मधेशी आयोगले गाईको मासु बेच्ने पर्सा जिल्लाको विरगञ्ज महानगरपालिकामा रहेको चिकेन स्टेसनलाई कारबाही गर्न गृह मन्त्रालयलाई पत्र पठाएको छ।
हिन्दु परिषद नेपालका केन्द्रीय सदस्य रुण झाले सञ्चालन गरेको चिकेन स्टेसनले रमदानको अवसरमा गाईको मासुको परिकारमा विशेष छुट सम्बन्धी सामाजिक सञ्जाल मार्फत प्रचार गरेपछि विभिन्न हिन्दु संघ संगठनहरुले मधेशी आयोगमा राष्ट्रिय जनावर गाईको मासु बेच्ने चिकेन स्टेसनलाई कारबाही गर्नको लागि उजुरी दर्ता गराएका थिए।
सो उजुरी प्राप्त भएपछि आयोगका अध्यक्ष डा. विजयकुमार दत्तको निर्देशनमा आयोगले गृह मन्त्रालयलाई चिकेन स्टेसनलाई कारबाही गर्न पत्राचार गरेको छ। आयोगका अध्यक्ष डा. दत्तले राष्ट्रिय जनावर तथा हिन्दु धर्मावलम्बीहरुले पूजा गर्ने गाईको मासु बेच्नु गैरकानुनी क्रियाकलाप रहेको बताउँदै आयोगले यो विषयमा तुरन्त कारबाही गर्न गृहलाई पत्र पठाइएको बताएका छन्।
अध्यक्ष दत्तले यस्ता गैरकानुनी काम गर्ने जोसुकैलाई पनि आयोगले कानुनी दायरामा ल्याई कारबाही गरिने जानकारी दिएका छन्।
आयोगले सामाजिक सञ्जाल फेसबुकमा मो. कबिर नाम गरेको व्यक्तिले हिन्दु धर्मका देवी देवताहरुमाथि अपशब्द प्रयोग गरी सम्पूर्ण हिन्दु धर्मावलम्बीहरुमाथि प्रहार गर्नेलाई समेत कानुनी दायरामा ल्याई तुरुन्त कारबाही गर्न प्रहरी प्रधान कार्यालयलाई पत्र काटेको छ।
प्रतिक्रिया