प्रदेश २ सरकार र युके एड ‘सीप कार्यक्रम’को सहकार्यमा ‘एमएडब्लु एकेडेमी फर स्किल डेभेलपमेन्ट’ले जनकपुरमा जेसीबी अपरेटर तालिम केन्द्र सञ्चालनमा ल्याएको छ।
बुधबार एक कार्यक्रमबीच प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउत, भौतिक आवासमन्त्री जितेन्द्र सोनल र सामाजिक विकासमन्त्री नवल किशोर साहले संयुक्तरुपमा जेसीबी अपरेटर तालिम केन्द्रको उद्घाटन गरेका हुन्।
जेसीबीको यो परियोजनाको उद्देश्य हेभी मेसिन सञ्चालन र मेकानिक तालिम प्रदान गरेर रोजगार बनाउनु रहेको कम्पनीले बताएको छ। भविष्यमा यो तालिम केन्द्रमा लिफ्ट, जेनेरेटर मर्मतलगायत अन्य इन्जिनियरिङ क्षेत्रको तालिम उपलब्ध गराउने लक्ष्य ‘एमएडब्लु एकेडेमी फर स्किल डेभेलपमेन्ट’ले लिएको छ।
तालिम केन्द्रको उद्घाटन गर्दै मुख्यमन्त्री लालबाबु राउतले देशलाई अहिले सबैभन्दा बढी दक्ष जनशक्तिको आवश्यकता रहेको र यसको पूर्तिमा एकेडेमीले महत्वपूर्ण योगदान पु¥याउने विश्वास व्यक्त गरे।
‘कामदारलाई सैद्धान्तिक र व्यावहारिक ज्ञान दुवै आवश्यक हुन्छ। यी दुवै ज्ञान दिने संस्थाले मात्र दक्ष जनशक्ति उत्पादन गर्न सक्छ,’ मुख्यमन्त्री राउतले भने, ‘हामीलाई खुसी लागेको छ कि एमएडब्लु, युके एड र डीएफआईडीसँग सहकार्य गरेर हामीले यो तालिम केन्द्र सुरु गरेका छौं। यसले देशलाई आवश्यक जनशक्ति र रोजगार सिर्जना गर्नेमा हामी विश्वस्त छौं।’
उद्घाटन कार्यक्रममा एमएडब्लु अर्थमुभर्सका अध्यक्ष विष्णु कुमार अग्रवालले एमएडब्लु अर्थमुभर्सले हेभी मेसिनको क्षेत्रमा व्यवसाय गरिरहेकाले यो क्षेत्रमा आवश्यक जनशक्तिको उत्पादन गर्नु आफ्नो जिम्मेबारी भएको बताए ।
‘एमएडब्लुका संस्थापक प्रहलाद राय अग्रवालले शिक्षा र सिप विकासको क्षेत्रलाई सधैं महत्व दिनुभयो। उहाँको यो आदर्शलाई निरन्तरता दिँदै हामीले दोस्रो तालिम केन्द्र स्थापना गरेका हौं’, उनले भने, ‘यस्ता तालिम केन्द्रहरु देशका विभिन्न स्थानमा स्थापना गरेर रोजगारी सिर्जना गर्ने हाम्रो योजना रहेको छ।’
एमएडब्लु अर्थमुभर्सले विगत आठ वर्षदेखि युसेपसँग सहकार्य गरेर भक्तपुरको सानो थिमीमा अपरेटर तालिम केन्द्र सञ्चालन गर्दै आएको छ जहाँबाट तीन हजारभन्दा बढी दक्ष जनशक्ति उत्पादन भई देशविदेशमा रोजगार बनेका छन्।

प्रतिक्रिया