नेपालको अटो व्यवसायमा ठूला व्यावसायिक घरानीयाकै वर्चस्व देखिएको छ।
चौधरी ग्रुप, दुगड ग्रुप, गोल्छा अर्गनाइजेसनजस्ता चर्चित घरानीयाले विश्वचर्चित सवारीसाधनहरुको बिक्रीवितरण गर्दै आएका हुन्।
उनीहरुले अटोमोबाइल क्षेत्रको ठूलो बजार हिस्सा ओगटेका छन्। मारुती सुजुकी, टाटा, हिरो, होन्डा, बजाज, फोर्ड, रोयल इन्फिल्ड, भेष्पा, अप्रिलाजस्ता ब्रान्डका सवारीसाधन यिनै घरानीयाले बिक्रीवितरण गरिरहेका छन्।
अटो मोबाइलकै कारण व्यवसाय जमाउन यी घरानीय सफल भएका छन्। लक्ष्मी ग्रुप, अग्नि ग्रुपलगायतका समूह अटो व्यवसायमा जमेर बसेका छन्।
सन् १९९० को दशकमा स्थापना भएको अग्नि ग्रुप महिन्द्रा गाडीको बिक्रीबाटै स्थापित भएको हो। त्यस्तै, विष्णु अग्रवाल नेतृत्वको एमएडब्लु समेत दुईपांग्रे तथा हेभी इक्विपमेन्ट बिक्री गर्दै ठूलो व्यावसायिक समूह बनिसकेको छ।
चौधरी ग्रुप
चौधरी ग्रुप (सीजी) पनि अटो व्यवसायमा सफल व्यावसायिक समूह हो। यो ग्रुपले अटोबाहेक शिक्षा, स्वास्थ्य, इलेक्ट्रोनिक्स, फाइनान्स, होटल, रियलस्टेट, खाद्यवस्तुमा ठूलो लगानी गरेको छ। यो ग्रुपले सीजी मोटोकर्प कम्पनीका रुपमा अटो व्यवसाय गरिरहेको छ। सन् १९८०को दशकमा स्थापना भएको यो कम्पनी मारुती सुजुकी गाडीको नेपालका लागि आधिकारिक बिक्रेता हो।
कम्पनीले हाल भिटारा ब्रेजा, सिफ्ट, एसप्रेसो, सेलेरियो, अल्टो, बलेनो, वागन आर, एर्टिगा, एक्सएल६ जस्ता इन्ट्री लेभलका गाडीदेखि विलासी गाडीसम्म बिक्रीवितरण गर्र्दै आएको छ।
यो कम्पनीले सुरुवाती मूल्य १९ लाख रहेको अल्टोदेखि ४७ लाख रुपैयाँको एक्सएलसम्मको बिक्री गर्दै आएको छ। चौधरी ग्रुपले गल्फ लुब्रिकेन्ट समेत बिक्री गर्दै आएको छ।

विशाल ग्रुप
अटोमोबाइल्सका धेरै ब्राण्ड बिक्री गर्नेमा पर्छ विशाल ग्रुप। यो ग्रुपले फक्सवागन, रेनो र सुजुकी मोटरसाइकलको बिक्री गर्छ। विशाल ग्रुप उक्त सवारीसाधनको आधिकारिक वितरक नै हो।
यो ग्रुपले पूजा इन्टरनेश्शल नेपाल प्रालिबाट जर्मन ब्राण्ड फक्सवागनका गाडीको बिक्री गरिरहेको छ। नेपालमा यो ब्रान्डका पोलो हचब्याग, भेन्टो सेडान, एसयूभी अलस्पेस मोडलका गाडी बिक्रीवितरण हुन्छन्।
त्यसैगरी विशाल ग्रुपले आधिकारिक बिक्रेताको रुपमा एड्भान्स अटोमोबाइल्स प्रालिबाट नेपाली बजारमा रेनोका क्याप्चर, क्विड, डस्टर, ट्राइबर लगायतका मोडल बिक्री गर्दै आएको छ।
त्यस्तै यो ग्रुपको विद्युतीय गाडी बिक्री गर्ने प्यारामाउन्ट मोटर्समा समेत लगानी छ। यसले एमजी ब्राण्डका गाडी नेपालमा बिक्री गर्दै आएको छ। प्यारामाउन्ट मोटर्स जापानी ब्राण्ड माज्डाको समेत आधिकारिक बिक्रेता नियुक्त भएको छ।
विशाल ग्रुप हालै ग्रेटवाल मोटर्सको आधिकारिक बिक्रेता समेत बनेको छ। ग्रुपअन्तर्गतको भीजी इम्पेक्स प्रालिले सस्तो मूल्यमा विद्युतीय गाडी नेपाल भित्र्याउने बताएको छ। भीजी अटोमोबाइल्सले सुजुकीका बाइक आयात तथा बिक्री गर्दै आएको छ। गाडीबाहेक विशाल ग्रुपले भिडोल र मोटुल ब्राण्डका लुब्रिकेन्ट्सको आधिकारिक बिक्रेताको रुपमा व्यवसाय गरिरहेको छ।

लक्ष्मी ग्रुप
लक्ष्मी ग्रुपले नेपालमा हुन्डाईका गाडी बिक्री गर्दै आएको छ। यसअन्तर्गतको लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालि सन् २००९ देखि हुन्डाईको आधिकारिक बिक्रेता रहेको छ। यो कम्पनीले नेपालमा हुन्डाईका सेन्ट्रो, ग्रान्ड आइटेन, क्रेटा, भेन्यु, कोना विद्युतीय गाडी बिक्री गर्दै आएको छ।
लक्ष्मी ग्रुपअन्तर्गतकै लक्ष्मी कमर्सियल भेहिकल प्रालिले एसएमएल इसुजुका कमर्सियल गाडी ट्रक र बस समेत बिक्री गर्दै आएको छ। भर्खरै यो ग्रुपले विश्वचर्चित बीएमडब्लु ब्रान्डका सवारीसाधनको बिक्री सुरु गरेको छ।

दुगड ग्रुप
चन्दन दुगडले करिब १४० वर्ष पहिला नेपालमा ट्रेडिङ कम्पनीबाट सुरु गरेको व्यवसाय फैलिने क्रममा अहिले अटोमोबाइल्ससम्म पुगिसकेको छ। ग्रुपले उत्पादन, हाइड्रोपावर, रियल स्टेट, कृषि, बैंकिङलगायतको क्षेत्रमा लगानी गरेको छ। पछि यो ग्रुप विभाजन भयो।
त्यसयता एमभी दुगड ग्रुपले अटोमोबाइल क्षेत्रमा लगानी गरेको छ। दुगर्ड ब्रदर्स एण्ड सन्स प्रालि रोयल इन्फिल्ड बाइकको आधिकारिक बिक्रेता छ। त्यसैगरी महिन्द्रा एण्ड महिन्द्राको कमर्सियल भेहिकल पनि यही ग्रुपले बिक्री गर्दै आएको छ। नेपालमा पछिल्लो समय प्रिमियम ब्राण्डको रुपमा उदाएको एप्रिला र भेष्पाजस्ता दुई पांग्रै सवारीसाधनको समेत यो ग्रुप आधिकारिक बिक्रेता हो।

सिप्रदी
करिब ४० वर्षदेखि अटोमोबाइल क्षेत्रमा काम गर्दै आएको सिप्रदी ट्रेडिङ भारतीय कम्पनी टाटा मोटर्सको आधिकारिक बिक्रेता हो। यो कम्पनीले टाटाका कार तथा युटिलिटी भेहिकल, पिकअप, साना, मध्यम र ठूला ट्रक तथा बसहरुको बिक्री गर्दै आएको छ।
नेपालको कमर्सियल भेहिकलमा सबैभन्दा ठूलो बजार हिस्सा टाटाकै छ। पछिल्लो समय टाटाले प्यासेन्जर भेहिकलमा समेत राम्रो व्यापार गर्दै आएको छ। टाटाको नेक्सन, अल्ट्रोज, टियागोलगायतका गाडीको बजार हिस्सा बढेको छ।

अग्नि ग्रुप
अग्नि ग्रुपले सन् १९९१ यता महिन्द्रा गाडीको बिक्री गर्दै आएको छ। नेपालमा यो ग्रुपले महिन्द्राको आधिकारिक बिक्रेताको रुपमा स्कोर्पियो, महिन्द्रा एक्सयुभी ५००, इ२ओ विद्युतीय गाडी बिक्री गर्दै आएको छ। कम्पनीले सन् २०१५ देखि अग्नि मोटोनिक प्रालि कम्पनी स्थापना गरी दुईपांग्रे गाडीको समेत बिक्री सुरु गरेको थियो। महिन्द्राका ट्रयाक्टर समेत यही ग्रुपले बिक्री गर्दै आएको छ।

सारडा ग्रुप
पायोनिर मोटोकर्प सारडा ग्रुपअन्तर्गतको अटोमोबाइल कम्पनी हो। यो ग्रुप निशान र ड्याटसन ब्राण्डका गाडीको समेत आधिकारिक बिक्रेता हो। विश्वचर्चित ब्रान्ड निसानको एसयूभी सेगमेन्टको किक्स, मिक्रा एक्टिभ, सन्नी, नभरा, एक्स ट्रेललगायतका गाडी यो कम्पनीले बिक्री गर्दै आएको छ। ड्याटसनको गो र रेडी गो मोडल सस्तो इन्ट्री लेभलको कारको रुपमा नेपालमा बिक्री हुँदै आएको छ।

गोल्छा अर्गनाइजेसन
पुरानो व्यावसायिक घरानीया गोल्छा अर्गनाइजेसन नेपालमा अटोमोवाइल क्षेत्रको विकासको लागि गाडी उत्पादन नै गरेर चर्चामा आएको थियो। मुस्ताङ ब्राण्डको गाडी उत्पादन गरे पनि निरन्तरता भने दिन सकेन। यो ग्रुप बजाज बाइकको आधिकरिक बिक्रेता समेत रहेको छ। ग्रुपले बजाज बाइकको नेपालमा एसेम्बल उद्योग नै स्थापना गरेको छ। बजाजको पल्सर नेपालमा सर्वाधिक चलेको मोटरसाइकलमा पर्छ। गोल्छा अर्गनाइजेसनले प्रिमियम ब्राण्ड केटीएमका मोटरसाइकल समेत बिक्री गर्दै आएको छ। त्यस्तै गोल्छा अर्गनाइजेशनअन्तर्गतको जिओ अटोमोबाइल्सले नेपालमा फोर्डका गाडीको बिक्रीवितरण समेत गर्छ।

ज्योति ग्रुप
मनिहर्ष ज्योतिले सन् १९२० को दशकमा सुरु गरेको ट्रेडिङ कम्पनीको व्यवसाय पनि अटोमोबाइलसम्म फैलिसकेको छ। अहिले ज्योति ग्रुपको रुपमा स्थापना भएको कम्पनीले स्याकार कम्पनीमार्फत होन्डा ब्राण्डका मोटरसाइकल तथा स्कुटरको बिक्री गर्छ। यो कम्पनी होन्डा ब्रान्डको आधिकारिक बिक्रेता समेत रहेको छ। होण्डाका प्यासेन्जर भेहिकल समेत स्याकारले बिक्री गर्दै आएको छ।
ज्योति ग्रुपअन्तर्गतकै नेपाल जनरल मार्केटिङ प्रालि (एनजीएम)ले हिरो ब्राण्डका बाइक तथा स्कुटर बिक्री गर्दै आएको छ। नेपालमा हिरो र होन्डा ब्राण्डका बाइक तथा स्कुटरको बजार हिस्सा ठूलो रहेको छ।

एमएडब्लु
एमएडब्लु विष्णु अग्रवाल नेतृत्वको ग्रुप हो। एमएडब्लुले दुईपांग्रेसहित प्यासेन्जर भेहिकल बिक्री गर्दै आएको छ। नेपालमा सर्वाधिक बिक्री हुनेमध्ये यमाहा बाइक तथा स्कुटर पनि पर्छ।
यसको आधिकारिक बिक्रेता पनि एमएडब्लु हो। एमएडब्लुले नेपालमा जिप, स्कोडा, फुटोन गाडीको बिक्री गर्छ। त्यस्तै यो ग्रुपले हेभी इक्विपमेन्ट जेसीबी ब्राण्डका डोजर, लोडर, एक्स्काभेटर समेत बिक्री गर्दै आएको छ।
शंकर ग्रुप
जगदम्बा मोटर्स शंकर ग्रुपअन्तर्गतको कम्पनी हो। नेपालमा आधिकारिक बिक्रेताको रुपमा ग्रुपले टीभीएस मोटर्सको मोटरसाइकल तथा स्कुटर बिक्री गर्दै आएको छ। कम्पनीले सिमरामा टीभीएसको बाइक तथा स्कुटर उत्पादन गर्न एसेम्बल प्लान्ट स्थापना गरेको छ। कम्पनीले हालै प्रोटोनको गाडी समेत भित्र्याएको छ।

आईएमई ग्रुप
नेपालमा वित्तीय क्षेत्रमा लगानीबाट उदाएको आईएमई ग्रुपले पछिल्लो समय अटोमोबाइल क्षेत्रमा पनि लगानी गरेको छ। यो ग्रुप अशोक लेल्याण्डको आधिकारिक बिक्रेता हो। कमर्सियल भेहिकल साना, मध्यम र ठूला ट्रकसहित स्कुल तथा स्टाफ बस बिक्री गर्दै आएको छ।

वैद्य अर्गनाइजेसन
वैद्य अर्गनाइजेसन पनि अटोमोबाइल व्यवसायमा चलेको नाम हो। युनाइटेड ट्रेडर्स सिन्डिकेटका रुपमा यो अर्गनाइजेसनले सन् १९६७ देखि नै व्यवसाय सञ्चालन गर्दै आएको छ।
हाल सुरज वैद्य कम्पनीको अध्यक्ष तथा सीईओ छन्। नेपालमा प्रिमियम ब्राण्डको रुपमा पहिचान बनाएको कम्पनीले एसयूभी र कमर्सियल भेहिकल बिक्री गर्दै आएको छ। नेपालमा ल्यान्ड क्रुजर, रश, प्राडो, फर्चुनर, आरएभी४ मोडलका गाडी बिक्री गर्दै आएको छ। कम्पनीको हाइस र हाइलक्स नेपालमा चर्चित गाडीमा पर्छन्।
बतास अर्गनाइजेसन
इस्टर्न एजेन्सिज प्रालि बतास अर्गनाइजेसनअन्तर्गतको अटोमोबाइल्स कम्पनी हो। जुन नेपालको आइचर गाडीको लागि आधिकारिक बिक्रेता छ। ट्रक, टिपर र स्कुलबसको बिक्री यसले गर्दै आएको छ।
बतास टेक्टर प्रालिले क्याट ब्राण्डको एक्स्काभेटर पनि बिक्री गर्दै आएका छन् । अर्गनाइजेसनले प्याट्रोन लुब्रिकेन्ट्स पनि बिक्री गर्छ। यसले क्षेत्रीय रुपमा चौधरी ग्रुप, अग्नि ग्रुपसँग मिलेर समेत डिलर सञ्चालन गरेको छ।

कन्टिनेन्टल
कन्टिनेन्टल ट्रेडिङ करिब दुई दशकअघि नेपालमा स्थापना भएको हो। कम्पनीका अध्यक्ष सुहृद घिमिरे छन्। कम्पनीले कोरियन ब्राण्ड कियाका प्यासेन्जर भेहिकल बिक्री गर्दै आएको छ।
कियाको सेल्टोस, सोनेटलगायत मोडल हाल नेपालमा चर्चित मोडल हुन्। कन्टिनेन्टलले कोमात्सु कन्स्ट्रक्सन इक्विपमेन्ट समेत बिक्री गर्दै आएको छ। यसमा डोजर, एक्स्काभेटर समेत रहेका छन्।

प्रतिक्रिया