जिल्लामा पहिलोपटक विद्युतीय स्कुटर भित्रिएको छ। ‘एस एण्ड एस’ अटोमोबाइलले भारतीय कम्पनी टुनवालको विद्युतीय स्कुटर भित्र्याएको हो। स्कुटर शो रुमको बिहीबार बागलुङ नगरपालिकाका नगर प्रमुख जनकराज पौडेलले शुभारम्भ गरे।
उनले विद्युतीय सवारी साधनले वातावरणीय स्वच्छता कायम राख्न सघाउनुका साथै र स्वदेशमै उत्पादित विद्युत्को खपत बढाउने बताए। ‘इन्धन खरीदमा नेपालबाट वार्षिक अर्बौं रुपैयाँ बाहिरिने गरेको छ’, नगरप्रमुख पौडेलले भने, ‘विद्युतीय सवारी साधनको प्रयोगले देशभित्रै पूँजी र स्रोतसाधनको परिचालन हुनेछ।’
शो रुमका सञ्चालक विष्णुराज पन्तले रु एक लाख ३५ हजारदेखि रु दुई लाख १७ हजारसम्म मूल्य पर्ने स्कुटर बिक्रीमा राखिएको बताए। उनका अनुसार लिथियम र लिड गरी दुई किसिमका ब्याट्रीबाट चल्ने स्कुटर शो रुममा छन्।
लिथियममा आधारित ब्याट्री भएको स्कुटर एकपटक चार्ज गरेपछि १०५ किमी र लिड ब्याट्रीबाट ६५ किमी गुड्छ। लिथियम ब्याट्रीको एक लाख ५० हजार किमी र लिड ब्याट्रीको ६५ हजार किमी ग्यारेण्टी रहेको सञ्चालक पन्तको भनाइ छ।
यस्तै स्कुटरलगायत अन्य पाटपूर्जामा एक वर्षको सुनिश्चितता छ। स्कुटरको प्रतिघण्टा ५५ किमिसम्म गुड्न सक्ने क्षमता छ। विद्युत् भएको ठाउँमा ब्याट्री सजिलै चार्ज गर्न सकिने जनाइएको छ। बागलुङ बजारका केही मुख्य स्थानमा चार्जिङ स्टेशनसमेत राख्ने तयारी गरिएको सञ्चालक पन्तले बताए।
यातायात व्यवस्था कार्यालय बागलुङका प्रमुख पारसिंह थापाले सरकारले विद्युतीय सवारी साधनको प्रयोगलाई बढावा दिइरहेका बेला बागलुङमा विद्युतीय स्कुटर भित्रनु सुखद रहेको बताए। कानूनअनुसार दर्ता गरेर जिल्लामा विद्युतीय स्कुटर सञ्चालनको प्रबन्ध मिलाइने उनको भनाइ छ।
वातावरणमैत्री विद्युतीय स्कुटर सञ्चालनले बजार क्षेत्रको प्रदूषण घटाउन टेवा पुग्ने उनको विश्वास छ। शुभारम्भसँगै बिहीबार नै पर्वतका रामकुमार केसी र बागलुङका राजु पुनले स्कुटर खरीद गरेको ‘एस एण्ड एस’ अटोमोबाइलले जनाएको छ।
नगर प्रमुख पौडेलले पनि विद्युतीय सवारीसाधनको प्रवद्र्धनका लागि नगरपालिकाका तर्फबाट एउटा स्कुटर खरीद गर्ने प्रतिबद्धता जनाएका थिए। शो रुमसँगै मर्मत केन्द्र पनि सञ्चालनमा ल्याइएको छ। महाशिवरात्रि पर्वका अवसरमा स्कुटर खरीदमा छुटको सुविधासमेत छ। रासस
Shares

प्रतिक्रिया