ad ad

बागमती


बन्द भएको २२ वर्ष बित्यो, हेटौँडा कपडा उद्योगले पाएन पुनर्जीवन

बन्द भएको २२ वर्ष बित्यो, हेटौँडा कपडा उद्योगले पाएन पुनर्जीवन

सुनिता विष्ट
माघ २०, २०७९ शुक्रबार २१:४६, हेटाैँडा

कपडा उत्पादनको क्षेत्रमा इतिहास बोकेको हेटौँडा कपडा उद्योग बन्द भएको २२ वर्ष पूरा भयो।

सरकारले २०५७ साल माघ १८ गते उक्त उद्योग बन्द गर्ने निर्णय गरेको थियो। २०३५ साल माघ ५ बाट सञ्चालनमा आएको उक्त कपडा उद्योग लगभग २२ वर्ष सञ्चालनमा रहेर नै बन्द भएको थियो।

औद्योगिक क्षेत्रको १९२ रोपनी क्षेत्रफलमा फैलिएको उद्योगका भवनहरु जीर्ण भइसकेका छन्। ती भवनमा उद्योग सञ्चालन गर्न सजिलो नहुने सरोकारवालाहरु बताउँछन्।

अहिले उद्योगभित्र पानी जमेर आहाल बनेको छ। विद्युतीय प्रणाली ध्वस्त छ। मेसिनमा धागो कुहिएर बसेका छन्। मेसिनमा अड्किएका कपडाहरु त्यहीँ सडेका छन्।

बाहिरबाट हेर्दा उद्योग क्षेत्र खण्डहर देखिन्छ। उद्योग परिसरमा सशस्त्र प्रहरीको एउटा गण स्थापना गरिँदा सरसफाइमा केही सुधार देखिए पनि भवन दिनानुदिन जीर्ण बन्दै गएको छ।

त्यसो त, सरकारको हरेक वर्षको बजेट तथा कार्यक्रममा हेटौँडा कपडा उद्योग पुनः सञ्चालन गर्ने योजना बनाउँदै बजेट विनियोजन गर्ने गरेको छ।

चालू आव को बजेट नीति तथा कार्यक्रममा पनि रुग्ण हेटौँडा कपडा उद्योगलाई सञ्चालनमा ल्याउने भन्दै तत्कालिन उद्योग वाणिज्य तथा आपूर्ती मन्त्री दिलेन्द्र बडूले गत साउन १२ गते उक्त उद्योगको स्थलगत अवलोकनसमेत गरेका थिए। तुरुन्तै सामानहरु फेरेर काम सुरु गरिहाल्ने प्रतिवद्धता जनाएका मन्त्री बडूले पनि रुग्ण कपडा उद्योगलाई पुर्नजीवन दिन सकेनन्। 

‘बागमती प्रदेशको राजधानी हेटौँडा ८ स्थित हेटौँडा औद्योगिक क्षेत्रभित्र रहेको बन्द उद्योगलाई ‘सञ्चालन गरिनेछ’ भनेर प्रत्येक वर्षको बजेट भाषणमा घोषणा गरिँदै आएको छ।

तर, उद्योगले अहिलेसम्म पुनर्जीवन पाएको छैन। २०३२ सालमा शिलान्यास भएको उद्योग चिनियाँ सरकारको सहयोगमा बनेको थियो। २०३५ साल माघ ५ बाट सञ्चालनमा आएको उद्योग कुनै समय मकवानपुरको मात्र नभएर देशकै शान थियो।

हेटौँडा औद्योगिक क्षेत्रको मात्र नभएर देशकै ठूलो उद्योगबाट उत्पादन भएका सुती धागो, कोरा, रंगीन, बुट्टेदार र सेतो कपडा खरिद गर्न व्यवसायी तथा आम उपभोक्ताले तँछाडमछाड नै गर्थे।

तर, २०५० तिर जब उद्योगमा राजनीतिले प्रवेश पायो तब उद्योगको दुर्गति सुरु भयो। ट्रेड युनियनको नाममा भएको राजनीति र सरकारमा जाने दलले आफ्ना नेता तथा कार्यकर्ता भर्तीकेन्द्र बनाउँदा नाफामा रहेको उद्योग २०५७ सालसम्म आइपुग्दा पूर्ण बन्द भयो।

सरकारले २०५७ साल माघ १८ गते उक्त उद्योग बन्द गर्ने निर्णय नै गर्यो। २०५९ सालमा सरकारले उद्योग खारेजीको प्रक्रिया अघि बढायो।

उद्योग बन्द भएसँगै सयौँको रोजगारी त खोसियो नै, सरकारले सबैभन्दा धेरै नाफा गर्ने, नेपाली कपडालाई विश्व बजारमा ‘ब्राण्डिङ’ गर्ने उद्योगको अस्तित्व माटोमा मिलायो। करिब १५ सय व्यक्तिले प्रत्यक्ष रोजगारी पाएको उद्योगमा राजनीति छिरेपछि उद्योग नै धराशायी भएको थियो।

उद्योगले पुर्नजीवन पाउने कुराको चर्चा गत साउनमा निकै चल्यो। तर अब त्यो कुरा बिस्तारै सेलाउँदै गएको छ। 

पुराना मेसिन जबरजस्ती चलाउन खोजे दुर्घटनाको सम्भावना रहने व्यवसायी नै बताउँछन्। हालको मेसिनबाट उद्योग सञ्चालन हुनै नसक्ने उद्योग संघ हेटौंडाका अध्यक्ष स्वागतराज प्याकुरेलको दाबी छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .