विश्वकै दोस्रो ठूलो धनी अर्बपति एलन मस्कको कम्पनी टेस्लाको सेयर मूल्य यो वर्ष सात सय प्रतिशतभन्दा धेरैले बढेको छ। सन् २०२० मा अमेरिकी विद्युतीय अटो निर्माता कम्पनीको सेयर मूल्य आकाशिएको छ। योसँगै अहिले टेस्ला विश्वकै सर्वाधिक मूल्यवान् कार कम्पनी बनेको छ।
टेस्ला सेयरबजारमा एक दशकअघि प्रवेश गरेको थियो। सुरुवाती दिनमा यो कम्पनीमा दीर्घकालीन लगानी गर्न हिच्किचाउनुपर्ने अवस्था थियो। तर यो कम्पनीमा सेयर लगानी गर्नेहरूले सधैँ कमाउ यात्रा गर्न सफल भए। टेस्लाको लागि यो महिना अझै कोशेढुंगा साबित भयो ।
यही महिना कम्पनी अमेरिकाको सबैभन्दा ठूलो सेयरबजार एसएण्डपी ५०० मा सूचीकृत भयो। एप्पल, माइक्रोसफ्ट र फेसबुकजस्ता संसार खाएका कम्पनीहरू यही बजारमा सूचीकृत छन् । यो बजार प्रवेशसँगै टेस्ला १० उत्कृष्ट र धेरै मूल्यवान् कम्पनी बन्न सफल भयो।
टेस्लाको सेयर अहिले जनरल मोटर्स (जीएम), फोर्ड, फियाट क्राइस्लर र टोयोटाको सबै जम्मा गर्दा समेत धेरै मूल्यको छ। यति हुँदाहुँदै पनि टेस्लाले यी कम्पनीहरूको तुलनामा उनीहरूले उत्पादन गर्नेमध्ये एक भाग मात्रै उत्पादन गर्छ । विश्लेषकहरू सुरुवाती दिनमा टेस्लाको सेयर किनेर नबेचेका लगानीकर्ताले कम्पनीको सेयरबाट धेरै फाइदा उठाएको बताउँछन्। टेस्लाको बढेकोमध्ये धेरै हिस्सा यसको सुधारिँदो कार बिक्रीले ओगटेको छ।
कम्पनीका कारको माग चीनमा उच्च छ। विद्युतीय उत्पादनका कारण पनि कम्पनीले फाइदा उठाइरहेको छ। विश्वमा अहिले विद्युतीय कारको माग उच्च छ र त्यसका लागि आर्थिक सहुलियत समेत प्राप्त हुने आशामा टेस्ला छ। कारमात्र नभई टेस्लाको अरु व्यवसाय पनि छ। यसको स्वचालित सफ्टवेयर र ब्याट्री पावर स्टोरेजबाट पनि टेस्लालाई फाइदा पुगेको छ।
टेस्ला सन् २०१० मा पब्लिक कम्पनी भएको थियो। त्यतिबेला यसको सेयर प्रतिकित्ता १७ अमेरिकी डलर थियो। यही सेयर यो हप्ता प्रतिकित्ता ६५० अमेरिकी डलरभन्दा बढी पुगेको छ । विश्व कोरोना महामारीमा डुबिरहँदा टेस्लाको सेयर भने आकाशिएको थियो। लगानीकर्ताहरू टेस्लालाई केवल कार कम्पनी नभएको बुझाइमा पनि आकर्षित भइरहेको विश्लेषकहरूको भनाइ छ।

त्यसो त टेस्लालाई आँखा चिम्लेर विश्वास गर्नेहरू पनि छन् जो टेस्लाको सेयर मूल्य अझै बढ्ने विश्वास गर्छन्। लस एन्जेलसका इन्जिनियर जासन डेबोल्टले टेस्लामा पहिलो लगानी १९ हजार अमेरिकी डलरमा २५ सय कित्ता सेयर किनेका थिए। उनले सन् २०१३ मा टेस्ला मोडेल एस कार किनेपछि गरेका थिए। त्यसपछि उनले निरन्तर रुपमा कम्पनीको सेयर किन्नथाले । अहिले उनीसँग १५ हजार कित्ता सेयर छ जसको मूल्य १ करोड अमेरिकी डलर पुगेको छ।
त्यतिबेला आकस्मिक रुपमा हौसिएर लगानी गरेको उनी सम्झिन्छन्। उनले कम्पनीको सेयर किनिरहँदा मिडियाहरूले टेस्ला र यसका मालिक एलन मस्कको उछित्तो काढ्थे। जुन उनका लागि असह्य हुन्थ्यो। उनलाई सेयरमूल्य घट्दाभन्दा त्यसले बढी पीडा दिन्थ्यो। उनलाई सेयर मूल्य एक दिन फेरि बढ्नेमा विश्वास थियो।
डेबोल्ट टेस्लामा लगानी गर्नेहरूको क्लबका एक सदस्य भएका छन् । उनले अहिले फेसबुक ग्रुपमार्फत लगानीकर्तासँग च्याट गर्छन्।
त्यस्तै न्युयोर्कका स्कट टिस्डेलले सन् २०१३ मा कम्पनीको मोडल एसमा आँखा परेपछि लगानी गर्न सुरु गरेका थिए। हालसम्म उनले टेस्लाको झण्डै चार हजार कित्ता सेयर जोडिसकेका छन्। यसको मूल्य अहिले २८ लाख अमेरिकी डलर पुगेको छ। उनलाई त्यतिबेला आलोचित कम्पनीको सेयर किनेकोमा पछूतो थिएन।
उनी सोच्थे – साँचो कथा त बल्ल सुरु हुँदै छ। उनले सेयर किन्दा मानिसहरू ‘ओभरभ्यालु’ सेयर किनेको भनेर गिज्याउँथे। तर अहिले ती मानिसहरू गलत साबित भएका छन् भने लगानीकर्ताहरू ‘टेस्लानायर’ अर्थात् लखपति बनेका छन्।
विज्ञहरू टेस्लाको अबको यात्राबारे सेयर ७ सय प्रतिशतबाट अर्को वर्ष नबढ्ने अनुमान गर्छन्। उनीहरू सही साबित भए नयाँ ‘टेस्लानायर’हरूको संख्या सीमित हुनेछ।
विज्ञहरूले अन्य प्रतिस्पर्धी कम्पनीहरू एप्पललगायतसँगको प्रतिस्पर्धालाई देखाएर यस्तो अनुमान गरेका हुन्। एप्पलले पनि चिनियाँ कम्पनीसँग मिलेर विद्युतीय कार उत्पादनमा इच्छा देखाएको छ। बीबीसीबाट
Shares
प्रतिक्रिया