अटो


पठाओमा तीन सय ट्याक्सी आवद्ध, शुक्रबारदेखि सेवा

पठाओमा तीन सय ट्याक्सी आवद्ध, शुक्रबारदेखि सेवा

नेपालखबर
साउन २२, २०७६ बुधबार ९:५,

दुई पांग्रे सार्वजनिक यातायात सेवा दिँदै आएको कम्पनी पठाओले अब चार पांग्रे सार्वजनिक सेवा पनि दिने भएको छ। यसका लागि कम्पनीले राजधानीमा ट्याक्सी सेवा सुरु गर्ने तयारी गरेको हो। उपभोक्ताले पठाओको सेवा अत्यधिक रुचाएको भन्दै कम्पनीले आउँदो शुक्रबारदेखि ट्याक्सीमार्फत सेवा दिनलागेको जनाएको छ।

कम्पनीकी मार्केटिङ प्रमुख सुरक्षा हमालले नेपालखबरसँग भनिन्, ‘दुईपांग्रेमा उपभोक्ताहरुको धेरै आकर्षण रह्यो, त्यहीअनुसार चारपांग्रे सेवाको पनि माग भइरहेको हुनाले यसको सेवा यही शुक्रबारदेखि सञ्चालन गर्नलागेका हौँ।’ कम्पनीले सुरु गर्न लागेको चार पाङ्ग्रे सेवा सार्वजनिक ट्याक्सीहरुबाट नै हो। उक्त कम्पनीमा हाल तीन सयवटा ट्याक्सीहरु आबद्ध हुन आइसकेका छन्।

ट्याक्सी कसरी आबद्ध हुन्छन् र कसरी सेवा लिने?
सार्वजनिक ट्याक्सीहरुले आफ्नो कागजात पठाओलाई बुझाउनुपर्ने हुन्छ। त्यहीअनुसार कम्पनीले ट्रेनिङ समेत दिने गर्छ। अहिले पनि कम्पनीले आबद्ध हुन आइरहेको ट्याक्सीहरुलाई सेवाबारे तालिम दिइरहेको हमाल बताउँछिन्। हाल पठाओको एपमा ट्याक्सी विकल्प छानेर यो सेवा लिन सकिने कम्पनीले बताएको छ।अहिले कम्पनीमा मोटरसाइकलको 'राइड क्लिक' गर्न सकिने व्यवस्था छ। त्यस्तै कम्पनीले ट्याक्सीको लागि पनि एपमा ‘क्लिक’ गर्ने व्यवस्था गरिने जनाएको छ। त्यसअनुसार आफ्नो पायक पर्ने सेवा उपभोक्ताले लिनसक्नेछन्। 

pathao oo

यसमा सरकारले राखेको मिटरको नियमपालना भने हुनैपर्ने कम्पनीले जनाएको छ। तर सामान्य ट्याक्सीमा शुल्क भने मिटरभन्दा एक सय बढी हुनेछ। यस्तै ट्यासीवालाहरुले कम्पनीलाई दिने कमिसन भने मोटरसाइकलअनुसार नै हुने तर एकीन भने नभइसकको हमाल बताउँछिन्। पठाओमा आबद्ध भएका मोटरसाइकलले १ हजार आम्दानी गरेको खण्डमा २ सय रुपैयाँ कमिसन दिनुपर्ने व्यवस्था छ।

ट्याक्सीभन्दा सेवामा के फरक हुन्छ?
हाल पठाओबाट आउने सेवा पनि सार्वजनिक ट्याक्सीकै हो। कम्पनीको व्यवस्थाअनुसार नै अहिलेभन्दा एकसय रुपैयाँ अझ महंगो हुने देखिन्छ। तर सामान्य ट्याक्सीभन्दा यो बढी सुरक्षित हुने कम्पनीले दाबी गरेको छ। कम्पनीको अनुसार ट्याक्सीले कुनै किसिमको बदमासी गरेमा उसको सबै कागजातदेखि सबै ठेगाना समेत पठाओसँग हुने भएकाले सामान्य ट्याक्सी सेवाभन्दा यो बढी सुरक्षित हुने कम्पनीको दाबी छ। त्यस्तै अफिस वा घरबाट निस्किँदा सडकमा नै गएर ट्याक्सी खोज्नुपर्ने झञ्झटबाट समेत मुक्त हुने कम्पनीको तर्क छ।

निजी ट्याक्सी पनि आबद्ध गराउने याेजना
पठाओले हाल सार्वजनिक ट्याक्सीलाई आबद्ध गरेर सेवा प्रदान गरिरहेको छ। तर आगामी दिनमा निजी स्तरका कारहरुलाई समेत यसमा आबद्धता गराउने योजना बनाएको छ। त्यस्तै कम्पनीले खाना डेलिभरी अर्थात् पुर्याउने काम पनि सुरु गर्ने योजना राखेको छ। ट्याक्सी सेवा सञ्चालन गर्ने निर्णय गर्नुअघि पनि उपभोक्तालाई पठाओले खाना डेलिभरी गर्ने वा ट्याक्सी सेवा पहिले सुरु गर्ने भनेर सोधेको थियो।

त्यसमा ९५ प्रतिशतको प्रतिक्रिया ट्याक्सी सेवामा आएकोले यो पहिला सुरु गरिएको कम्पनीको भनाइ छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .