नेपाली कांग्रेस बागमती प्रदेशको आगामी पुस ७ गते हुने पहिलो प्रदेश सम्मेलनको तयारी स्वरुप कार्यसमितिको पूर्ण बैठक बसेको छ।
कांग्रेस बागमती प्रदेश सभापति ईन्द्रबहादुर बानियाँको अध्यक्षतामा आइतबार काठमाडौंमा बसेको बैठकले पहिलो प्रदेश सम्मेलनको लागि आवश्यक तयारी र सम्पन्न भएकोे कार्यबारे समीक्षा गरेको छ।
बैठकले सम्मेलनमा प्रस्तुत गरिने राजनीतिक, सांगठानिक र आर्थिक प्रतिवेदन पास गर्नुका साथै कार्यसम्पादन समितिले हालसम्म गरेका निर्णयहरु अनुमोदन गरिएको कांग्रेस बागमती प्रदेशका प्रवक्ता तिलक रुवालीले जानकारी दिए।
उनका अनुसार यसअघि कार्यसम्पादन समिति बैठकले सम्मेलन सम्पन्न गर्नका लागि बनाइएका विभिन्न समितिका संयोजकहरुले अहिलेसम्म भएको कार्यप्रगति र गर्न बाँकी कार्यको बारेमा आ–आफ्नो धारणा राखेको बताएका हुन्।
काठमाडौंको सुकेधारास्थित नवदुर्गा पार्टी प्यालेसमा हुने सम्मेलनमा नेपाली कांग्रेसका केन्द्रीय सभापति शेरबहादुर देउवाको प्रमुख आतिथ्यता तथा केन्द्रीय पदाधिकारीहरु र सातै प्रदेशका प्रदेश सभापतिहरुको उपस्थिति रहने प्रवक्ता रुवालीले बताए।
Shares

प्रतिक्रिया