कञ्चनपुरको दोधारा चाँदनीमा सशस्त्र प्रहरीको बीओपी डुबानमा परेको छ। जोगबुढा नदीको पानी बस्ती पस्दा दुई बीओपी पनि डुबानमा परेका छन्।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार दोधारा चाँदनी नगरपालिका १० सुन्दरनगर र दोधारा चाँदनी ७ कञ्चभोजको बिओपी डुबानमा परेको हो।

डुबानपछि सुन्दरनगरको बीओपीमा कार्यरत २३ जनालाई सोही ठाउँको ओमकार आधारभूत विद्यालय र कञ्चभोजमा कार्यरत ३० जनालाई सहरी खोप केन्द्र भवनमा सारिएको छ।
‘लगातारको वर्षाले डुबान बढ्न सक्ने भएकाले पूर्वतयारी स्वरुप त्यहाँबाट सुरक्षित स्थानमा सारिएको छ,’ शैलेश्वरी ३५ नम्बर गणका एसपी लोकेन्द्र भट्टले भने।

डुबान प्रभावित स्थानीयलाई सशस्त्र प्रहरी लगायत सुरक्षाकर्मीले सुरक्षित स्थानमा सारिरहेको उनले बताए।
५२ परिवार प्रभावित
आइतबारदेखिको अविरल वर्षापछि ५२ परिवार डुबानबाट प्रभावित बनेका छन्।
दोधारा चाँदनी १० शान्ति टोलका डुबान प्रभावित १२ घरपरिवारका ४० जनालाई उद्धार गरिएको छ। उनीहरुलाई दोधारा चाँदनी–९ स्थित अम्बिका माध्यमिक विद्यालयमा सारिएको छ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार डुबानका कारण दोधारा चाँदनी र भीमदत्त नगरपालिका थप ४५ परिवार प्रभावित भएका छन्।
दोधारा चाँदनी नगरपालिका– ८ रामपुरे टापु र जर्गा टोलमा जोगबुढा नदीको पानी पसेको छ। डुबानले रामपुरे टापु र जर्गा टोलका २५ परिवारका ७० जना प्रभावित भएका छन्।
उनीहरूलाई उद्धार गरेर जनज्योति माध्यमिक विद्यालयमा सारिएको प्रहरीले जनाएको छ।

जोगबुढा नदीको डुबानले दोधारा चाँदनी–३ पटराखल्ला टोलको जनजीवन पनि प्रभावित बन्न पुगेको छ। जोगबुढा नदी पस्दा पटराखल्लाका १५ परिवारका ५५ जना विस्थापित भएका छन्।
उनीहरूलाई सर–समान र चौपायासहित जमुना आधारभूत विद्यालय जमुनाघाडीमा सारिएको छ।
भीमदत्त नगरपालिका–१० भुजेलास्थित सेन्सोरियल स्कुल डुवानमा परेको छ।

डुबानमा परेका भीमदत्त नगरपालिका–११ चौकीसत्ताका ५ परिवारलाई सुरक्षित स्थानमा सारिएको प्रहरीले जनाएको छ।
स्थानीय सेते लुहार, बसन्ती लुहार, गजीराम पोखरेल, मदन सिह भण्डारी र भिम बहादुर लुहारको घर डुबानमा परेको हो। घरको सरसामानसहित उनीहरुलाई सुरक्षित स्थानमा सारिएको प्रहरीले जनाएको छ।
महाकालीमा पानी बढ्दो
महाकाली नदीमा पानीको बहाब बढ्दो क्रममा छ। जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरका अनुसार महाकाली नदीमा पानीको बहाब बढेपछि चार पाङ्ग्रे र तीन पाङग्रे सवारी साधन आवतजावत बन्द गरिएको छ।

पछिल्लो अपडेटअनुसार महाकाली नदीमा पानीको बहाब दुई लाख क्युसेक नाघेको छ। महाकालीमा निरन्तर पानीको बहाब बढिरहेको हो।
महाकालीमा पानीको बहाब बढेपछि भीमदत्त नगरपालिका ११ गड्डाचौकीस्थित महाकाली नदीमा रहेको नेपाल–भारत जोड्ने बनबासा पक्की पुलमा ठूला सवारी साधन आवतजावत बन्द गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी सागर बोहराले बताए।
महाकाली नदीमा पानीको बहाब एक लाख क्युसेक नाघेपछि पुल जीर्ण हुँदा बनबासा पुल भएर हुने ठूला सवारी साधनको आवतजावतमा रोक लगाउने गरिन्छ।
भिडिओ

Shares

प्रतिक्रिया