सुदूरपश्चिम


भारी हिमपातले सुदूरपश्चिमका पहाडी जिल्लामा राजमार्ग र विद्युत् ठप्प

भारी हिमपातले सुदूरपश्चिमका पहाडी जिल्लामा राजमार्ग र विद्युत् ठप्प

हिमपातले सेताम्मे सुदूरपश्चिम पहाड। तस्बिर : रासस


नेपालखबर
माघ १०, २०८२ शनिबार १३:२६, बैतडी

भारी हिमपातका कारण सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाका राजमार्ग अवरुद्ध भएका छन्।

बैतडीको नारखोली, खोडपे, श्रीभावर, सतबाँझ, देहिमाडौँ क्षेत्रमा हिमपात हुँदा दशरथचन्द राजमार्ग र जयपृथ्वी राजमार्ग गएरातिदेखि नै अवरुद्ध भएका हुन्।

रातिदेखि नै राजमार्ग अवरुद्ध हुँदा सवारी आवागमन पूर्ण रूपमा ठप्प रहेको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक सुरज सिंहले जानकारी दिए।

हिमपातले राजमार्ग अवरुद्ध हुनाका साथै विद्युत् सेवा पनि बन्द भएको छ।

उनले भने, ‘रातिको भारी हिमपातले राजमार्ग र विद्युत् सेवा ठप्प छ। पुनः सञ्चालनका लागि पहल थालिएको छ।’

यस्तै डडेल्धुराको साहुखर्क, हगुल्टेलगायत क्षेत्रमा हिमपात हुँदा भीमदत्त राजमार्ग पनि ठप्प रहेको प्रहरीले जनाएको छ।

शुक्रबार बेलुकादेखि नै बैतडीसहित दार्चुला, बझाङ, डोटी, डडेल्धुराका उच्च लेकाली भेगमा वर्षासँगै हिमपात भएको छ।

यो वर्ष पहिलोपटक हिउँदे वर्षा र हिमपात भएपछि किसान भने खुसी भएका छन्।

गएको चार महिनादेखि वर्षा नहुँदा यहाँका हिउँदे बाली सुक्दै गएका थिए।

हिमपात र वर्षा भएपछि किसानहरू बाली सप्रिने भन्दै खुसी भएका हुन्।

हिमपातका कारण अत्यधिक चिसो बढेपछि यहाँको जनजीवन कष्टकर भएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad