सुदूरपश्चिम


सधैँ बाढीको त्रासमा दोधारा चाँदनी, स्थानीय भन्छन्- राहत होइन स्थायी तटबन्ध चाहियो

सधैँ बाढीको त्रासमा दोधारा चाँदनी, स्थानीय भन्छन्- राहत होइन स्थायी तटबन्ध चाहियो

गोकुल जोशी
भदौ २२, २०८२ आइतबार १८:९, कञ्चनपुर

कञ्चनपुको दोधारा चाँदनी ३ पटेरा खल्लाका गोपाल सुनारको १३ जनाको परिवार छ। जोगबूढा नदी छेउमै उनको घर छ। 

गत साता बस्ती पसेको जोगबूढाको बाढीले उनको घर डुब्यो। बाढीले विस्थापित गोपाल सुनारले परिवारका सदस्य जुमना आधारभूत विद्यालय लगेर ओत लागे।

चार दिन विद्यालयमा बास बसेका उनीहरू डुबान कम हुँदै गएपछि घर फर्किएर सामान्य दैनिकीमा फर्किएका छन्। तर उनीहरूलाई बाढीको त्रासले भने छोडेको छैन।

‘वर्षात्‍मा जहिल्यै बाढी र डुबानले सताउँछ। अघिल्लो वर्ष अन्न, लत्ताकपडा सबै बाढीले लग्यो। यसवर्ष भने सरसामान आफन्त कहाँ राखिसकेका थियौँ,’ गोपाल सुनारले भने, ‘त्यसैले सामान जोगियो। जोगबूढामा स्थायी तटबन्ध नहुँदा जहिल्यै यो समस्या भोग्नुपर्छ।’

पटेरा खल्लाकै शंकरसिंह भण्डारी जोगबूढा नदीमा पानी बहाब बढ्ने बितिक्कै गतवर्षको बाढी वितण्डा सम्झन्छन्। पानी पर्नासाथ बाढीको त्रासले सुत्न नसक्ने उनी बताउँछन्। यसवर्ष पटराखल्लामा जोगबूढा नदीको केही भागमा तटबन्ध निर्माण गरिएको छ। 

‘यो तटबन्धले गर्दा नदीमाथिबाट सिधै गाउँ पसेन। तल ह्युमपाइप भत्काएर बाढी गाउँ पस्यो। सबैतिर पक्की तटबन्ध भए बाढीले सताउने थिएन,’ उनले भने, ‘हाम्रो त्यो सपना कहिले पूरा होला?’

चक्रबहादुर शाही कालिकोटको तिलागुफा नगरपालिकाबाट पहिरोका कारण विस्थापित भए। एक दशकअघि उनी पटेरा खल्ला आएका थिए। शाही अहिले बाढीका कारण वर्षेनी त्रसित छन्। ‘पहाडमा पहिरोले दुःख दियो, तराईमा बाढीले,’ उनले भने, ‘गरिबका लागि जहाँ गएपछि दुःख मात्रै।’

पटेरा खल्लामा ४० बढी परिवारको बसोबास छ। बस्तीमा बाढी पसेपछि सबै नजिकैको विद्यालयमा आश्रय लिन्छन्। कतिपय आफन्त र छिमेकीको घरमा जान्छन्। 

गत साता जोगबूढा नदीमा आएको बाढीले दोधारा चाँदनीका ५२ परिवार विस्थापित भए। केही दिन विद्यालयमा आश्रय लिएर बसेका उनीहरू अहिले घर फर्किएका छन्। 

यसवर्ष दोधारा चाँदनीको पटेरा खल्ला, सुन्दरनगर, कञ्जभोज, जर्का टोली, शान्ति टोल लगायतका क्षेत्रका स्थानीय बाढीले बढी प्रभावित बने। जोगबूढा नदीको बाढीले उनीहरूलाई वर्षेनी सताउने गरेको छ।

दोधारा चाँदनी महाकाली नदी र जोगबूढा नदीले घेरिएको छ। आक्रोशित बाढी प्रभावित स्थानीय आन्दोलनमा नै उत्रिएका छन्। 

जोगबूढा नदीको डुबानमा परेर विस्थापित भएकाहरूले बोरामा पिठो चामल बोकेर सांकेतिक रुपमा नगरपालिकालाई राहात दिए। 

‘यो एक बोरा चामल हामीलाई चाहिएन, नदी किनारमा पक्की तटबन्ध बनाइदिनुपर्‍यो,’ दोधारा चाँदनी–८ जर्गा टोलकी यमुना मगरले भनिन्, ‘आकाशबाट पानी झर्नेबितिक्कै हामीले जहिल्यै विस्थापित हुनुपर्ने, पक्की तटबन्ध बनाएर यसबाट मुक्ति दिनुपर्‍यो।’

उनीहरूले ‘हामीलाई राहत होइन, तटबन्ध चाहियो’ उल्लेखित ब्यानर लिएर आन्दोलन गरिरहेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad