इजरायलबाट प्लालेस्टाइनी विद्रोही समूह हमासले बन्धक बनाएका नेपाली विद्यार्थी विपिन जोशीका आमा पद्मा र बहिनी पुष्पा इजरायल गएका छन्।
विपिनको रिहाइका लागि अन्तर्राष्ट्रिय दबाब बढाउन आमा पद्मा र बहिनी पुष्पालाई इजरायलले आफ्नो देश लगेको हो।
उनीहरू सोमबार इजरायलतर्फ उडेका छन्। विपिनकी आमा पद्मा र बहिनी पुष्पा एक महिनाअघि नै काठमाडौं गएका थिए।
‘सिक्दै कमाउँदै’ कार्यक्रममा इजरायल गएका विपिन वि.सं. २०८० असोज २० गते शनिबारदेखि परिवारको सम्पर्कमा छैनन्। युद्ध सुरुको भएको केही समयपछि इजरायल सुरक्षा फौज आईडीएफले बन्धक अवस्थाका विपिनलाई हमास लडाकुले स्थानान्तरण गर्दै गरेको भिडिओ सार्वजनिक गरेको थियो।
त्यसपछि विपिनबारे कुनै जानकारी आएको छैन। ‘लर्न एन्ड अर्न’ कार्यक्रमअन्तर्गत सुदूरपश्चिम विश्वविद्यालयअन्तर्गत टीकापुर कृषि क्याम्पसका ४९ जना विद्यार्थी ०८० भदौ अन्तिम साता इजरायल गएका थिए।
हमासको आक्रमणमा परेर इजरायलमा १० नेपाली विद्यार्थी मारिएका थिए। हमासले फालेको ‘ग्रिनेड’ अर्कोतर्फ फालेर नेपाली विद्यार्थी जोगाउने विपिनलाई हमासले बन्धक बनाएर लगेको थियो।
विपिनको उद्धारका लागि परिवारका सदस्यले कयौँपटक राष्ट्रपति, प्रधानमन्त्रीसहित उच्चपदस्थ व्यक्तिलाई भेटिसकेका छन्। सरकारले कूटनीतिक पहल जारी राखेको बताए पनि हालसम्म उपलब्धि देखिएको छैन।
Shares

प्रतिक्रिया