फ्रेंकफर्ट (जर्मनी)— विश्वका दुई ठूला कार निर्माता कम्पनीहरु फोर्ड र फोक्सवागनले स्वचालित सवारीसाधन र विद्युतीय कार निर्माण लगायतमा मिलेर काम गर्ने भएका छन्। दुई कम्पनीबीच नयाँ परियोजनामा संयुक्त लगानी गर्ने समेत सहमति बनेको छ।
यो सहमतिलाई आगामी छिटै फोक्सवागन सुपरभाइजर बोर्डले प्रमाणित गर्नेछ। कार निर्माण क्षेत्रमा यो सहमतिलाई महत्वाकांक्षी मानिएको छ।
सहमति कार्यान्वयन गर्दै जाँदा दुई कम्पनीले पिकअप ट्रकसमेत बनाउने छन्। दुई प्रतिस्पर्धी कम्पनीबीच भएको सहमति पछिल्लो समय सवारीसाधन निर्माताहरुबीच सुरु हुनथालेको सहकार्यको अर्को एउटा उदाहरण हो।
धुँवा उत्सर्जन गर्ने परम्परागत प्रविधिलाई विस्थापन गर्न ब्याट्रीयुक्त कारको निकै ठूलो सम्भावना देखिएको छ। त्यस्तै मानवीय कारणले हुने दुर्घटना पनि स्वचालित प्रविधिले विस्थापन गर्न सक्ने कम्पनीहरुको आशा छ। तत्कालै नयाँ प्रविधिमा रुपान्तरण हुन फोर्ड, फोक्सवागनजस्ता स्थापित कम्पनीका लागि जोखिमपूर्ण पनि हुनसक्ने कतिपयको भनाइ छ।
अर्बौँ डलर लगानी गर्नुपर्ने र अर्कोतर्फ त्यो असम्बन्धित हुनसक्ने जोखिम रहने जोखिम उनीहरुलाई छ। परम्परागत कार निर्माताहरुले पछिल्लो समय उबर, गुगलजस्ता प्रतिस्पर्धी कम्पनीको सामना गरिरहेका छन्। उनीहरुले पनि यसकै लागि ठूलो वित्तीय स्रोत परिचालन गरेका छन्। लगानीकर्ताहरु पछिल्लो समय फोक्सवागन परियोजना रहेको डेट्रोइट वा वल्फवर्गभन्दा सिलिकन भ्याली (प्रविधि कम्पनीहरुको सहर)का कम्पनीमा आकर्षित भइरहेका छन्।
पछिल्लो समय बजारमा कार बिक्री ह्वात्तै घटेको छ। यसको ठूलो मर्का पनि कार निर्माताहरुलाई नै परिरहेको छ। यसले गर्दा पनि कार निर्माण गर्ने कम्पनीहरुलाई एक अर्कासँग मिल्न दवाब छ।
जर्मन कारमेकरहरु बीएमडब्ल्यू र डायम्लरले पूर्वघोषित योजनाअनुसार नै स्वचालित ड्राइभिङ प्रविधि विकास गर्न सहकार्य गर्ने सम्झौता गरिसकेका छन्। त्यस्तै फियेट क्राइस्लरको रेनोल्डबीचको असफल मर्जर प्रयास पनि कार उद्योगलाई नयाँ प्रविधिमा रुपान्तरण गर्ने पछिल्लो समय विकसित परिस्थितिकै उपज हो।
शुक्रबार मात्रै बीएमडब्ल्युले आफ्नो प्रमुख कार्यकारी हेराल्ड क्रुगरलाई पुनः पदबहाल नगराउने बताइसकेको छ। कम्पनीको सुपरभाइजर बोर्डले उनको पदस्थापकको खोजी नगरेसम्म कम्तिमा जुलाई १८ सम्म मात्रै हेराल्ड रहनेछन्। क्रुगरले नै एक वक्तव्यमार्फत नयाँ व्यावसायिक खोजीका लागि प्रयास गर्न पद छोड्न लागेको जानकारी गराइसकेका छन्। उनले छोड्ने कुरा मेमा कम्पनीको यो वर्षको पहिलो तीन महिनामा ७४ प्रतिशत नाफा घटेर ६६ करोड डलर आएको तथ्यांक सार्वजनिक भएपछि बाहिर आएको हो।
अनुसन्धान र विकासमा धेरै खर्च बढिरहेको कारण नाफामा गिरावट आएको बताइएको छ।
जनवरीमा फोक्सवागन र फोर्डले भ्यान, पिकअप ट्रक उत्पादनमा सहकार्य गर्ने बताउँदै विद्युतीय कार र स्वचालित काममा मिल्नलागेको संकेत गरेका थिए। अहिले उनीहरु यससम्बन्धी सम्झौतालाई अन्तिम रुप दिन लागिपरेका छन्। विशेषतः स्वचालित ड्राइभिङ प्रणालीमा फोर्डको लगानी र विद्युतीय कार निर्माणमा फोक्सवागनको नेतृत्वलाई जोड दिने गरी सम्झौता हुने विश्वास गरिएको छ।
ससम्बन्धी जानकार स्रोतका अनुसार सम्झौता घोषणा नभएसम्मलाई छलफललाई बाहिर नल्याउन भनिएको छ।
गत वर्ष फोक्सवागनले अन्य कार कम्पनीले भन्दा धेरै कार बिक्री गरेको थियो। कम्पनीले यसअघि नै सार्वजनिक विद्युतीय सवारीसाधन (कारहरु) निर्माण गर्ने बताएको थियो। कम्पनीले अहिले नै आईडी.३ विद्युतीय कारको अर्डर (अग्रिम माग) लिन थालिसकेको छ। अर्को वर्षदेखि उक्त मोडलका विद्युतीय कार बजारमा आउनेछ। यसको मूल्य कम्तिमा ३० हजार युरो पर्नसक्नेछ।
स्वचालित ड्राइभिङमा फोक्सवागनभन्दा बढी फोर्ड परिष्कृत छ। प्रस्ताव गरिएको सम्झौतामा फोक्सवागनले पिट्सबर्गमा रहेको आर्गो एआई फार्ममा लगानी गरेर स्वचालित प्रविधि विकास गर्नेछ। यसलाई फोर्डले समर्थन गर्ने बताइएको छ।
विद्युतीय कारमा पछाडि रहेको फोर्डले भने फोक्सवागनले विकास गरेको नयाँ पुस्ताको कार प्लेटफर्मलाई प्रयोग गर्नेछ। उक्त प्लेटफर्म मोटरहरु, च्यासिस र ब्याट्रीजस्ता उच्च मापदण्डयुक्त सामग्री निर्माणका लागि परिचित छ।
फोक्सवागनको प्लेटफर्म प्रयोग गरेर फोर्डले आफैँ विकास गर्न लाग्ने खर्च जोगाउन सक्छ। त्यस्तै पार्टपुर्जा सँगै किनेर दुवै कम्पनीले पैसा बचाउन पनि सक्नेछन्। नयाँ सम्झौताबारे फोर्ड र फोक्सवागनले कुनै प्रतिक्रिया भने दिइसकेका छैनन्। फोर्डले एक वक्तव्यमार्फत फोक्सवागनसँग छलफल चलिरहेको र एकदमै सकारात्मक रुपमा अगाडि बढिरहेको बताएको छ। (न्युयोर्क टाइम्सबाट अनुवाद)

प्रतिक्रिया