नेपालमै पहिलोपटक टु ह्विल टुर इन नेपाल अर्थात् नेपालमा दुईपांग्रे भ्रमण शीर्षकको अन्तर्राष्ट्रिय सम्मेलन समेत जुममार्फत हुने भएको छ।
आगामी २४ जुनको अपराह्न आयोजना हुने सो वेबिनरमा नेपालमा दुई पांग्रे भ्रमण र ड्राइभ पर्यटनका लागि नासा नेपालले छनौट गरेका गन्तव्यहरुमा संलग्न संघ÷संस्था र कम्पनीहरु जस्ता विषयमा प्रस्तुतीकरण र छलफल हुने नासाका महासचिव आशिष गजुरेलले बताए।
नेपालको अटोमोबाइल, पर्यटन र खेलकुद क्षेत्रको नयाँ प्रोडक्टको रुपमा आइरहेको दुईपांग्रे भ्रमण र ड्राइभ टुरिज्ममा उक्त वेबिनारले एउटा प्रष्ट अवधारणा अगाडि ल्याउने उनले बताए। वुमन इन्टरनेशनल मोटरसाइकल एसोसिएसन (डब्लुआईएमए)की उपाध्यक्ष जारा स्ट्रेन्ज (स्कटल्याण्ड), फेडेरेसन इन्टरनेशनल डी मोटरसाइक्लिज्म(एफआईएम) एसियाका उपाध्यक्ष तथा टुरिङ कोअर्डिनेटर सुजित कुमार (भारत), मोटर स्पोर्ट्स सिंगापुरका पूर्वअध्यक्ष लेस्ले चांग (सिङ्गापुर), माउन्टेन स्पोर्ट्स फेडेरेसन नेपालका अध्यक्ष गोविन्द भट्टराई अतिथि वक्ता हुनेछन्।
रियाज उद्दिन अहमद (बंगलादेश), खान्दु (भुटान) र रेमन दास श्रेष्ठ (नेपाल)जस्ता ट्राभलर र मोटरसाइक्लिस्टहरुको पनि सहभागिता रहने सो वेबिनारमा शान्तनु बनर्जी (भारत) र ड्राइभ टुरिज्म नेटवर्क नेपालका रमेश सिलवाल समेत हुनेछन्।
नेपाल अटोमोवाइल्स एसोसिएसनका सचिव सन्तोष न्यौपाने, डब्लुआईएमए नेपालकी सचिव उस्मिता थापाले नासा नेपाल र डब्लुआईएमए नेपालको धारणा राख्ने वेबिनारका सञ्चालक नेपालका चर्चित बाइकर तथा नेपाल मोटरसाइकल फेडेरेसनका प्रमोद श्रेष्ठ (गुफी) हुनेछन्।
नेपालमा सम्भवत संसारमै पहिलो पटक हुन लागेको यस किसिमको वेबिनारलाई एफआईएम, माउन्टेन स्पोर्ट्स फेडेरेसन नेपाल, नासा नेपाल, हिमालयन इन्फिल्डर र डब्लुआईएमए नेपालको सहयोग रहेको छ।

प्रतिक्रिया