सुदूरपश्चिम


महाधिवेशन प्रतिनिधि छनोटले सुदूरपश्चिम एमालेमा बबन्डर, अलग-अलग सूची पेस

महाधिवेशन प्रतिनिधि छनोटले सुदूरपश्चिम एमालेमा बबन्डर, अलग-अलग सूची पेस

आइतबार सुदूरपश्चिममा भएको एमाले महाधिवेशन प्रतिनिधि चुनावको तस्बिर।


गोकुल जोशी
मंसिर १५, २०८२ सोमबार ९:४७, कञ्चनपुर

नेकपा एमालेको आसन्न ११औँ महाधिवेशनका लागि सुदूरपश्चिम प्रदेशभरिबाट प्रतिनिधि छनोट भइसकेका छन्।

प्रदेशस्थित ९ जिल्लाका १६ निर्वाचन क्षेत्रबाट प्रतिनिधि छनोट गर्दा कतै निर्वाचन त कतै 'निर्विरोध' भएका छन्।

कञ्चनपुरका क्षेत्र नम्बर १, ३ र कैलालीका १, ४ र ५ मा निर्वाचनमार्फत प्रतिनिधि छनोट गरिएका हुन् भने बाँकी निर्वाचन क्षेत्रमा निर्विरोध प्रतिनिधि छनोट गरिएका छन्।

तर निर्वाचन भएका स्थानमा फर्जी मत खसालिएको भन्दै विवाद भएको छ भने निर्विरोध प्रतिनिधि छनोट गरिएको भनिएका स्थानमा पनि गुटगत द्वन्द्व सुरु भएको छ। 

यस क्रममा दुई पक्षले आआफ्नै किसिमका महाधिवेशन प्रतिनिधि सूची पार्टीको प्रदेश कमिटीमा पठाएका छन्।

कञ्चनपुर ३ मा प्रतिनिधि छनोटका लागि निर्वाचन भएको थियो। मतदानका क्रममा फर्जी मत खसालिएको दाबी प्रतिनिधिका उम्मेदवार महेश पन्तले गरे। 

प्रतिनिधि छनोटका लागि भएको निर्वाचनमा विदेशमा भएका, मरिसकेका, पार्टी छाडेका, जिल्ला बाहिर भएका व्यक्तिको नाममा पनि फर्जी मत खसालिएको दाबी गर्दै उनले विश्वास नलागे नामावली हेर्न चुनौती दिए।

‘अबदेखि निर्वाचन हुँदा निर्वाचन गराउने आयोगले मतदाताको पहिचान पत्र अनिवार्य गरिनु पर्दछ  किनकि विदेशमा भएका, मरिसकेका, उपस्थिति हुन नसकेका पार्टी परित्याग गरिसकेकाको पनि नाममा भोटिङ भएको छ,’ उनले भनेका छन्, ‘व्यक्ति विदेशमै छन् या जिल्लाबाहिर छन् तर उनीहरूको नाममा फर्जी मत हालिएको छ। यो ठुलो कमजोरी भएको छ।’

पार्टीभित्रको लोकतान्त्रिक अभ्यासले पार्टी बलियो बनाउने तर निर्वाचन प्रक्रिया स्वच्छ र धाँधलीरहित हुनुपर्ने उनको माग छ। 

यस्तै निर्विरोध प्रतिनिधि छनोट भएका तीन जिल्लामा पनि एमालेभित्र बबन्डर मच्चिएको छ। बझाङ, डोटी र बैतडीमा विवाद चर्किएको हो।

सर्वसम्मतिका नाममा एकलौटी प्रतिनिधि पठाइएको भन्दै बझाङ र डोटीमा दुई समूहले अलग-अलग प्रतिनिधिको लिस्ट पठाएका छन्। 

आन्तरिक विवाद चर्किएपछि बझाङमा केन्द्रीय सदस्य ऐन महर र भैरवबहादुर सिंहको समूहले फरक-फरक प्रतिनिधिको नामावली पठाएका छन्। 

महर जिल्लामा छैनन् तर सिंह जिल्लामा बसेर गुटबन्दीमा लागेको महर पक्षधरको आरोप छ।

महर समर्थित समूहले खुलातर्फ दिलबहादुर भण्डारी, एलबी रावल, लालबहादुर खड्का र दमनबहादुर भण्डारीको नाम प्रतिनिधि सूचीमा पठाएको छ।

यस्तै महिलातर्फ जानकी बोहरा, डोल्मा तामाङ र भागरथी सिंहको नाम जिल्ला कमिटीको लेटर प्याडमा छ।

युवा क्लस्टरमा पंकज भण्डारी, दलितमा आनन्दलाल विक र शंकर रसाइलीलाई प्रतिनिधि बनाइएको छ।

यसको काउन्टरमा एमाले केन्द्रीय सदस्य भैरवबहादुर सिंह पक्षले पार्टी सदस्यको भेलाबाट अलग प्रतिनिधि पठाएको छ। 

सिंहसहित केन्द्रीय सदस्यद्वय एवं प्रदेश सभा १ का इन्चार्ज अफिलाल ओखेडा र प्रदेश सभा २ इन्चार्ज आशा कुमारी विकले अलग्गै प्रतिनिधिको नाम पठाएका हुन्। 

उनीहरूले खुलातर्फ पदमबहादुर धामी, प्रकाश रोकाया, गोकुलबहादुर सिंह, राकेशबहादुर सिंह र पुरनबहादुर धामीको नाम सिफारिस गरेका छन्।

यस्तै महिलातर्फ भगिरथी सिंह, देवकी जोशी, निशा धामी, दलिततर्फ दिनेश नेपाली, कृष्णबहादुर सार्की र युवामा गणेश राज जोशीलाई सिफारिस गरिएको छ। 

एकलौटी ढंगले छलफल नै नगरी जिल्ला कमिटीको सचिवालयले नाम पठाएपछि आफूहरूले पनि अलग्गै नाम पठाउनुपर्ने अवस्थामा आएको एमाले नेता अफिलाल ओखेडाले बताए। 

‘४६ जनाको मनोनयन परेको थियो। हामी केन्द्रीय सदस्य लगायतसँग छलफल नै गरिएन। एकलौटी ढंगले सचिवालयले नाम पठायो,’ उनले भने, ‘त्यसैले बाध्य भएर हामीले अर्को नामावली पठाएका छौँ।’

डोटीमा पनि प्रतिनिधि छनोटमा विवाद हुँदा दुई समूहका अलग-अलग नामावली पठाइएको छ।

जिल्ला अध्यक्ष मञ्जु मलासीसहितको समर्थनमा जारी गरिएको सूचीमा प्रदेश सभा सदस्य चक्र मल्ल, जोरायल गाउँपालिका अध्यक्ष दुर्गादत्त जोशी स्वयं अध्यक्ष मलासीको नाम छ। 

यस्तै डम्बरसिंह डौडी, हस्तबहादुर बुढा र लक्ष्मण मलासी, महिला तथा दलिततर्फ मञ्जु मलासी, लक्ष्मीदेवी मल्ल, सीता विक, धनबहादुर नेपाली र युवातर्फ बम बहादुर बमको नाम प्रतिनिधिमा सिफारिस गरिएको छ।

जिल्ला पार्टी सचिव पदमराज भट्टले अर्को सूर्ची सार्वजनिक गर्दै प्रदेश कमिटीमा पठाएका छन्। त्यसमा सचिव भट्टसहित दीर्घराज बोगटी, सच्चिदानन्द जोशी, शेरबहादुर मल्ल, खेमबहादुर घर्ती, दीपेन्द्र बहादुर खड्का, रूपा कठायत, लक्ष्मी मल्ल, शान्ति चुनारा र धनबहादुर नेपाली छन्।

जिल्ला अध्यक्ष मलासी र सचिव भट्टबीच प्रतिनिधि छनोटमा चर्को मतभेद देखिएको हो।

यस्तै बैतडीमा निर्विरोध प्रतिनिधि छनोटको बहानामा एकलौटी गरिएको भन्दै विवाद भएको छ। प्रतिनिधि छनोटमा रोकिएका पञ्चेश्वर गाउँपालिकाका अध्यक्ष गोरखबहादुर चन्दले पार्टी नै त्यागेको घोषणा गरेका छन्।

महाधिवेशन प्रतिनिधिका आकांक्षी चन्दलाई प्रतिनिधि बन्नबाट रोकिएको थियो। त्यसपछि असन्तुष्ट उनले फेसबुकमा बैतडीबाट प्रतिनिधित्व गर्ने एमाले नेता दामोदर भण्डारी र लीलाधर भट्टविरुद्ध चर्को आलोचना गरिरहेका छन्।

२०४७ सालमा एमालेमा आबद्ध भएका चन्द शिक्षण छाडेर राजनीतिमा होमिएका थिए। पञ्चेश्वर गाउँपालिकामा चन्द दुई कार्यकाल अध्यक्ष पदमा चुनिएका थिए। 

जिल्ला नेतृत्वले यहाँका जनप्रतिनिधि र  पार्टी कार्यकर्ताबीच द्वन्द्व सिर्जना गराएर पालिकाले चाहेको काम गर्न नदिएको आरोप उनले लगाए। 

‘मेरो लोकप्रियता, भूगोल र हाइटले छटपटाएर अनेकौ जालझेल र तानाबाना बुनिरहे। पार्टीबाट निष्कासन गर्ने दुष्प्रयसा पनि भए। पार्टी प्रतिनिधि हुन नदिने त्यसैको उदाहरण हो,’ उनले लेखेका छन्।

एमालेभित्रको चरम गुटबन्दी, चाकरी चापलुसी झोले प्रवृत्तिले उकुसमुकुस हुने गरेको आरोप लगाउँदै उनले निरंकुशताविरुद्ध लडे पनि नसकेको निराशा व्यक्त गरेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad