विश्व रामसार सूचीमा सूचीकृत यहाँको घोडाघोडी ताल, चिसापानी र टीकापुर उद्यानलगायतका पर्यटकीयस्थलहरु हिजोआज आन्तरिक पर्यटकले भरिभराउ छन्।
घोडाघोडी ताल क्षेत्रमा प्रवेश गर्न घोडाघोडी सामुदायिक वनले प्रतिव्यक्ति रु १० शुल्क लिने गरेको छ। ताल घुम्नका लागि केही दिनयता दैनिक दुई हजार बढी पर्यटक आउने गरेको घोडाघोडी सामुदायिक वनका अध्यक्ष दीपक शाहले जानकारी दिए। टीकापुर कर्णालीलगायतका क्षेत्रमा वनभोजका लागि आउनेहरु पनि घोडाघोडी ताल घुम्न आउने गरेको उनले बताए।
पहिलेभन्दा यस ताल आसपासमा धेरै परिवर्तन भएको सल्यानबाट घुम्न आउनुभएका महादेव गिरीले बताए। ‘वनभोजका लागि टीकापुर आएका थियौँ’, उनले भने, ‘एकछिन पुगौँ न त भनेर यहाँ पनि आयौँ। घुम्न, रमाउन र फोटो खिच्न निकै रमणीय स्थान बनेको रहेछ।’
चाडबाडको लामो बिदा भएकाले पनि यहाँका पर्यटकीय गन्तव्यहरूमा पर्यटकको चहलपहल बढेको हो। यहाँ स्थानीय ‘फोटोग्राफर’ले पनि राम्रो आम्दानी गर्न थालेका छन्। घोडाघोडीमा २० भन्दा बढी फोटोग्राफर छन्। ‘तिहारपछि दिनको रु तीन हजार ५०० देखि पाँच हजारसम्म आम्दानी गरिरहेको छु’, फोटोग्राफर प्रेम शाहले भने।
घोडाघोडी तालसँगै जोडिएको ओजुवातालले पनि पर्यटकलाई आकर्षित गरेको छ। घोडाघोडीमा पर्यटकका लागि पैदलमार्ग निर्माण गरिएका छन्। घोड सवारसँगै ढुङ्गामा सयर गर्न पनि पाइन्छ।
त्यसैगरी जिल्लाको चिसापानीमा पनि हाल दैनिक एक हजार बढी पर्यटक आउने गरेका छन्। कर्णाली नदी र पुल यहाँको आकर्षणको केन्द्र बनेको छ। कर्णाली पुलमा फोटो खिच्ने, टिकटक बनाउनेको भीड लाग्ने गरेको छ।
Shares

प्रतिक्रिया