अटोमोवाइल्स प्राविधिकहरुले व्यावहारिक तथा सैद्धान्तिक दुवै ज्ञान लिन जरुरी रहेको यस क्षेत्रका विज्ञहरुले बताएका छन्। नेपाल अटो मेकानिक्स ट्रेड युनियन ललितपुर नगर कमिटीद्वारा आयोजित कार्यक्रममा अटोमोबाइल्स क्षेत्रका जानकारहरुले यस्तो सुझाव दिएका हुन्।
अटोमोबाइल्स इन्जिनियर क्षेत्रबहादुर (सीबी) थापाद्वारा लिखित ‘अटो मोबाइल्स टेक्नोलोजी र मोटरसाइकल मेकानिक’ पुस्तक लोकार्पण भएको छ। यस क्षेत्रमा काम गरेकाहरुका लागि यो नेपाली भाषामा लेखिएको पहिलो पुस्तक भएको थापाले बताए।
कार्यक्रममा पुस्तकका लेखक एवं इन्जिनियर थापाले यस क्षेत्रमा काम गर्ने धेरै व्यक्ति, संस्थाहरुको परामर्शपछि प्राविधिक एव यस क्षेत्रमा जानकारी राख्नेहरुका लागि उपयोगी हुने ठानेर पुस्तक प्रकाशित गरेको बताए।
कार्यक्रममा नेपाल अटो मेकानिक्स ट्रेड युनियनका प्रमुख सल्लाहकार माधवप्रसाद पाण्डेले कार्यक्षेत्रमा खटिँदा सुरक्षाको विषयलाई प्रमुख प्राथमिकतामा राख्न सुझाव दिए। उनले कार्य क्षेत्रमा स साना गल्तीले पनि ठूलो दुर्घटना हुनसक्ने भन्दै त्यसतर्फ सचेत हुन आग्रह गरे।
कार्यक्रममा थापाथली इन्जिनियररिङ क्याम्पसका उपप्राध्यापक एवं अटोमोबाइल इन्जिनियर धर्म महर्जनले अंग्रेजी भाषामा अटोमोबाइल्सबारे जानकारी राख्ने धेरै किताब उपलब्ध भए पनि नेपाली भाषामा लेखिएको यो पहिलो किताब भएकोले धेरै उपयोगी हुने बताए।
कार्यक्रममा नेपाल अटो मेकानिक्स ट्रेड युनियन ललितपुर नगर कमिटिका अध्यक्ष विराट दुवाडीले कतिपय नयाँ प्रविधिबारे सिक्दै अघि बढ्नुपर्नेमा जोड दिए।

प्रतिक्रिया