ad ad

बागमती


अनि भयो कन्या क्याम्पसमा थेगिनसक्नु विद्यार्थी

अनि भयो कन्या क्याम्पसमा थेगिनसक्नु विद्यार्थी

नेपालखबर
भदौ २२, २०७९ बुधबार १९:३९, चितवन

विगतका वर्षहरुमा विद्यार्थी खोज्दै घरदैलो गर्नुपर्ने यहाँको मैयादेवी कन्या क्याम्पसमा अहिले थेगिनसक्नु विद्यार्थी छन्। क्याम्पसले शैक्षिक गुणस्तर सुनिश्चितता तथा प्रत्यायन (क्यूएए) प्राप्त गरेसँगै विद्यार्थीको आकर्षण बढेको हो। छात्राको मात्रै पढाइ हुने यस क्याम्पसका प्राध्यापक, कर्मचारीहरू विगतका वर्षमा चितवन र छिमेकी जिल्लामा विद्यार्थी खोज्न पुग्ने गरेकोमा यस वर्ष विद्यार्थीको चापका कारण भर्ना नै रोक्नुपर्ने भएको छ।

क्याम्पस प्रमुख डा विश्व सुवेदीका अनुसार ‘क्यूएए’ प्राप्त भएसँगै भौतिक पूर्वाधार, गुणस्तरीय शिक्षालगायतका कारण छात्राहरुको आकर्षण बढेको हो। यस वर्ष कक्षा ११ मा तीन सय जना विद्यार्थी भर्ना भइसकेका छन्। गत वर्ष क्याम्पस स्थापना भएयताकै सबैभन्दा बढी दुई सय २० विद्यार्थी भर्ना भएका थिए। सुवेदीले भने, ‘अब हामीसँग थप विद्यार्थी पढाउन कक्षा कोठा नभएकाले भर्ना रोक्नुपर्ने अवस्थामा पुगेका छौँ।’

एसईईको पूरक परीक्षाको नतिजा आएपछि विद्यार्थीहरू भर्ना हुन आउने गर्दछन्। ती विद्यार्थीलाई भर्ना गर्ने अवस्थामा आफूहरु नरहेको उनले बताए। क्याम्पसमा मुख्य रुपमा चितवन, नवलपरासी, गोरखा, लमजुङ, तनहुँका विद्यार्थी धेरै आउने गरेका छन्। यसका अतिरिक्त २५ जिल्लाका विद्यार्थी अध्ययनका लागि आउने गरेको उनले जानकारी दिए। ती जिल्लामा प्रचारात्मक अभियानका लागि प्राध्यापक कर्मचारीहरु आफैँ जानुपर्ने बाध्यता विगतमा रहेको थियो।

‘महिला सशक्तीकरणका लागि उच्च शिक्षा’ भन्ने नाराका साथ क्याम्पस स्थापना भएको हो। समाजसेवी मैयादेवी श्रेष्ठले भरतपुर महानगरपालिका वडा नं १० मा १२ कठ्ठा जमिन खरिद गरी भौतिक निर्माण गरेर क्याम्पस सञ्चालनमा आएको हो। २०५४ असोज १६ गते स्थापना भएको यस क्याम्पसमा सुरुआती चरणमा व्यवस्थापनमा १२ र शिक्षामा ३० विद्यार्थीले अध्ययन गर्दथे।

क्याम्पस सञ्चालक समितिका अध्यक्ष टङ्कनाथ पौडेल ११ महिनासम्म तलब खुवाउन नसकेको विगत सम्झँदै भन्छन्, ‘क्याम्पसले प्राविधिकसहितको कार्यक्रम थप गर्ने, गुणस्तरमा सुधार ल्याउनेजस्ता कार्यसँगै प्राप्त गरेको ‘क्युएए’का कारण आकर्षण बढेको हो।’ समाजसेवी एवं राजनीतिक मैयादेवी श्रेष्ठको नामले पनि धेरैलाई आकर्षित गरेको उनको भनाइ छ।

स्वच्छ वातावरणमा गुणस्तरीय शिक्षा र भेदभावरहित छात्रावृत्तिले पनि थप आकर्षण गरेको पौडेल बताउँछन्।  उनले भने, ‘यो क्याम्पस सबै हिसावबाट उत्कृष्ट बन्दै गएको छ, गुणस्तरीय शिक्षाले गर्दा विगतमा झै विद्यार्थी खोज्दै हिँड्नुपर्ने अवस्थामा अन्त्य भएको छ।’

अन्यत्र जस्तो विद्यार्थी राजनीतिका कार्यक्रम यस क्याम्पसमा कम हुने गर्दछन्। यसले गर्दा पठनपाठन प्रभावित नहुने र गुणस्तरीय शिक्षा दिन सकिएको पौडेलको भनाइ छ। उनले भने, ‘पहिले–पहिले हामी विद्यार्थी खोज्दै हिँड्थ्यो, अहिले भर्ना रोक्नुपर्ने अवस्थामा पुगेका छौँ।’

क्याम्पसमा शिक्षा र व्यवस्थापन सङ्कायमा स्नातकोत्तरसम्मको पढाइ हुने गरेको छ। हाल एक हजार सात सय विद्यार्थी विभिन्न सङ्कायमा अध्ययनरत छन्। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .