अटो


‘मुटु काम्ने दुर्घटनामा टियागोको सुरक्षा प्रमाणित भयो, मैले पुनर्जीवन पाएँ’

‘मुटु काम्ने दुर्घटनामा टियागोको सुरक्षा प्रमाणित भयो, मैले पुनर्जीवन पाएँ’

नेपालखबर
भदौ १, २०७७ सोमबार ११:११,

साउन २३ गते शुक्रबार पश्चिम नवलपरासीको दाउन्नेमा भयानक सडक दुर्घटना भयो।

काठमाडौंबाट बुटवल आउँदै गरेको कन्टेनर पल्टिँदा त्यसले काठमाडौं जाँदै गरेको कारलाई थिचेको थियो। देख्दै मुटु काम्ने गरी भएको दुर्घटनामा थिचिएको कार थियो, टाटाको टियागो।

त्यसका चालक दीपक चौधरी कारभित्रै थिए। घण्टौँपछि उद्धार गरिएका चौधरी दुर्घटनामा सकुशल बाँच्न सके। यो भयानक दुर्घटनामा समेत चालक सकुशल हुनुले टाटाले दाबी गर्दै आएको टियागो कारको सुरक्षा फिचर्स अब्बल रहेको देखिएको छ।

चौधरीले भैरहवा भन्सारबाट टाटाका नयाँ गाडी देशका मुख्य सहरमा पुर्याउँदै आएका छन्। उनी टाटामा आबद्ध भएको ३ वर्ष भयो।

मुख्य गरी भैरहवाबाट टाटाका नयाँ गाडी उनैले काठमाडौंमा ल्याउँछन्। कम्पनीले भैरहवादेखि काठमाडौंसम्म एउटा कार पुर्याएबापत २५ सय भत्ता दिन्छ। यसअघि पटक पटक टाटाका नयाँ गाडी उनले नै होशियारसाथ चलाएर काठमाडौं ल्याउँदै आएका थिए।

त्यसदिन भने यसअघिजस्तो भएन। उनी दुर्घटनामा परे। आफ्नो गल्तीविनै भएको दुर्घटना निकै डरलाग्दो थियो।

tiyago 67

‘एउटा ठूलो कन्टेनर काठमाडौंबाट बुटवलतर्फ आउँदै रहेछ। म भैरहवाबाट काठमाडौं आउँदै थिएँ। दाउन्नेमा ठूलो कन्टेनरको लागि मोड पुगेन’, २३ गतेको दुर्घटना सम्झिँदै चालक चौधरीले नेपालखबरसँग भने, ‘उसले मेरो गाडीतिर च्याप्दै आयो। अगाडि खाल्डो थियो। नयाँ गाडी खाल्डोमा कुदाउन पनि मिलेन। विस्तारै गाडी कुदाइरहेका थिएँ। बचाउँदा बचाउँदै पनि कन्टेनर मेरो गाडीमाथि पल्टियो।’

टाटाको टियागो कारमाथि त्यति ठूलो कन्टेनर पल्टिँदा बाँच्छु भन्ने आशै मारेको उनी बताउँछन्।

‘कन्टेनर मेरो गाडीमाथि पल्टिएपछि म बायाँपट्टिको सिटतिर पल्टेँ। अब पक्कै बाँच्दिन भन्ने लागेको थियो’, उनले भने, ‘कन्टेनरले गाडीको माथिको भाग च्यापिँदै अयो। एउटा खुट्टा च्यापियो। एउटा खुट्टा चलिरहेको थियो। दुर्घटना भएको करिब १ घण्टासम्म मलाई यहाँबाट निकाल भनेर कराएँ तर कसैले सुनेन।’

भिडियाे हेर्नुहाेस्-

उनी त्यतिबेला बाहिरको आवाज सुनिरहेका थिए। तर उनको गाडीभित्रको अवाज कसैले सुनेनन्।

‘आफू बाँचिरहेको जानकारी बाहिर कसरी दिने? माथिबाट गाडीले च्यापिएको छ। निस्किनसक्ने अवस्था थिएन’, उनले नेपालखबरसँग भने।

किचिएको कारभित्र दीपक आफ्नो आवाज बाहिर सुनाउने विकल्प खोजिरहेका थिए। यत्तिकैमा उनलाई लाग्यो– बाहिर आवाज पुर्याउन सबैभन्दा राम्रो उपाय हर्न बज्छ कि? तर हात स्टेरिङसम्म पुर्याउनसक्ने अवस्था उनको थिएन।

tiyago 68

दीपकले भने, ‘मैले विस्तारै आफ्नो चलाउन मिल्ने अवस्थामा रहेको खुट्टाको प्रयोग गरेर हर्न बजाएँ।’

राम्रो हावा आउने ठाउँ नहुँदा गर्मीले असिनपसिन भएका थिए दीपक। हर्न बजाएपछि उनलाई अब भने बाँच्छु भन्ने आभास भयो।

कारको हर्न बजेपछि बाहिरका मानिसले चालक जीवितै छ भन्ने थाहा पाएर तत्काल क्रेन मगाए। करिब २ घण्टापछि क्रेनले कन्टेनरलाई कारमाथिबाट हटाउन सफल भयो। त्यसपछि उनी अस्पताल पुर्याइए। पूरै शरीर स्क्यान गरियो। भाग्यवश केही भएको रहेनछ।

अहिले उनी रुपन्देहीको आफ्नै घरमा आराम गरिरहेका छन्। आफू बाँच्नुको कारण सुनाउँदै भने, ‘टाटाका कार सुरक्षित र बलिया हुन्छन् भन्ने सुनेको थिएँ। म आफैँ यस्तो भयानक दुर्घटनामा परेर पनि बाच्न सफल हुँदा टियागो साँच्चै बलियो रहेछ भन्ने लाग्यो। यो दुर्घटनाले टियागोको सुरक्षा प्रमाणित भयो। मैले पुनर्जीवन पाएँ।’

tiyago 69

टाटाको टियागो कति सुरक्षित?
टाटा टियागो ग्लोबल एनक्यापमा ४ स्टार रेटिङ पाएको कार हो। बजारमा उपलब्ध सुरक्षित कारहरूमध्ये टियागोलाई एक मानिन्छ।

यो कारमा सुरक्षाका लागि अगाडि दुवै सिटमा एयरब्याग, ईबीडीसहितको एबीएस ब्रेकिङ सिस्टम, कर्नर स्टेबिलिटी कन्ट्रोल, रियर पार्किङ सेन्सर, कारको गतिबारे जानकारी दिने स्पिड अलर्ट सिस्टम, ड्राइभर तथा प्यासेन्जर सिटबेल्ट रिमान्डरजस्ता सुरक्षा फिचर्स छन्।

३ सिलिन्डर रहेको टियागोमा १२ सय सीसीको इन्जिन क्षमता छ। यसले ६ हजार आरपीएममा ८५ पीएस ६२.५ किलोवाट पावर जेनेरेट गर्छ। द अल न्यु टियागोको उक्त इन्जिनले ३५ सय आरपीएममा ११४ एनएम टर्क उत्पादन गर्छ। फाइभ स्पिड ट्रान्समिसन रहेको यो कार ३७ सय ४६ एमएम लम्बाइ, १६ सय ४७ एमएम चौडाइ र १५ सय ३५ एमएम उचाइ रहेको छ। यो कारको ह्विलबेस २४ सय एमएम रहेको छ। यो कारको ग्राउन्ड क्लियरेन्स १६५ एक्सई र एक्सएममा र एक्सजेट प्लसमा १८० रहेको छ।

यो कारमा ३५ लिटरको इन्धन ट्यांकी रहेको छ भने यसको बुट स्पेस २४२ लिटर रहेको छ। यो कारमा पाँच जना आरामसँग बस्न सक्छन्। यसबाहेक कारमा कनेक्ट नेक्स ७'' टचस्क्रिन (एक्सजेट प्लस) र एन्ड्रोइड अटो (एक्सजेटप्लस) इन्फोटेन्मेन्ट छ। त्यस्तै चारवटा स्पिकर जोडिएका छन्। स्पोर्टी र शार्प १५'' डुअल टोन अलोय ह्विल्स, प्रोजेक्टर हेडल्याम्प, इलेक्ट्रिक ओआरभीएम र फोल्ड गर्न मिल्ने मिरर, कुल्ड ग्लोभ बक्स, इलेक्ट्रिक पावर स्टेरिङ, डोर ओपन र कि रिमाइन्डरजस्ता फिचरले टियागो आकर्षक कार बनेको छ।

यो कार एक्सई, एक्स एम र एक्सजेट प्लस मोडल अप्सनमा उपलब्ध छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad