जापानी कार निर्माता निशानले विश्वभर १० हजारभन्दा बढी कामदार हटाउने योजना सार्वजनिक गरेको छ।
निशानले गत मे महिनामा पनि चार हजार ८०० कामदार हटाउने योजना सार्वजनिक गरेको थियो। निसानमा विश्वभर एक लाख ३९ हजार कामदार र कर्मचारी कार्यरत छन्।
कम्पनीका पूर्वप्रमुख कार्लोस घोउनको गिरफ्तारी र संयुक्तराज्य अमेरिका तथा युरोपमा कारको बिक्री घटेपछि कम्पनीमा समस्या उत्पन्न भएको छ।
निशानका एक जना प्रवक्ताले कर्मचारी कटौतीका बारेमा सोधिएको प्रश्नमा कुनै प्रतिक्रिया दिन अस्वीकार गरे।
जापानको निक्की दैनिकले बुधबार प्रकाशन गरेको समाचारमा अमेरिकामा कारको बिक्रीमा भएको मन्दीका कारण निशानको सञ्चालन नाफामा पहिलो चौमासिक अवधिमा करिब ९० प्रतिशत कमी रहेको उल्लेख छ। यही विवरण बिहीबार कम्पनीले सार्वजनिक गर्न लागेको पनि निक्कीले लेखेको छ।
निशानको पछिल्लो समय फ्रान्सेली साझेदार कार निर्माता कम्पनी रेनल्टसँग पनि विवाद चुलिएको छ। रेनल्टको जापानी कार निर्माता निसानमा करिब ४३ प्रतिशत सेयर लगानी छ।
निशानको कर्मचारी कटौती योजनाले दक्षिण अमेरिका समेतका अरु केही क्षेत्रमा स्थापित कारखानामा असर पर्नेछ। खासगरी ज्यादै कम नाफा भइरहेका क्षेत्रका कारखाना बन्द हुनेछन्। एएफपीबाट

प्रतिक्रिया