ad ad

बागमती


काठमाडौँ महानगरभित्र सञ्चालित अनधिकृत औषधि पसललाई २९ गतेसम्मको अल्टिमेटम

काठमाडौँ महानगरभित्र सञ्चालित अनधिकृत औषधि पसललाई २९ गतेसम्मको अल्टिमेटम

फाइल तस्बिर : मेयर बालेन्द्र शाह


नेपालखबर
मंसिर २०, २०८० बुधबार ८:३६, काठमाडौँ

काठमाडौँ महानगरभित्र अनधिकृत रूपमा औषधि पसल सञ्चालन भइरहेको पाइएको उल्लेख गर्दै मेयर बालेन्द्र शाहले कारबाही गर्ने चेतावनी दिएका छन्। 

अनधिकृत व्यक्तिबाट डाक्टरको  प्रेस्किप्सनबिनै जथाभावी औषधि बिक्री वितरण भइरहेको साथै नार्कोटिक औषधीहरूको प्रचलित ऐन/कानुनअनुसार बिक्री वितरण नगरिएको र उक्त औषधीहरूको आवश्यक अभिलेख नराख्ने गरिएको, गुड फार्मेसी प्राक्टिस (जीपीपी) अनुसार औषधी पसल व्यवस्थापन नगरिएको, काठमाडौँ महानगरपालिका स्वास्थ्य विभागबाट इजाजत पत्र नलिई सञ्चालनमा रहेको विभिन्न गुनासा आम उपभोक्ताबाट आइरहेको मेयर शाहले उल्लेख गरेका छन्। 

जनगुनासो आएपछि महानगरपालिकाको स्वास्थ्य विभागबाट अनुगमन गर्दा माथि उल्लिखित गतिविधि भइरहेको प्रमाणित भएको मेयर शाहले बताएका छन्। 

त्यस्ता औषधि पसललाई यही मंसिर २९ गतेभित्र आफ्ना अवैधानिक कार्य कानुनबमोजिम सच्याउन मेयर शाहले निर्देशन दिएका छन्।  

‘काठमाडौँ महानगरपालिका भित्र सञ्चालनमा रहेका औषधी पसलहरूमा अनधिकृत व्यक्तिहरूबाट औषधी बिक्री वितरण भइरहेको, औषधी व्यवस्था विभागमा दर्ता नभएका औषधीसमेत बिक्री वितरण भइरहेको, चिकित्सकको प्रेस्किप्सनबिना औषधी बिक्री वितरण भइरहेको महानगरमा गुनासो आइरहेको छ’, मेयर शाहले सूचना जारी गर्दै भनेका छन्, ‘काठमाडौँ महानगरपालिकाको स्वास्थ्य विभागबाट अनुगमन गर्दा समेत उल्लेख भएअनुसार भएको पाइएको छ, यसमा हामी गम्भीर छौँ। त्यसैले हामीले यही महिनाको २९ गतेभित्र माथि उल्लेखित सम्पूर्ण कार्यहरू कानुनबमोजिम गर्न यसै सूचनाद्वारा जानकारी गराउन चाहन्छौँ।’  

सोबमोजिम सुधार नभए त्यस्ता औषधि पसल बन्द गराइने चेतावनी उनले दिएका छन्। 

‘माथि उल्लेख भएअनुसारको समयभित्र काठमाडौँ महानगरपालिका क्षेत्रभित्र सञ्चालित औषधी पसलहरूले सुधारात्मक कार्यहरू गरेको नपाइएमा स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ११ (क) तथा काठमाडौँ महानगरपालिका जनस्वास्थ्य ऐन २०८० को दफा २६ (घ) अनुसार स्वास्थ्य विभागबाट अनुगमन भई काठमाडौँ महानगरपालिका जनस्वास्थ्य ऐन २०८० को दफा ५३ अनुसार औषधी पसल बन्द गर्नेसम्मको कारबाही गरिने बेहोरा सम्बन्धित सबैलाई जानकारी गराउन चाहन्छौँ।’ 

अनधिकृत रूपमा औषधि बिक्री वितरण भइरहेको पाइएमा महानगरपालिकाको स्वास्थ्य विभागमा उजुरी गर्न वा गुनासो व्यवस्थापन तथा सोधपुछ केन्द्र (कल सेन्टर) को निःशुल्क टोल फ्रि नम्बर १६६००१०५५११ वा ११८० मा सम्पर्क गरी सूचना दिन मेयर शाहले महानगरवासीलाई अनुरोध पनि गरेका छन्।  

मेयर शाहले आफूहरू काठमाडौँ महानगरपालिकामा बसोबास गर्ने आम नागरिकको स्वास्थ्यका लागि निकै संवेदनशील रहेको बताएका छन्। 

यसैले महानगरपालिकाले नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन विभिन्न सुधारात्मक कार्य गरिरहेको उनले उल्लेख गरेका छन्। तर आम मानिसको जनस्वास्थ्यमा लापरबाही भइरहेको पाइएको उनले उल्लेख गरेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .