ad ad

बागमती


अवैध संरचना भत्काउने काम कसैले रोक्न सक्दैन : काठमाडौं महानगरपालिका

कहाँ कहाँ भत्काइए अवैध संरचना?
अवैध संरचना भत्काउने काम कसैले रोक्न सक्दैन : काठमाडौं महानगरपालिका

मंगलबार असनमा फुटपाथ खाली गरिँदै


नेपालखबर
भदौ २१, २०७९ मंगलबार १६:४०, काठमाडौँ

काठमाडौं महानगरपालिकाले अवैध रूपमा निर्माण गरिएका र सार्वजनिक जग्गा मिचेर निर्माण गरिएका सम्पूर्ण संरचना भत्काउने काम कसैले रोक्न नसक्ने भन्दै यसलाई निरन्तर अघि बढाउने जनाएको छ । अहिले कामपाले कानुनविपरीत निर्माण भएका सम्पूर्ण संरचना अवैध रहेकाले नक्सा पास नगरी निर्माण भएका र नक्सा पासअनुरूप निर्माण नगरिएका दुवै संरचना भत्काउने काम निरन्तर गर्ने  जनाएको हो।  

कानुनी रूपमा अवैध ठहर भएका सबै संरचना भत्काउने काम निरन्तर गरिने र त्यसका लागि कामपाले नक्साअनुरूप वैध, अवैध यकिन गरिरहेको कामपाका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले बताए। 

‘नक्साविपरीतका संरचना, नक्सा पास नगरी निर्माण भएका संरचना र सार्वजनिक जग्गा मिचेर बनाएका सबै संरचना भत्काउने काम कामपाको कर्तव्यभित्र पर्छ’, उनले भने।

‘यो कामलाई अभियानका रूपमा सञ्चालन गरिने र महानगरको ३२सै वडामा निर्माण भएका यस्ता कुनै पनि संरचना बाँकी राखिने छैन’, महानगर प्रमुख बालेन्द्र साहको सचिवालय सदस्य सुनिल लम्सालले भने। 

संरचना निर्माणका सम्बन्धमा पहिला कागजपत्र देखाउन सम्बन्धित व्यक्तिलाई आग्रह गरिने र गलत प्रमाणित भए थप कानुनी प्रक्रिया अघि बढाउन कामपाले   ३५ दिने सार्वजनिक सूचना जारी गरेको र उक्त सूचनाको बेवास्ता गरिएकाले यही भदौ ६ गतेदेखि अवैध संरचना भत्काउने काम सुरु गरिएको हो। ​

कहाँ कहाँ भत्काइए अवैध संरचना? 

उक्त अभियानअन्तर्गत हालसम्म बानेश्वर कम्प्लेक्स तथा काठमाडौं मलका अवैध संरचना, आरबी कम्प्लेक्सका करिब १४ वटा साना पसल र बानेश्वरमा रहेको अल्फाबिटामा पनि निर्माणविपरीत प्रयोग भएका संरचना भत्काइएका छन्।

त्यस्तै त्रिपुरेश्वरको वल्ड ट्रेड सेन्टरमा राखिएको विद्युतीय विज्ञापन पनि महानगरप्रमुख साहको  निर्देशनमा हटाइसकेको छ। एक साताअघि वनस्थली चोकबाट ढुङ्गेधारा जाने बाटोमा रहेको सात टहरा र तीन वटा भर्याङ पनि कामपाले डोजर लगाएर भत्काइसकेको छ। 

त्यसैगरी विगत दुई दिनमा कामपाले बालाजु नयाँ बसपार्क आसपास र कोटेश्वरमा गरी एक सय बढी कानुनविपरीत निर्माण भएका संरचना भत्काएको छ। आइतबार कोटेश्वर प्रहरीचौकी नजिकैको ५० भन्दा बढी अवैध संरचना भत्काइएको थियो भने सोमबार पनि बसपार्कबाट गोङ्गबुतर्फ २० मिटर अगाडि मित्रनगरमा रहेको ५० भन्दा बढी अवैध संरचना भत्काइएको कामपाले जनाएको छ। यसरी भत्काइएका संरचनाअन्तर्गत सडक पेटी मिचेर बनाइएका सटर, टहरा, सटर अगाडिका छत र सडक मिचेर बनाइएका भर्याङ रहेको कामपाको भनाइ छ।

अवैध रूपले बनाइएका संरचना घरधनीलाई नै भत्काउन वा निर्माण गरिएअनुसार प्रयोग गर्न लगाउन  ३५ दिने सूचना जारी गरिएको थियो। सार्वजनिक सूचना बेवास्ता गरेपछि ती संरचनामा डोजर चलाउन कामपा बाध्य भएको नगर प्रहरी पाण्डेको भनाइ छ। अवैध संरचना हटाएसँगै हाल उपत्यकामा भइरहेको पार्किङको समस्या २५ प्रतिशतले समाधान हुनाका साथै ट्राफिक व्यवस्थापनमा सहयोग पुग्ने कामपाले विश्वास  लिएको छ। हाल बेसमेन्ट र अन्डरग्राउन्ड पार्किङ राख्ने सर्तमा कर छुट लिइरहेका ३५ वटा भवन रहेको कामपाले जनाएको छ। ती सबैलाई कानुनी दायरामा ल्याउने तयारी छ। 

कामपाको ध्यान असनका फुटपाथ पसलतर्फ

अवैध संरचना हटाउन निरन्तर लागिरहेको कामपाको ध्यान आज असन र इन्द्रचोकमा अस्तव्यस्त रूपमा सञ्चालन भइरहेका पसलतर्फ गएको छ। अहिले यस क्षेत्रका फुटपाथको व्यापार हटाउने कामसँगै अव्यवस्थित हुने गरेको  पार्किङ पनि व्यवस्थापन गर्ने काम भइरहेको नगर प्रहरी प्रमुख पाण्डेले बताए।

सडकपेटीसम्म राखिएको केही सामग्री आज नै हटाए पनि फुटपाथमा राखेका भाँडाकुँडा, खेलौना पसल, फेन्सीका सामान, माटाका सामग्री भोलि बिहानसम्म हटाउन निर्देशन दिइएको उनले बताए। रासस 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .