कञ्चनपुरमा ट्याक्टर र मोटरसाइकल आपसमा ठोकिँदा एक जनाको मृत्यु भएको छ भने अर्का घाइते भएका छन्।
प्रहरीका अनुसार शुक्रबार साँझ शुक्लाफाँटा नगरपालिका-५, बनसमितीमा भएको दुर्घटनामा मोटरसाइकल चालक स्थानीय ४५ वर्षीय गुड्डु विकको मृत्यु भएको हो।
ट्याक्टरसँग ठोकिएर टाउको र खुट्टामा गम्भीर चोट लागी गम्भीर घाइते भएका विकलाई महाकाली अस्पताल लगिएको थियो। तर उपचारका क्रममा उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक राजेश बस्नेतले जानकारी दिए।
दुर्घटनामा घाइते भएका मोटरसाइकलमा पछाडि बसेका वीरराम पोखरेल भने झलारीस्थित टी एन्ड सी अस्पतालमा उपचाररत छन्।
प्रहरी निरीक्षक बस्नेतका अनुसार म १ त ९३१ नम्बरको ट्याक्टर र सुपप्र ०२००४ प २६८८ नम्बरको मोटरसाइकल आपसमा ठोकिएका हुन्।
ट्याक्टर र चालक लालझाडी गाउँपालिका-३ का २६ वर्षीय वीरेन्द्र रानालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
Shares

प्रतिक्रिया