शुक्रबार (१० चैत) दिउँसो प्रदेशसभा बैठकमा मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले विश्वासको मत लिने कार्यक्रम थियो। विश्वासको मत लिएलगत्तै भौतिक पूर्वाधार विकास मन्त्री युवराज दुलालको काठमाडौं यात्रा तय भयो।
प्रदेश राजधानी हेटौंडाबाट काठमाडौं आउँदैगर्दा मन्त्री दुलालले महालक्ष्मीखोला–देउराली हुँदै मातातीर्थसम्म निर्माणाधिन पक्की सडकको निरीक्षण तथा अनुगमन गरे। हेटौंडालाई काठमाडौंसँग छोटो दूरीले जोड्ने यो सडक ६१ किलोमिटर लामो छ।
निवर्तमान युवा तथा खेलकुदमन्त्री रत्न ढकालसँगै अनुगमनमा पुगेका दुलालले चाँडोभन्दा चाँडो काम सक्न सम्बन्धित निकायलाई निर्देशन दिए।
गत माघ ११ मा मन्त्री नियुक्त भएका दुलालले यसबीचमा दर्जनौं निर्माणाधीन सडकको अवलोकन गरेका छन्। प्रदेशका पहाडी जिल्लामा स्तरोन्नती र कालोपत्रे भइरहेका सडकको निरीक्षण गर्दै धमाधम आवश्यक निर्देशन पनि दिइरहेका छन्।
सिन्धुली, रामेछाप, नुवाकोट, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, मकवानवपुर, धादिङ लगायतका प्रदेशभित्रका जिल्लामा भइरहेका सडक, पुल लगायतका भौतिक निर्माणका काममा दुलालले चासो बढाएका हुन्।
निर्माण सुरु गरेर लामो समयदेखि अलपत्र भएका योजनाहरूको निरीक्षणपछि कारबाही र निर्देशनमात्र नभई कतिपय ठाउँमा ठेक्का तोड्ने चेतावनी समेत मन्त्री दुलालले दिएका छन्।
समयसीमाभित्र काम नगर्ने ठेकेदार कम्पनीसँग ठेक्का तोड्नेगरी कुनै आवेगमा निर्णय नभएको मन्त्री दुलाल बताउँछन्। उनका अनुसार प्रदेशभित्रका १३ वटै जिल्लाका कार्यालय प्रमुखसहित सरोकारवाला निकाय प्रमुखसँगको छलफलपछि अनुगमन सुरु गरिएको हो।
‘हामीले जनतालाई विकास दिन सक्दैनौं भनेपछि त्यसको विकल्पमा मन्त्रालय जानुपर्छ भन्ने निष्कर्श भयो। हामीले १३ वटै जिल्लाको कार्यालयप्रमुख सहित राखेर समीक्षा गरेर निकालेको निश्कर्ष हो,’ दुलालले भने, ‘यो कुनै आवेगमा, भावनामा, नयाँ मन्त्री आएर आएको होइन। हामीले विकास निर्माणमा डेलिभरी दिनुपर्छ भनेर योजनावद्ध तरिकाले आएको हो।’
कहाँ–कहाँ भयो अनुगमन?
मन्त्रालयको जिम्मेवारी सम्हालेलगत्तै मातहतका सबै जिल्ला कार्यालय प्रमुखहरूलाई बोलाएर कार्य प्रगति विवरण प्रस्तुत गर्न लगाइयो।
मन्त्रालयमा मन्त्रीसहितको उपस्थितिमा प्रस्तुत भएको प्रगति विवरण सुस्त देखिएपछि विभागीय प्रमुख र कर्मचारीहरूलाई नतिजामुखी परिणाम निकाल्नसमेत मन्त्रीले निर्देशन दिएका थिए। लगत्तै मन्त्री आफैं फिल्डमा देखिए।
राजनीतिक पहुँचका आधारमा ढिलासुस्ती गरि अधुरा छाडिएका त्यस्ता योजनाहरूका बारेमा बुझ्न मन्त्री दुलाल सुरुमा हेटौंडा–काठमाडौं जोड्ने छोटो दुरीको सडकखण्ड भैँसे–भिमफेदी र हुमाने फर्पिङ खण्डको अनुगमनमा निस्किएका थिए।
लगत्तै, मकवानपुरस्थित आमभन्ज्याङ–३ र मकवानपुरगढी–७ जोड्ने निर्माणाधीन १२६ मिटर सामरी पुलको अनुगमनमा निस्किएका थिए। त्यसपछि काभ्रेको खानीखोला गाउँपालिका र मकवानपुरको बागमती गाउँपालिकाको सीमाना पर्ने तालढुंगामा पर्ने पुलको अनुगमन गरेर आवश्यक निर्देशन दिएका थिए।
त्यस्तै, सिन्धुपाल्चोकको निर्माणाधीन झ्याँडी–देउराली सडकखण्ड, सिन्धुलीको निर्माणाधीन सिन्धुली–भिमस्थान, चकमके हुँदै कटाहरी जोड्ने पक्की मोटरबाटो अनुगमन गरिएको थियो।
स्थानीयको गुनासोपछि रामेछापको मन्थली–गाइखुरे–चिसापानी जोड्ने निर्माणाधीन ७ किमि सडकको अनुगमन गर्दै आवश्यक निर्देशन समेत दिइएको मन्त्री दुलालका स्वकीय सचिव दिपक न्यौपानेले जानकारी दिए।
धादिङको मनहरी–आदिमघाट मोटरबाटो अनुगमनका क्रममा गजुरी–६ स्थित राम्चे गाउँमा निर्माणाधीन सडक प्राविधिक स्टमेट अनुसार नभएको भन्दै तत्काल काम रोक्न समेत उनले निर्देशन दिएका थिए।
त्यसैगरी, मन्त्रालयको २० करोड लगानीमा निर्माणाधीन नुवाकोटको बागेश्वरी–उर्लेनी–काल्चे हुँदै माला भञ्ज्याङको ९ किलोमिटर सडकको अनुगमन भएको थियो। उक्त अनुगमनको क्रममा सुर्यगढी गाउँपालिका–३ फलाटेमा निर्माणाधीन सडक वाल प्राविधिक अनुकुल नभएको भन्दै तत्काल काम रोक्न समेत मन्त्री दुलालले निर्देशन दिएका थिए।
मन्त्री दुलालको निरन्तर अनुगमन र निर्देशनपछि अहिले ठेकेदार कम्पनीहरुले धमाधम काम अघि बढाएको भौतिक मन्त्रालयले जनाएको छ।
सडक कालोपत्रे गर्न ठेक्का
त्यस्तै, प्रदेशका विभिन्न सडकखण्डको कालोपत्रे तथा स्तरोन्नतीका लागि कालोपत्रे गर्न ठेक्का आह्वान गरिएको छ।
सिन्धुपाल्चोकको मेलम्ची–चौतारा जोड्ने मुख्य सडक अन्तर्गत पहिलो चरणको नवलपुर मेलम्ची सडक खण्डको कालोपत्रेका लागि ठेक्का आह्वान गरिएको मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अुनसार जल्केनी नसिंङ डाँडा सडक र भन्ज्याङ डडुवा रोडको स्तरोन्नतीका लागि पनि ठेक्का आह्वान भएको छ।
प्रतिक्रिया