बागमती प्रदेश सभामा कांग्रेसका सांसदहरुको अलमलताका कारण मुख्यमन्त्री शालिकराम संकटमा परेका छन्। सत्ता गठबन्धनमा आवद्ध रहेको नेपाली कांग्रेसले साथ दिन नचाहेपछि मुख्यमन्त्री जम्मकट्टेल संकटमा परेका हुन्।
यसअघि सरकारमा रहेको राप्रपाका सांसदहरुले समर्थन फिर्ता लिएर सरकारबाट बाहिरिएपछि अल्पमतमा परेका मुख्यमन्त्रीले १ महिना भित्र संसदबाट विश्वासको मत लिनुपर्ने हुन्छ।
फागुन १३ गते राप्रपाले सरकारलाई गरेको समर्थन फिर्ता लिएकोले आउँदो १३ गते सम्ममा विश्वासको मत लिनुपर्नेहे हुन्छ। जसका लागि मुख्यमन्त्री जम्मकट्टेलले आज विश्वासको मत लिने कार्यसूचि अनुसार प्रदेश सभा बैठक डाकिएकोमा गठबन्धनमा रहेको कांग्रेस नै हेटौंडा नफर्किएपछि बैठक स्थगित हुने सम्भावना समेत बढेको माओवादीका एक प्रदेश सभा सदस्यले बताए। सरकारको नेतृत्व आफ्नो पोल्टामा पार्ने कांग्रेसको यो रणनीतिले मुख्यमन्त्री जम्मकट्टेल संकटमा परेका छन्।
कांग्रेसमा दुई धार
केन्द्रको गठबन्धन अनुसार बागमती प्रदेश सभामा तीन राजनीतिक दलको प्रतिनिधित्व छ। कांग्रेस, माओवादी र एकीकृत समाजवादी रहेको गठबन्धनमा कांग्रेसका ३७ सांसदहरु नै दुई धारमा देखिएका छन्। एक पक्ष जम्मकट्टेललाई नै समर्थन गर्नेमा सकारात्मक छन् भने अर्का पक्षका सांसदहरु कांग्रेसकै नेतृत्वमा सरकार गठन हुनपर्ने भन्दै जम्मकट्टेललाई विश्वासको मत दिन नहुने अडानमा छन्।
कांग्रेस भित्रकै निर्णय बाझिनुले मुख्यमन्त्री जम्मकट्टेललाई अझ संकटमा बढेको छ। कांग्रेस बागमती संसदीय दलका नेता बहादुर सिंह लामा पक्षले लामालाई नै मुख्यमन्त्री दिनुपर्ने अडानमा छन् भने प्रदेश सभापति इन्द्रबहादुर बानियाँ मुख्यमन्त्री माओवादीका जम्मकट्टेललाई नै समर्थन गरेर आफू अर्थ मन्त्री बन्ने दाउमा उभिएका छन्।
कांग्रेस संसदीय दलको निर्वाचनको नतिजालाई आधार मान्ने हो भने पनि दलका नेता लामाको पक्षमा २१ सांसद छन् भने सांसद बानियाँको पक्षमा १६ सांसद छन्। कांग्रेसमै दुईधार हुँदा सहमतीको निणर्य निकाल्न नसक्नुको असर मुख्यमन्त्री जम्मकट्टेललाई पर्ने लगभग निश्चित छ।
यस्तो बन्छ अंकगणित
७ राजनीतिक दलको नेतृत्व रहेको बागमतीमा केन्द्रको सत्ता समीकरण अनुसार ३ दल आवद्ध छन्। जसमा सबैभन्दा ठुलो दल कांग्रेस हो।
कांग्रेसको ३७ सांसदहरु रहेका छन्। यस्तै माओवादी २१ छन् भने एकीकृत समाजवादीको ७ सांसद रहेका छन्। बागमती सरकारलाई बहुमत पुग्न ५६ सांसदको समर्थन आवश्यक पर्छ। कांग्रेस, माओवादी र एकीकृत समाजवादीको गरी ६५ हुन आउँछ।
कांग्रेसको दुुईधार अनुसार नै मुख्यमन्त्री जम्मकट्टेललाई विश्वासको मत आए जम्मा ४४ हुन आउँछ। अर्थात कांग्रेसका संसदीय नेता लामा पक्षका सांसदहरुले विश्वासको मत दिएनन् भने मुख्यमन्त्री जम्मकट्टेल अल्मतमा पर्छन र सरकार ढल्छ।
सरकारबाट बाहिरिने तयारीमा रहेका एमालेले मुख्यमन्त्रीलाई विश्वासको मत दिने पक्षमा रहँदैन। राप्रपा पनि विश्वासको मत दिने पक्षमा नरहेको पूर्व मन्त्री तथा राप्रपा बागमती संसदीय दलका नेता उद्धव थापाले बताए।
यसैगरी पहिलो पटक समेत विश्वासको मत नदिएको नेमकिपाले दोस्रो पटक पनि विपक्षमा मत जाहेर गर्ने नेमकिपा बागमती संसदीय दलमा नेता सुरेन्द्रराज गोसाईँ बताउँछन्।
हाम्रो नेपाली पार्टीका दुई सांसद भने विश्वासको मत दिने पक्षमा देखिएका छन्। हाम्रो नेपाली पार्टीका २ मत आए ४६ हुन आउँछ। जसअनुसार मुख्यमन्त्री जम्मकट्टेलले विश्वासको मत पाउन अझै १० समर्थन आवश्यक पर्ने हुन्छ। कांग्रेस एक जुट भएर जम्मकट्टेललाई विश्वासको मत नदिएको अवस्थामा मुख्यमन्त्री जम्मकट्टेल संकटमा परेका छन्।
प्रतिक्रिया