सुदूरपश्चिम


विवाहेतर सम्बन्धले निम्त्याएको घटना, मध्यरातमा चिर्पटले हानेर हत्या

विवाहेतर सम्बन्धले निम्त्याएको घटना, मध्यरातमा चिर्पटले हानेर हत्या

गोकुल जोशी
साउन ५, २०८२ सोमबार २१:१८, कञ्चनपुर

कञ्चनपुरको लालझाडी गाउँपालिका–४ जाई सिगलपट्टीका ४९ वर्षीय रामरेसर राना कृषि गर्थे। उनी काम गर्न भारत आउजाउ पनि गरिरहन्थे। गत वैशाख पहिलो साता भारतको चम्पावतबाट घर फर्किए। उनको घरमा श्रीमती, २ छोरा र एक छोरी छन्।

१६ वैशाखको बेलुकी उनले घरमा खाना खाएपछि साइकल लिएर निस्किए। राति घर नफर्किएका रामरेसर अर्को दिन बिहानै घरनजिकै सडक किनारमा मृत फेला परे। घटनास्थलमै उनको साइकल पनि थियो। रामरेसर माथिल्लो शरीरको कपडा थिएन।  

घटनाको सुक्ष्म अनुसन्धानमा जुटेको कञ्चनपुर प्रहरीले रामरेसरको हत्या भएको निष्कर्ष निकाल्यो। घटनामा ३ जनाको संलग्नता रहेको अनुसन्धानले देखाएको छ। बेलौरी नगरपालिका–४ का पुन्ना राना, लालझाडी गाउँपालिका–४ की माया चौधरी र मानमती चौधरीको घटनामा संलग्नता देखिएको प्रहरीको भनाई छ। 

विवाहेतर सम्बन्धका कारण उत्पन्न विवादपछि हत्या भएको खुलेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका एसपी खड्कबहादुर खत्रीले बताए।

उनका अनुसार पुन्ना ट्रयाक्टरमा मजदुरी काम गर्थे। उनको माया र मानमतीसँग भेटघाट र निरन्तर सम्पर्क पनि हुने गर्‍थ्यो। पुन्नाको मायासँग ०८१ मंसिरतिर चिनजान भएको थियो। मानमतीसँग ०८१ चैतमा बेलौरीको मैनाहमा भेट भएको थियो। त्यसपछि पुन्नाले आफ्नै नामको सीम कार्ड मानमतीलाई दिएका थिए।

माया र मानमती छिमेकी पनि हुन्। गत वैशाख १२ गते साँझ पुन्ना मायाको घरमा जान्छन्। केही समयमा भेटघाट गरी उनी फिर्ता हुन्छन्। फेरि वैशाख १६ गते पनि उनले बेलौरीमै रक्सी सेवन गरे। त्यसपछि अटो चढेर उनी राति साढे ९ बजे मानमतीको घर पुगे। केहीसमय भेटघाटपछि नजिकै रहेको मायाको घर गए, पुन्ना।

मायाका श्रीमान् घरमा थिएनन्। श्रीमान् कामको शिलशिलामा दीपायल थिए। बच्चाहरु सुतिसकेका थिए। पुन्ना र माया एउटै कोठामा थिए। केही समयपछि मायाको घरको ढोकामा बाहिरबाट कसैले ढक ढक गर्छ। मायाले ढोका खोलेर हेर्दा त्यहाँ रामरेसर हुन्छन्। 

मायाकाे कोठामा अर्कै लोग्नेमान्छे देखेपछि रामरेसनले विवाद गर्छन्। उनीहरूबीचको विवाद कुटाकुटमा परिणत हुन्छ।

माया र रामरेसरबीच आँगनमा झगडा भइरहेको थियो। माया चिच्याएपछि पुन्ना पनि कोठा बाहिर आए।

रामरेसरले पनि रक्सी सेवन गरेका थिए। पुन्ना र रामरेसरबीच पनि कुटाकुट हुन्छ। पुन्नाले बाँसको चिर्पटले रामरेसरको टाउकोमा हिर्काएपछि उनी ढले। त्यसपछि मानमती पनि घटनास्थलमा आएर शव व्यवस्थापन गर्न सघाइन्। 

तीनै जना मिलेर प्लाष्टिकमा रानाको शव बेरेर उनको घर नजिकै लगेर फाले। सँगै उनले चलाउने साइकल पनि फालेर पुन्ना, माया र मानमती घरतिर लागे। 

प्रहरीले शंकास्पदसँगको सोधपुछ तथा प्राविधिक पाटो केलाएर घटनालाई निष्कर्षमा पुर्‍याएको हो। मृतकका आफन्तले असार ३ गते उनीहरू तीनै जनाको नाममा किटानी जाहेरी दिएका थिए। प्रहरीले असार २० गते अनुसन्धानसहित जिल्ला सरकारी वकिल कार्यालयमा मिसिल बुझायो। 

जिल्ला अदालत कञ्चनपुरले असार २६ मा प्रतिवादी पुन्नालाई पुर्पक्षका लागि कारागार चलान गर्न आदेश गरेको छ। यस्तै, प्रतिवादीहरु माया र मानमतीलाई जनही एक लाख धरौटीमा छोड्न आदेश गरेको थियो। तर उनीहरू पनि धरौटी तिर्न नसकेपछि कारागार चलान भएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad