ad ad

अटो


सवारी साधन आयातमा साढे सात अर्बको कमी

सवारी साधन आयातमा साढे सात अर्बको कमी

वसन्त अर्याल
कात्तिक १२, २०७७ बुधबार ११:५,

चालु आर्थिक वर्षमा सवारी साधन तथा पार्टस् आयातमा कमी आएको छ।

चालु आवको तीन महिनामै साढे सात अर्बको सवारी साधन तथा पार्टस् आयात घटेको हो। भन्सार विभागको तथ्यांक अनुसार सबै भन्दा बढी दुई पांग्रे सवारी आयात घटेको छ।

गत वर्षको पहिलो ३ महिनामा २७ अर्व ३४ करोडको सवारी साधन तथा तिनका पार्टस् आयात भएकोमा चालु आर्थिक वर्ष १९ अर्ब ८२ करोड रुपैयाँको मात्रै आयात भएको छ।

साउन, भदौ र असोज महिनामा आयात घट्दा राजस्व समेत करिब ७ अर्बले घटेको छ। गत वर्ष सवारी साधनबाटमात्रै २५ अर्ब ३४ करोड उठेकोमा यो वर्ष राजश्व १८ अर्ब ५६ करोडमा सिमित भएको छ।

नेपालमा २५० सीसीसम्म मोटरसाइकल तथा स्कुटर सर्वाधिक विक्री हुने गर्छन्। आर्थिक वर्ष ७६/७७को पहिलो ३ महिनामा २५० सीसीसम्मका १ लाख २ हजार मोटरसाइकल तथा स्कुटर आयात भएका थिए। यो वर्ष ६८ हजार ८६५ वटा मात्रै नेपाल भित्रिएका छन्।

त्यसैगरी यो वर्ष २५० देखी ४ सय सीसीसम्मका १ हजार ३९४ मोटरसाइकल आयात भएका छन्। गत वर्ष २५० देखी ५०० सीसीसम्मका २ हजार ११ मोटरसाइकल आयात भएका थिए।

गत वर्षको तुलनामा साइकलको समेत आयात घटेको छ। गत वर्ष १ लाख १० हजार भित्रिएकोमा यो वर्ष १ लाख ५ हजार आयात भएका छन्।

कोभिड १९ का कारण सार्वजनिक यातायात सुरक्षित नहुने र दुई पांग्रे सवारीको व्यापार बढ्ने आंकलन गरिएको थियो।

चारपांग्रे गाडीको आयात भने गतवर्ष जस्तै
अटो व्यवसायीले चारपांग्रे गाडीको राम्रो व्यापार हुनै नसकेको बताउँदै आएका छन्। हरेक वर्ष दसैंअघि हुने नाडा अटो शो तथा दसैं तिहारमा सार्वजधिक विक्री हुने प्यासेन्जर भेहिकल कोभिड १९ का कारण व्यापार हुन नसकेको बतएका थिए।

नेपालमा सबैभन्दा बढी एक हजारदेखी एक हजार पाँच सय सीसीसम्मका पेट्रोल गाडी विक्री हुने गरेका छन्। गत वर्ष नाडा तथा दसैं लक्षित गर्दै २ हजार ३ सय ३० गाडी आयात गरेकोमा यो वर्ष नाडा नभएपनि १ हजार देखी १५ सय सीसीसम्मका पेट्रोल इन्जिन गाडी २ हजार ३ सय ४७ आयात भएका छन्।

त्यसैगरी १५ सय सीसीसम्मका डिजेल गाडी ३९७ वटा आयात भएका छन्। गत वर्ष ७१६ आयात भएका थिए। गतवर्ष १५ सय देखी २५ सय सीसीसम्मका डिजेल इन्जिन गाडी ३ सय ३० वटा आयात भएकामा यो वर्ष १२४ वटा आयात भएका छन्।

प्यासेन्जर भेहिकलको आयात गत वर्षजस्तै भएपनि कर्मसियल भेहिकलको आयात भने घटेको छ। लामो समय सार्वजनिक यातायात बन्द हुँदा त्यसको असर कमर्सिलय भेहिलकमा परेको अटो व्यवसयीले बताउँछन्।

गत वर्षको ३ महिनामा २ सय १५ बस आयात भएकामा यो वर्ष ४५ वटा मात्रै आयात भएका छन्। त्यसैगरी यो वर्ष मिनीबस २० वटा मात्रै आयात हुँदा गतवर्ष १२५ भित्रिएका थिए।

लकडाउन तथा निषेधाज्ञाको समय अत्यावश्क समान ढुवानीमा असर नपरेपनि धेरै व्यापारिक क्रियाकलाप बन्द हुँदा ढुवानीका गाडीको आयात समेत घटेको छ।

चालक सहित २ जनामात्रै बस्न मिल्ने सिंगल पिकअप गाडी गत वर्ष १ हजार १४२ वटा भित्रिएकामा यो वर्ष ८७५ भित्रिएका छन्।

सामान ढुवानी सहित २ भन्दा भन्दा बढी मानिस बस्नसक्ने पिकअप यो ५७६ वटा आयात भएका छन्। गत वर्ष ७ सय ४९ आयात भएका थिए।

हजार सीसी भन्दाकमका तिनपांग्रे अटो रिक्साको आयात ह्वात्तै घटेको छ। गत वर्ष ३ हजार ७९ वटा आयात भएकोमा यो वर्ष २६३ मात्रै आयात भएका छन्।

समग्र आयात नै १२.७४ प्रतिशतले घट्यो
गत वर्षको तुलनामा यो वर्ष १२.७४ प्रतिशतले आयात घटेको छ भने निर्यात १४.२८ प्रतिशतले बढेको छ। आर्थिक वर्ष २०७५/७६ को तुलानामा भने करिब २३ प्रतिशतले आयात कम भएको हो।

निर्यात बढ्दा व्यापारघाटा १५.१३ प्रतिशतले घट्दा वैदिशिक व्यापार १०.७१ प्रतिशतले घटेको छ। ७५/७६ को तुलनामा निर्यात समेत करिब ३० प्रतिशतले बढेको छ।

आर्थिक वर्ष ०७६/७७ मा २७ अर्वको निर्यात भएकोमा चालु आर्थिक वर्षमा ३१ अर्बको निर्यात भएको छ। ७५/७६ मा २३ अर्वको मात्रै निर्यात भएको थियो।

आर्थिक वर्ष २०७६/७७ को पहिलो ३ महिनामा ३ खर्ब ३४ अर्बको आयात भएकोमा गत वर्ष २ खर्ब ९२ अर्व आयात भएको छ। ७५/७६ मा ३ खर्ब ७३ अर्ब आयात भएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .