कञ्चनपुर कारागारमा कैदीबन्दीबिच झडप हुँदा तनावग्रस्त बनेको छ।
कारागारको आन्तरिक प्रशासनप्रति असन्तुष्ट कैदीबन्दी शुक्रबार नाराबाजीका साथै कुटपिटमा उत्रिएका छन्।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी सागर बोहराका अनुसार झडप हुँदा ८ जना बन्दी घाइते भएका छन्।
कैदी किरन सिंह, दिनेश कुँवर, करन कुँवर, राजेन्द्र सुनार, सन्दीप भण्डारी, मदन गिरी, जनक खडका र रोशन शाही घाइते भएका छन्। उनीहरुको महाकाली प्रादेशिक अस्पतालमा उपचार भइरहेको डीएसपी बोहराले बताए।
उनीहरू कोही चौकीदार, सहनाइके त कोही बन्दी छन्। कारागारको आन्तरिक प्रशासनका चौकीदार, नाइके लगायतको समूह र अन्य कैदी बन्दीको समूहबिच शुक्रबार दिउँसोदेखि सुरु भएको विवाद झडपमा परिणत हुँदा कारागार तनावग्रस्त बनेको हो।
कञ्चनपुर कारागार प्रशासनका अनुसार चौकीदार तथा नाइकेहरुले समयमा खाना नदिने, विभिन्न भत्ताहरु पनि नदिने र सिजन अनुसार पाउने लुगा कपडा समेत नदिने गरेको कैदीहरुले आरोप लगाएका छन्।
कैदी बन्दीका निवेदनहरु पनि कारागार प्रशासनमा पुर्याउन कैदी बन्दीबाट पैसा लिने गरेको आरोप बन्दीहरुले लगाएका छन्।
अदालतमा जानका लागि वा अन्य काम देखि कैद छुटसँगै एक वर्षभन्दा कम कैद सजाय बाँकी रहेकाहरुको हकमा पैसा तिरेर कैद खरिद गर्ने लगायतका कामका लागि कैदी बन्दीले निवेदन दिनुपर्ने हुन्छ। तर चौकीदार र नाइकेहरुले उक्त निवेदनहरुका लागि १५/२० हजारसम्म लिने गरेको आरोप छ।
नाइके र चौकीदारहरुले कैदी पाउने भत्ता समेत नदिने गरेको आरोप छ। कैदीले दैनिक ७ सय ग्राम चामल, ८० रुपैयाँ भत्ता, जाडो र गर्मीमा एक÷एक जोर लुगाका लागि भत्ता पाउँछन्।
कैदीबन्दीहरुले चौकीदार र नाइकेको सरुवा गरिनुपर्ने, उनीहरूलाई कारबाही हुनुपर्ने माग राखेका छन्। कारागारभित्र उनीहरुले नाराबाजी गरिरहेका छन्।
१ सय ४० जना बन्दी क्षमताको कारागारमा अहिले १७ महिला सहित ३ सय ८४ जना कैदी छन्।
Shares

प्रतिक्रिया