सुदूरपश्चिम


रञ्जिताले नेकपामा पार्टी विलय गराएपछि रनभुल्लमा नाउपा सुदूरपश्चिमका सांसद

रेशम एकातिर-रञ्जिता अर्कैतिर, ‘ढकिया’ नछोड्ने मनस्थितिमा प्रदेश सभा सदस्य
रञ्जिताले नेकपामा पार्टी विलय गराएपछि रनभुल्लमा नाउपा सुदूरपश्चिमका सांसद

गोकुल जोशी
पुस १८, २०८२ शुक्रबार २०:५, कञ्चनपुर

१४ पुसमा नेपाली कम्युनिष्ट पार्टी र रञ्जिता श्रेष्ठ नेतृत्वको नागरिक उन्मुक्ति पार्टीबीच पार्टी एकीकरण भयो। १० बुँदे सहमति गर्दै नाउपा नेकपामा मिसिएको हो। 

चुनाव चिह्न तारा रहेको नेकपामा मिसिएसँगै ०७९ को आम चुनावमा उदाएको नाउपाको चुनाव चिह्न ‘ढकिया’ बिलाएको छ। सुदूरपश्चिम प्रदेश सभामा ‘ढकिया’ चुनाव चिह्नबाट जितेका नाउपाका ७ सांसद छन्। 

एकीकरणपछि दुवै पार्टीका तीनै तहका जनप्रतिनिधि नेपाली कम्युनिष्ट पार्टीमा समाहित हुने सहमतिमा उल्लेख छ। 

पतिपत्नी समेत रहेका नाउपा संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठ र संस्थापक संरक्षक रेशमलाल चौधरीबीचको विवाद चर्किएर उनीहरूको राजनीतिक सहयात्रा सँगै अघि बढ्न सकेन। 

जेलमा हुँदा गठन गरेको नाउपाबाट चोइटिएर रेशमकै सक्रियतामा नागरिक उन्मुक्ति पार्टी, नेपाल गठन गरेर त्यहीमार्फत अहिले राजनीतिक कार्यक्रममा देशदौडाह गरिरहेका छन्, उनी।

रञ्जिता नाउपालाई लिएर नेकपामा समायोजन हुनु र रेशम अर्कै पार्टीमा सक्रिय भएपछि ‘ढकिया’ चुनाव चिह्न लिएर जितेका नाउपाका सांसद भने बिलखबन्दमा परेका छन्। 

नाउपा सुदूरपश्चिम संसदीय दलका नेता धनश्याम चौधरी आफूहरूलाई पार्टी एकीकरणको बारेमा आधिकारिक जानकारी नआएको बताउँछन्। 

‘हामीलाई आधिकारिक पत्र आएको छैन। पार्टीले दुई तिहाई लिएर गर्‍यो कि २/४ जनाले मात्रै हावा तालमा एकीकरण गरे? त्यो भोलि थाहा होला नै,’ उनी भन्छन्, ‘हामी ढकियाबाट चुनाव जितेका हौँ। त्यहीँ छौँ।’

संवैधानिक व्यवस्थाअनुसार कानुनबमोजिम भएको दल एकीकरणलाई दल त्याग गरेको मानिँदैन। राजनीतिक दल सम्बन्धी ऐन, २०७३ का अनुसार दर्ता भएर एकीकृत दलमा आबद्ध सांसदहरूको हैसियत यथावत् रहन्छ।

दल एकीकरणलाई निर्वाचन आयोगले प्रमाणीकरण गर्नुपर्ने व्यवस्था छ। आयोगको निर्णयपछि मात्र संसद सचिवालयले सांसदहरूको दल अभिलेख अद्यावधिक गर्ने गर्छ। 

कैलालीको निर्वाचन क्षेत्र १ को प्रदेश सभा १ बाट निर्वाचित नाउपाका सांसद कैलाश चौधरी पनि आफू ‘ढकिया’बाट निर्वाचित भएकाले चाहेर पनि चुनाव चिह्न छोड्न नसक्ने बताउँछन्। नेकपासँगको पार्टी एकीकरणमा पार्टीभित्र विरोध नरहेको उनको दाबी छ।

‘एकीकरणमा विरोध हो भने त हामी यसमा राजी छैनौँ भनेर बहुमत साथीहरू आउनु पर्ने हो। तर यस्तो छैन। पार्टीले गरेको निर्णय मान्नु बाहेक अर्को विकल्प छैन,’ उनले भने। 

नाउपा सांसद इन्दिरा गिरी रञ्जितासँगै पार्टी एकीकरणको पक्षमा छन्। उनले अन्य ६ सांसद पनि पार्टी एकीकरणकै पक्षमा रहेको दाबी गरिन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad