ad ad

बागमती


वडाध्यक्षकै ट्याक्टरमा रातारात नदीजन्य पदार्थ ओसार-पसार

वडाध्यक्षकै ट्याक्टरमा रातारात नदीजन्य पदार्थ ओसार-पसार

मकवानपुरगढीको ५ नम्बर वडाका वडा अध्यक्ष दिपेश दाहाल।


सुनिता विष्ट
माघ ७, २०७९ शनिबार २०:२२, हेटाैंडा

देशभर नदीजन्य पदार्थ उत्खनन् र ओसारपसारमा रोक लगाइएको छ। जसका कारण सबै क्रसर उद्योगहरु हाल बन्द छन्।

तर मकवानपुरको मकवानपुरगढी गाउँपालिकामा भने रातको समयमा क्रसरको काम हुने र सामनहरु ओसारपसार हुने गरेको पाइएको छ।

रातको समयमा वडा अध्यक्षकै ट्याक्टर स्थानीयले रंगेहात समातेका छन्।

मकवानपुरगढीको ५ नम्बर वडाका वडा अध्यक्ष दिपेश दाहालको प्रदेश-२-०३-००१ त ४३७२ नम्बरको ट्याक्टर शुक्रबार राती करिब १० बजे ६ नम्बर वडास्थित डुम्रेकुनामा समातिएको हो।

स्थानीय युवाहरुले नदीजन्य पदार्थ उत्खनन् र ओसारपसारमा रोक लगाइएको बेला रातको समयमा गिट्टी बोकिएको भन्दै ट्याक्टर नियन्त्रणमा लिएका हुन्। उक्त ट्याक्टरलाई शुक्रबार राती नै जिल्ला प्रहरी कार्यालय मकवानपुरमा ल्याइएको छ।

मकवानपुरका प्रहरी प्रमुख बामदेव गौतमले अवैध रुपमा नदीजन्य पदार्थ ओसारपसार गरिरहेको फेला परेपछि ट्याक्टरलाई नियन्त्रणमा लिइएको जानकारी दिए।

प्रहरी कार्यालयले आज र भोली सार्वजनिक बिदा परेकाले सोमबार मात्रै नियन्त्रणमा लिइएको ट्याक्टरलाई सम्बन्धित स्थानीय तहमा बुझाउने भएको छ।

प्रहरीले ट्याक्टर चालकलाई हिरासत मुक्त गरिसकेको छ।

वडा अध्यक्ष दाहालले भने ट्याक्टर आफ्नो नभएको बताए। उनले होमनाथ गौतमको नाममा ट्याक्टर रहेको बताउँदै आफ्नो दाई दिनेश दाहालले ट्याक्टर सञ्चालन गरिरहेको बताए।

आफ्नो दाईले उक्त ट्याक्टर सञ्चालन गरिरहेको भन्दै वडाध्यक्ष दाहालले आफ्नो भने नभएको बताएका छन्। ‘ट्याक्टर मेरो हैन। मेरो दाईले चलाउँदै आएको हो,’ उनले भने।

वडाध्यक्ष दहालले ५ नम्बर वडाकै सरमपुर भन्ने स्थानमा लुमन्ती भन्ने संस्थाले एक वृद्धको घर बनाइरहेकोले सहयोगको लागि गिट्टी पठाइएको बताए।

उनले आफ्नो घर बनाउँदा बाँकी रहेको क्रस गिट्टी पठाइएको दाबी गरे। 

घर बनाउन लागेको गिट्टी राती नै किन पठाएको? भन्ने प्रश्नमा उनले दिउँसो जान नभ्याएर राती गएको हुन सक्ने बताएका छन्।

गलत तरिकाबाट गिट्टी नपठाइएको उनले दाबी गर्दै राति जाँडरक्सी खोनेहरुले गलत काम गरेको आरोप लगाए। 

यता गाउँपालिका कार्यालयले भने नदीजन्य पदार्थको कर हाल काटेको छैन्। गाउँपालिकाले आन्तरिक विकास निर्माणमा कर नलाग्ने बताए पनि वडा अध्यक्ष दाहालले उक्त ट्याक्टरमा गिट्टी कता पठाउँदै थिए भन्ने प्रमाणित भएको देखिँदैन्।

यदी उनले गिट्टी बाहिर निकासी गर्न खोजेको हो भने कर छली गर्न खोजेको आशंका स्थानीयहरुले गरेका छन्।

मकवानपुरगढीमा यसअघि पनि रातीराती नदीजन्य पदार्थ र माटो ओसारपसार गरिरहेको प्रमाणित भएको थियो। करिब महिना दिनअघि २ नम्बर वडास्थित शिखरकटेरीमा ट्याक्टरले माटो ओसारपसार गरिरहेको फेला परेको हो।

गाउँपालिकाबाट अवैध रुपमा नदीजन्य पदार्थ र माटो बाहिर निकासी भइरहँदा पनि जनप्रतिनिधिहरु मौन बसेका छन्। स्थानीयले जनप्रतिनिधिहरुको संलग्नतामा गाउँपालिकाको राजश्व गुमिरहेको भन्दै आक्रोश पोखेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .