ad ad

बागमती


मुख्यमन्त्री जम्मकट्टेलको काँधमा ८ मन्त्रालय

मुख्यमन्त्री जम्मकट्टेलको काँधमा ८ मन्त्रालय

नेपालखबर
चैत १३, २०७९ सोमबार १५:५६, हेटाैँडा

बागमती प्रदेशका ८ वटा मन्त्रालयको जिम्मेवारी मुख्यमन्त्री शालिकराम जम्मकट्टेललको काँधमा छ।

तत्कालिन गठबन्धनमा रहेर सरकारमा गएको राप्रपाका तीन र एमालेका चार मन्त्रीहरुले राजीनामा दिएपछि रिक्त रहेका मन्त्रालयको जिम्मेवारी मुख्यमन्त्री जम्मकट्टेलले सम्हालिरहेका छन्। 

फागुन १३ गते राप्रपाका तीन मन्त्रीहरुले सामूहिक राजीनामा दिएपछि एक महिनादेखि ती मन्त्रालय रिक्त छन् भने गत शुक्रबार एमालेका चार मन्त्री पनि सरकारबाट बाहिरिएपछि हाल मुख्यमन्त्री कार्यालयदेखि बाँकी ७ मन्त्रालयको जिम्मा मुख्यममन्त्री जम्मकट्टेलको काँधमा आएको हो। 

प्रदेशको श्रम रोजगार तथा यातायात मन्त्रालय, उर्जा सिंचाई तथा खानेपानी मन्त्रालय, वन तथा वातावरण मन्त्रालय, आर्थिक मामिला तथा योजना मन्त्रालय, कृषि तथा पशुपन्छी विकास मन्त्रालय, स्वास्थ्य मन्त्रालय र पर्यटन उद्योग तथा सहकारी मन्त्रालय गरी ७ मन्त्रालय रिक्त छन्। ११ मन्त्रालय रहेको बागमतीमा हाल माओवादीका मुख्यमन्त्री सहित ४ मन्त्रालयमा मात्रै मन्त्रीहरु रहेका छन्। 

मन्त्रालय मन्त्रीविहीन हुँदा कामकाजमा समस्या हुने गरेको सचिवहरु बताउँछन्। कुनै पनि योजनाको सम्झौता गर्नुपरे अथवा समितिहरु गठन गर्न परेको खण्डमा समस्या पर्ने गरेको उनीहरुको भनाई छ।

यता, प्रदेशका प्रमुख सचिव मुकुन्दप्रसाद निरौला भने मन्त्रीविहीन हुँदा थोरै समस्या परेपनि कामकारबाही नै भने नरोकिएको बताउँछन्।

‘मन्त्रीज्युहरु आइसक्नु भएको थियो, यही मन्त्रिपरिषद्ले काम गर्न पाइरहेको भए थुप्रै योजनाहरुको काम अघि बढिसक्थ्यो। राजनीतिक समीकरणले गर्दा सरकार अस्थिर भयो। यसले केही हदसम्म समस्या त छ। तर काम नै रोकिने गरी भने समस्या परेको छैन,’ प्रमुख सचिव निरौलाले भने।’ 

तर कतिपय योजनाहरु पूरा गर्न मन्त्रीस्तरीय निर्णय आवश्यक हुने भएकोले यस्ता योजनाहरुको प्रक्रिया भने अगाडि बढाउन नसकिएको उनले बताए।

उनका अनुसार प्रदेशका १३ वटै जिल्लामा स्थापना गर्ने गरी एकीकृत सेवा सञ्चालन गर्न प्रमुख सचिव निरौलाको संयोजकत्वमा अध्ययन समिति नै बनेको थियो। 

प्रदेश सरकारले मन्त्रालयअन्तर्गतको सेवा लिन प्रदेश राजधानीसम्म धाउनुपर्ने बाध्यता अन्त्य गर्न जिल्लामै कार्यालय खोल्ने तयारी गरेको थियो। उक्त समितिले अध्ययन गर्दैगर्दा राप्रपाले सरकार छाडेपछि अध्ययन नै अलपत्रमा परेको छ। शुक्रबार एमालेका थप चार मन्त्रीहरुले पनि सरकार छोडेपछि कतिपय कामहरु अलपत्र परेका छन्। 

यता, प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेल अब आफ्नो काँधमा रहेका ७ मन्त्रालयको जिम्मेवारी गठबन्धनमा रहेका दलहरुलाई सुम्पिने तयारीमा रहेको बताउँछन्।

‘केन्द्रीय समीकरणले गर्दा सत्तामा फेरबदल आयो, यसको असर बागमतीमा पनि पर्न गयो’ उनले भने, ‘अबको ३/४ दिनभित्रै रिक्त रहेको मन्त्रिपरिषद्ले पूर्णता पाउँछ। विश्वासको मत लिएपछि मात्रै सरकार विस्तार गर्नुपर्ने भएकोले ढिलो भएको हो।’

उनले एमाले र राप्रपाले छोडेको मन्त्रालयमा कांग्रेस, एकीकृत समाजवादी र हाम्रो नेपाली पार्टीलाई मिलाएर सरकारमा लाने तयारी गरिरहेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .