सुदूरपश्चिमका नवनियुक्त मुख्यमन्त्री कमलबहादुर शाहले शुक्रबार पद तथा गोपनीयताको शपथ खाँदै छन्।
संविधानको धारा १६८ को उपधारा ३ बमोजिम प्रदेश सभाको सबैभन्दा ठूलो दल कांग्रेसको संसदीय दलको नेताको हैसियतले बिहीबार साँझ मुख्यमन्त्री बनेका शाहले शुक्रबार पद तथा गोपनीयताको शपथ खान लागेका हुन्। तर कति बजे शपथ खाने भनेर समय एकिन भइसकेको छैन।
नवनियुक्त मुख्यमन्त्रीको पद तथा गोपनीयताको शपथ कार्यक्रम शुक्रबार हुने प्रदेश प्रमुखको कार्यालयका निमित्त सचिव शैलेशराज ढुंगानाले बताए।
‘समय एकिन भइसकेको छैन, मुख्यमन्त्री र प्रदेश प्रमुख ज्यू छलफलमै भएकाले सम्भवतः दिउँसो ३ बजेपछि शपथ हुनसक्छ,’ उनले भने।
सत्तामा पुगेपछि मुख्यमन्त्री सँगै केही मन्त्री पनि नियुक्त गरेर शपथ खुवाउने तयारी कांग्रेसले गरेको छ।
‘मुख्यमन्त्रीज्यूले आजै शपथ लिनुहुन्छ, कति बेला शपथ लिँदा उचित हुन्छ भनेर साइत जुराउँदै हुनुहुन्छ,’ कांग्रेसका एक नेताले भने।
नेकपा एमालेका राजेन्द्रसिंह रावलले विश्वासको मत जुटाउन नसक्दा बिहीबार मुख्यमन्त्रीबाट हटेका थिए। मुख्यमन्त्री नियुक्त हुँदा समर्थन गरेको नागरिक उन्मुक्ति पार्टीले रावललाई विश्वासको मत नदिँदा एमाले नेतृत्वको सरकार एक महिनामै ढलेको हो।
संविधानको धारा १६८ को उपधारा २ अनुसार नियुक्त मुख्यमन्त्री रावलले विश्वासको मत नपाएपछि धारा ३ सक्रिय भएर कांग्रेस सत्तामा पुगेको छ। नवनियुक्त मुख्यमन्त्री शाहले पनि एक महिनामा विश्वासको मत लिइसक्नु पर्छ।
Shares

प्रतिक्रिया