ad ad

सुदूरपश्चिम


विश्वासको मतअघि काठमाडौंमा उन्मुक्तिका सांसद, जोगिएला सुदूरपश्चिम सरकार?

विश्वासको मतअघि काठमाडौंमा उन्मुक्तिका सांसद, जोगिएला सुदूरपश्चिम सरकार?

गोकुल जोशी
माघ २४, २०७९ मंगलबार १२:१६, कञ्चनपुर

सुदूरपश्चिम प्रदेशसभाको बैठक बिहीबार बिहान ११ बजेका लागि तोकिएको छ। मुख्यमन्त्री राजेन्द्र सिंह रावलले विश्वासको मत लिने कार्यसूची रहेको सुदूरपश्चिम प्रदेशसभा सचिवालयका प्रवक्ता नरेन्द्रबहादुर कुँवरले बताए।

प्रदेशसभा सभामुख र उपसभामुख चयनपछि पहिलोपटक बैठक बस्न लागेको हो। माघ ३ मा सभामुख र उपसभामुख चयन भएपछि माघ ११ गते प्रदेशसभा बैठक तोकिएको थियो।

मुख्यमन्त्री रावललाई विश्वासको मतको वातावरण नबनेपछि सो दिन बैठक बस्नै सकेन। त्यसपछि अनिश्चित बनेको बैठक करिब तीन सातापछि बस्दै छ। 

२७ पुसमा माओवादी केन्द्रका ११, नागरिक उन्मुक्तिका ७ र राप्रपाका १ सहित २९ सांसदको समर्थनमा एमाले संसदीय दलका नेता राजेन्द्र सिंह रावल मुख्यमन्त्री बनेका हुन्। 

सत्ता साझेदार नागरिक उन्मुक्ति पार्टीको अडानले मुख्यमन्त्री रावलले एक महिना पुग्नै लाग्दा पनि न विश्वासको मत लिन सकेका छन् न मन्त्रिमण्डल विस्तार नै गर्न सकेका छन्।

मुख्यमन्त्री भएको एक महिनाभित्र प्रदेशसभाबाट विश्वासको मत लिइसक्नुपर्ने संवैधानिक व्यवस्था छ। विश्वासको मत लिने समयावधिको उत्तराद्र्धमा मुख्यमन्त्री रावलले विश्वासको मत लिने तयारी गरेका छन्।

आफ्ना सांसदहरूलाई धनगढी नछाड्न एमाले लगायत सत्तारुढ दलहरूले सर्कुलर जारी गरिसकेका छन्।

सत्ता साझेदार दल नागरिक उन्मुक्ति पार्टीले भने विश्वासको मत दिने/नदिने अझै निर्णय गरेको छैन। नागरिक उन्मुक्तिका सांसद विश्वासको मतअघि राजधानी काठमाडौं गएका छन्।

उनीहरूले डिल्लीबजार कारागारमा रहेका उन्मुक्तिका संरक्षक रेशम चौधरीलाई भेट्ने र त्यसपछि विश्वासको मतबारे निर्णय लिने तयारी गरेका छन्।

टीकापुर घटनामा दोषी ठहर भई जेल जीवन बिताइरहेका चौधरीको रिहाइ माग नागरिक उन्मुक्तिले सशक्त ढंगले अगाडि सारेको छ। 

माग सम्बोधनका लागि आश्वासन मात्रै पाएको नागरिक उन्मुक्तिका सांसदहरूको गुनासो छ। विश्वासको मतका लागि वातावरण बनाउन मुख्यमन्त्री रावल यसबीच दुईपटक राजधानी काठमाडौँ पुगिसकेका छन्।

पहिलोपटक नागरिक उन्मुक्तिका सांसदसहित गठबन्धनका प्रदेशस्तरीय शीर्ष नेतृत्व लिएर काठमाडौं गएका बेला प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेटेका थिए।

यस्तै, आफ्नो प्रतिनिधिका रूपमा एमाले नेता झपड बोहरालाई डिल्लीबजार कारागार पठाएर रेशम चौधरीसँग विश्वासको मतबारे छलफल गरेका थिए। कैदी चौधरीले विश्वासको मतका लागि ‘ग्रिन सिङ्गनल’ दिएका थिए। 

त्यसपछि गृहप्रदेश फर्किएर मुख्यमन्त्री रावलले विश्वासको मत लिन सकेनन्। फेरि दोस्रोपटक रावल काठमाडौँ गएका बेला नागरिक उन्मुक्तिका प्रतिनिधि सभा सांसद अरुणकुमार चौधरीलाई ट्याक्टर आगजानी मुद्दामा प्रहरीले नियन्त्रणमा लिएपछि उन्मुक्ति सत्तारुढ गठबन्धनसँग चिढिएको छ। 

उसले सांसद अरुणकुमार चौधरीको रिहाइको माग पनि चर्काउँदै नभए सरकारलाई दिएको समर्थन फिर्ता लिने चेतावनी दिएको थियो। 

यस क्रममा बिहीबार मुख्यमन्त्री रावलले विश्वासको मतको तयारी गरेपछि नागरिक उन्मुक्ति मत दिने÷नदिनेबारे अझै निर्णय गर्न सकेको छैन। 

डिल्लीबजारको निर्णयअनुसार आफूहरू अगाडि बढ्ने नागरिक उन्मुक्तिका एक सांसदले बताए।

सर्वोच्च अदालतमा विचाराधीन टीकापुर घटनासम्बन्धी मुद्दामा सर्वोच्च अदालतले केही दिनअघि मात्रै विपक्षीलाई झिकाउन आदेश दिएको छ। 

योसँगै नागरिक उन्मुक्तिको माग सम्बोधनको चरणमा गएकाले सत्ता साझेदार उन्मुक्तिले एमाले नेतृत्वको प्रदेश सरकारलाई विश्वासको मत दिने नेकपा एमालेका सांसदहरूको जिकिर छ।

‘नागरिक उन्मुक्ति पार्टीले उठाइरहेको रेशम चौधरीजीको रिहाइको मुद्दा अदालतमा विचाराधीन छ, अदालतले प्रक्रिया अगाडि बढाएको छ’, नेकपा एमालेका सांसद धर्मराज पाठकले भने, ‘अहिले सत्ता गठबन्धनका पक्षमा उहाँहरूले मतदान गर्नुहुन्छ भन्ने हामी विश्वस्त छौँ।’

५३ प्रदेशसभा सदस्य रहेको सुदूरपश्चिममा सरकार गठनका लागि २७ सांसद आवश्यक पर्छन्। नेकपा माओवादी केन्द्र ११ (सभामुख), नेकपा एमाले १० (उपसभामुख), नागरिक उन्मुक्ति ७ र राप्रपा १ गरेर सत्तारुढ गठबन्धनका पक्षमा २९ सांसद छन्।

प्रदेशसभाको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसका १९, नेकपा एकीकृत समाजवादी ४ र एक जना स्वतन्त्र सांसदसहित सत्ता बाहिर २४ सांसद छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .