अटो


ट्याक्सी सेवासम्बन्धी नयाँ एप सार्वजनिक, 'ट्याक्सीमाण्डु'बाटै बुकिङ गर्न सकिने

ट्याक्सी सेवासम्बन्धी नयाँ एप सार्वजनिक, 'ट्याक्सीमाण्डु'बाटै बुकिङ गर्न सकिने

नेपालखबर
मंसिर २७, २०७६ शुक्रबार ८:१७,

ट्याक्सी सेवासम्बन्धी नयाँ एप सार्वजनिक गरिएको छ। ट्याक्सीमाण्डु नामक ‘फिल सेफ राइड अन टाइम’ स्लोगनका साथ उक्त एप सञ्चालनमा ल्याइएको हो।

यो एप परम्परागत ट्याक्सी व्यवसायमा प्रविधिको प्रयोग गरी सहज रुपमा ट्याक्सी चालक र यात्रुबीच समन्वय गराउने उद्देश्यले संचालनमा ल्याइएको हो। यो एपको सञ्चालनसँगै अब काठमाडौंका ट्याक्सीहरु गोजी गोजीमा बोकेर हिँड्न मिल्ने भएको छ।

यो एपले ग्राहक खोज्दै भौतारिनुपर्ने ट्याक्सी चालकहरुको समस्याको सामाधान हुने विश्वास गरिएको छ । त्यस्तै यात्रुहरुले पनि ट्याक्सी खोज्न सडकमै भौतारिनुपर्ने समस्याको यसले अन्त्य गर्नेछ । यात्रुहरुले अब आफूले चाहेको स्थानबाटै ट्याक्सी बुक गर्न सक्नेछन् ।

यसका लागि ट्याक्सी चालक र यात्रुहरुका लागि छुट्टा छुट्टै एप संचालनमा ल्याइएको छ। चालकले आफ्नो मोबाइलको गुगल प्ले स्टोर वा एप स्टोरमा गएर ट्याक्सीमाण्डु ड्राइभर र यात्रुले ट्याक्सीमाण्डु प्यासेन्जर नामक एप डाउनलोड गर्नुपर्नेछ।

त्यस्तै भिजिट नेपाल २०२० का लागि पनि ट्याक्सीमाण्डु एपले पूर्णरुपमा सहयोग पुग्ने सञ्चालकले बताएका छन्। उपत्यका आउने अधिकांश स्वदेशी तथा विदेशी पर्यटकले ट्याक्सीको प्रयोग गर्ने भएकाले त्यसका लागि ट्याक्सीमाण्डु भरपर्दो माध्यम बन्ने एपका संचालक स्वीटी टि. खत्रीले जानकारी दिए।

चालक र यात्रु दुवैको सुरक्षा
यो एप सुरक्षाका दृष्टिकोणले एकदमै संवेदनशील रहेको छ । यो एपको प्रयोगबाट ट्याक्सीमा हुन सक्ने सम्भावित अपराधको घटनामा नियन्त्रण गर्न सकिने संचालक स्वीटीले बताइन् । उनले भनिन्, ‘यस एपमा दर्ता हुने ट्याक्सी चालक र यात्रुहरुको नागरिकता, सवारी चालक अनुमतिपत्र तथा फोन नम्बरसहितको सम्पूर्ण अभिलेख राखिन्छ । यसले चालक वा यात्रुहरुबाट हुनसक्ने गैर कृयाकलापको अनुगमन गर्न र नियन्त्रणमा लिन प्रशासनलाईसमेत सहज हुन्छ ।’

ट्याक्सी चालक र यात्रुलाई विशेष सुविधा
ट्याक्सीमाण्डु एपले आफ्नो औपचारिक घोषणासँगै ह्याम्स अस्पताल र इसेवाबीच सम्झौता पनि गरेको छ । जसले ट्याक्सी चालकलाई विभिन्न सेवा उपलब्ध गराउने ट्याक्सीमाण्डु एपका प्रबन्ध निर्देशक अर्जुन केशीले जानकारी दिए।

‘हामीले चालकको सेवा सुविधाका लागि ह्याम्स अस्पताल र इसेवासँग पनि सम्झौता गरेका छौं । सम्झौताअनुसार ट्याक्सीमाण्डुमा दर्ता हुने चालकहरुले ह्याम्स अस्पतालमा उपचारमा १० प्रतिशत र औषधी खरिदमा ५ प्रतिशत छुट पाउनेछन्’ उनले अगाडि थपे, ‘त्यस्तै यो एपको प्रयोग गर्ने चालक र यात्रुले इसेवाबाट पे गर्दा ५ प्रतिशत क्यासब्याक पाउनेछन् ।’

त्यस्तै एक महिनामा धेरै यात्रु बोक्ने ट्याक्सीलाई पेट्रोल हालिदिने र वर्षमा धेरै यात्रु बोक्ने ट्याक्सीको कर तिरीदिने प्रबन्ध निर्देशक केशीले बताए ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad