कैलालीस्थित प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर ५ मा मुख्य प्रतिस्पर्धा नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बिच हुने देखिएको छ।
यद्यपि आउने फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा कैलाली-५ मा राजनीतिक दल र स्वतन्त्रबाट नयाँ अनुहार गरी कुल १५ जना उम्मेदवार छन्।
जसमा प्रतिस्पर्धी देखिएका दल कांग्रेसबाट नरनारायण शाह, नेकपाबाट प्रेमबहादुर आले, एमालेबाट यज्ञराज ढुंगाना र रास्वपाबाट आनन्दबहादुर चन्द छन्।
अन्यमा स्वतन्त्र रूपमा प्यारेलाल राना, जनकराज पाठक र इश्वरी विष्ट यहाँ चुनाव लड्दै छन् भने मितेरी पार्टी नेपालकी राधिका कार्की, आम जनता पार्टी (आजपा) का देवसिंह विष्ट, नागरिक उन्मुक्ति पार्टी (नाउपा) नेपालका जगन्नाथ चौधरी प्रतिस्पर्धामा छन्।
यसैगरी राष्ट्रिय जनमोर्चाका शोभामणि जोशी, राष्ट्रय प्रजातन्त्र पार्टी (राप्रपा) का रोशन शाही, नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का तृष्ण पुनमगर, नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीका बबरजंग बहादुर सिंह, उज्यालो नेपाल पार्टी (उनेपा) का चन्द्र साउद र जनमत पार्टीका धनबहादुर चौधरी पनि कैलाली-५ को चुनावी मैदानमा छन्।
जहाँ तत्कालीन नेकपा माओवादी, केन्द्र नेकपा एकीकृत समाजवादीसहित दर्जनभन्दा बढी वाम दल मिलाएर बनाइएको नेकपाले डोटीबाट लगातार तीनपटक (ह्याट्रिक) विजयी निवर्तमान सांसद तथा पूर्वमन्त्री प्रेमबहादुर आलेलाई उम्मेदवार बनाएको छ।
नेकपा गठनअघि माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीका नेता आले डोटीमा लगातार २०७०, २०७४ र २०७९ का चुनाव जितेका व्यक्ति हुन्। चौथो पालिमा भने उनी कैलाली-५ झरेका हुन्।
वि.सं. २०५४ अघि आले नेपाली कांग्रेसमा आबद्ध थिए। यसपछि एमाले प्रवेश गरेका उनी ०५४ मा जिल्ला विकास समितिको सदस्य बने। अनि २०६४ मा भएको पहिलो संविधान सभा चुनावमा डोटीको तत्कालीन निर्वाचन क्षेत्र नम्बर २ बाट उम्मेदवार बने। तर आले तत्कालीन माओवादी केन्द्रका खेम बमसँग हारे।
यसपछि फेरि २०७० मा भएको संविधान सभाको दोस्रो चुनावमा पनि उनले त्यही क्षेत्रबाट प्रतिस्पर्धा गर्ने मौका पाए। र, नेपाली कांग्रेसका योगेन्द्र शाहीलाई हराउँदै पहिलोपटक संसद् प्रवेश गरे।
२०७४ को प्रतिनिधि सभा निर्वाचनमा भने डोटी जिल्लालाई एउटै निर्वाचन क्षेत्रमा खुम्च्याइयो। यो चुनावमा पनि आलेले लगातार तेस्रोपटक टिकट पाए। वाम गठबन्धनका साझा उम्मेदवार बनेका उनले तत्कालीन यातायातमन्त्री कांग्रेसका वीरबहादुर बलायरलाई हराउँदै लगातार दोस्रोपटक संसद्मा पुगे।
यसपटकको संसद् यात्रा आलेका लागि महत्त्वपूर्ण रह्यो। पार्टी (एमाले) अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा उनले वन तथा वातावरण मन्त्री बन्ने अवसर पनि पाए।
यहीबिच एमाले विभाजन हुँदा उनी माधव कुमार नेपालतिर लागे। नेपालको नेतृत्वमा नवगठित एकीकृत समाजवादीका तर्फबाट आले फेरि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बने।
यसपछि अहिले नेकपाले पनि उनलाई चौथोपटक संसदीय चुनाव लड्ने अवसर दिँदै कैलाली-५ मा पठाएको हो।
डोटीमा लगातार तीनपटक चुनाव जितेका आलेलाई कैलाली-५ कति फाप्ला? यसका लागि भने फागुन २१ मा हुने चुनावको नतिजा नै कुर्न पर्ला।
आले यतिबेला पहिलोपटक चुनाव लड्न लागेको निर्वाचन क्षेत्रका गाउँबस्तीमा मतदाता भेट्न व्यस्त छन्।
यद्यपि पर्यटन मन्त्री भएका बेला उनले धनगढीसहित कैलालीका विभिन्न ठाउँमा गरेका कामका कारण पहिले मतदातासँग परिचित छिन्।
‘डोटीका जनताले लगातार तीनपटक चुनाव जिताएर पठाए। काम नगरेको भए जिताउथे त? प्रेम आले जनताको काम गर्ने मान्छे हो,’ उनी भन्छन्, ‘कैलालीका जनताले पनि आशीर्वाद दिएर काम गर्ने जिम्मेवारी दिनेमा विश्वस्त छु।’
चुनावी एजेन्डाका रूपमा उनले फाप्ला क्रिकेट रंगशाला निर्माण, धनगढी विमानस्थल र सेती प्रादेशिक अस्पताल स्तरोन्नति अघि सारेका छन्।
पहिलोपटक संसद् छिर्न कसिएका शाह
कांग्रेसको प्रभाव क्षेत्र मानिने कैलाली-५ कुनै बेला पार्टी सभापति शेरबहादुर देउवाकी पत्नी एवं पूर्वमन्त्री आरजु राणा देउवाले चुनाव लड्न रोजेको क्षेत्र हो।
तर २०७४ को प्रतिनिधि सभा निर्वाचनमा एमालेका उम्मेदवार नारदमुनि रानासँग हारेपछि राणा ०७९ मा यस क्षेत्रमा उठिनन्।
त्यस साल उनको सट्टा कांग्रेसबाट उम्मेदवार बनाइएका डिल्लीराज पन्तले चुनाव जिते।
चुनाव लड्ने अवस्था आए पहिलो रोजाइमा पर्ने यो क्षेत्रमा आरजुले सत्तानजिक रहँदा लगानी गरेको स्थानीय नेताहरू बताउँछन्।
तर यसपटक चुनावको मुखमा हठात् पार्टीको नेतृत्व परिवर्तन भएकाले आरजुले चुनाव लड्ने टिकट नै पाइनन्।
सोही कारण यसपालि यस क्षेत्रमा कांग्रेसबाट नरनारायण शाहले पहिलोपटक चुनाव लड्ने मौका पाएका हुन्।
यस अर्थमा शाहलाई कांग्रेसको विरासत जोगाउँदै संसद्मा डेब्यु गर्न ठुलो चुनौती छ।
कांग्रेसको सुदूरश्चिम प्रदेश कार्यसमितिका महामन्त्रीसमेत रहेका शाह यतिबेला मतदाता भेटघाटमा व्यस्त छन्।
यस क्रममा उनी विकासका ठुला कुरा होइन, ससाना तर दैनिक जनजीवनसँग जोडिएका योजना मतदातालाई सुनाइरहेका छन्।
‘सडक, खानेपानी, शिक्षा हरेक चुनावमा घोषणापत्रमा राखिन्छन्। त्यसमा देखिएका समस्याको समाधान कसैले देखाउन सकेका छैनन्,’ शाह भन्छन्, ‘विदेशिने युवालाई रोक्न सिप सिकाउने र त्यसअनुसार काम गर्न स्टार्टअप फन्ड सरकारले दिनुपर्छ। त्यसका लागि नीति चाहिन्छ।’
उनले मतदातामाझ बेरोजगार, दलित, महिला, अल्पसंख्यक र निम्न आय भएका व्यक्तिले भोगिरहेका समस्या समाधान गर्ने प्रतिबद्धता जनाएका छन्।
‘घरदैलोमा जाँदा जनताको राम्रो प्रतिक्रिया पाइएको छ। सबै सकरात्मक हुनुहुन्छ। तपाईंलाई नै प्राथमिकतामा राखेका छौँ भनिरहेका छन्,’ शाहले नेपालखबरलाई सुनाए।
संसद् पस्ने दाउमा ढुंगाना
एमालेका कैलाली जिल्ला कमिटी अध्यक्षसमेत रहेका यज्ञराज ढुंगाना पनि पहिलोपटक संसदीय चुनाव लड्दै छन्।
कैलाली-५ मा एमालेका लागि ८ वर्षपछि जित हासिल गर्ने रणनीतिका साथ उनी चुनावी मैदानमा उत्रिएका छन्।
उनी एमालेको विद्यार्थी संगठन अनेरास्ववियु हुँदै पार्टीको मूल राजनीतिमा आएका व्यक्ति हुन्।
उनले शिक्षा, स्वास्थ्य र पूर्वाधार विकासलाई चुनावी एजेन्डा बनाएका छन्।
‘जेनजी आन्दोलनपछि समयको मागअनुसार युवा उम्मेदवारका रूपमा पार्टीले मलाई अघि सारेको छ। जनताका सुखदु:खमा सधैँ साथमा छु,’ ढुंगाना भन्छन्, ‘समाजप्रतिको लगाव र जनताले देखाएको मायाले पक्कै विजय हुन्छ।’
रास्वपाको लहर कुर्दै चन्द
रास्वपाका उम्मेदवार आनन्दबहादुर चन्द प्राध्यापन पेसा छाडेर राजनीतिमा होमिएका हुन्।
१७ वर्ष त्रिभुवन विश्वविद्यालयमा रसायनशास्त्र पढाएका उनी राजीनामा दिएर रास्वपाबाट उम्मेदवार बनेका हुन्।
रास्वपाको लहर देशव्यापी फैलिएको विश्वासका साथ उनी कैलाली-५ मा आफ्नो जित हुनेमा आशावादी छन्।
गौरीफन्टा नाका स्तरोन्नति गर्दै भैरहवा र वीरगन्जजस्तो बनाउने योजना उनले चुनावी मुद्दा बनाएका छन्।
यस्तै सेती प्रादेशिक अस्पताललाई दुई सयभन्दा बढीमा स्तरोन्नति गर्ने, फाप्ला क्रिकेट स्टेडियम निर्माण गर्ने उनको योजना छ।
‘युवादेखि वृद्धवृद्धा जनता जागरुक भइसकेका छन्। सबैले परिवर्तन खोजेका छन्। त्यसको संवाहकका रूपमा रास्वपा अघि बढेको छ,’ चन्द भन्छन्।
यस्तो छ ०७९ को चुनावी हिसाब
कैलाली-५ मा धनगढी उपमहानगरपालिकाका १९ वटा र कैलारी गाउँपालिकाका २ वटा गरेर जम्मा २१ वडा पर्छन्।
थारु बाहुल्य यो क्षेत्रमा उनीहरूको निर्णायक र धनगढीको चलायमान मत तान्न सक्नेको जित सुनिश्चित छ।
०७९ को स्थानीय तह चुनावमा धनगढीमा स्वतन्त्र उम्मेदवार गोपी हमाल मेयरमा विजयी भएका थिए।
०७९ को प्रतिनिधि सभा चुनावमा सबैभन्दा बढी कांग्रेसले १५ हजार ६१७ समानुपातिक मत पाएको थियो।
यस्तै दोस्रोमा एमालेले १४ हजार ३२१, नाउपाले ११ हजार ६९७, राप्रपाले ६ हजार ९४७, माओवादीले ५ हजार ७३६, रास्वपाले ४ हजार ४५५ र एकीकृत समाजवादीले ९१६ मत ल्याएका थिए।
Shares

प्रतिक्रिया