यस दिनको अधिकतम तापक्रम भनिन्छ। बिहान ८:४५ भित्र न्यूनतम तथा साँझ ५:४५ भित्र अधिकतम तापक्रम मापन गरिन्छ।
अहिले बिहान तराईका केही भूभागसँगै काठमाडौँ उपत्यकामा पनि हल्का हुस्सु लागिरहेको मौसमविद् पुडासैनीले बताए।
‘अहिले काठमाडौँ उपत्यकाको भिजिबिलिटी (पारदर्शिता) ४ किलोमिटर छ’, उनले भने, ‘तर २/३ घण्टापछि हुस्सु हट्छ।’
आज पनि काठमाडौँ उपत्यकामा घाम लाग्ने सम्भावना रहेको मौसमविद् पुडासैनीले बताए।
देशभरका लागि- आजको मौसम पूर्वानुमान : उच्च भूभागमा हिमपात, तराई मधेशमा हुस्सु/कुहिरो
Shares

प्रतिक्रिया