पूर्व पश्चिम महेन्द्र राजमार्गमा चल्ने सवारी साधनका चालकको लागुपदार्थ सेवन जाँच गरिएको छ।
स्वास्थ्य कार्यालय र महाकाली अस्पतालसंगको सहकार्यमा जिल्ला ट्राफिक प्रहरी कार्यालय कञ्चनपुरले चालकको लागुपदार्थ सेवन जाँच गरेको हो।
महेन्द्रनगर धनगढी रुटमा चल्ने चार पाङ्ग्रे सवारी साधनका चालकको लापसे जाँच गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक लक्ष्मण पचभैयाले बताए।
उनका अनुसार १० जनाको लापसे जाँच गर्दा ४ जना चालकले लापसे गरेर सवारी साधन चलाएको पाइएको छ। उनीहरूलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय पठाइएको छ।
उनीहरूले चलाएको गाडीमा सवार यात्रुलाई अर्को गाडीमा बसालेर गन्तव्यतर्फ पठाइएको प्रहरी निरीक्षक पचभैयाले बताए।
महेन्द्र राजमार्गमा सडक दुर्घटना बढ्दै गएपछि दुर्घटना न्यूनीकरण र लापसे गरेर सवारी साधन चलाउने कार्यलाई निरुत्साहित गर्न जाँच गरिएको हो।
‘नयाँ आर्थिक वर्षमा पहिलो पटक लापसे जाँच सुरु गरेका छौँ। यो अभियान निरन्तर जान्छ। मापस निरन्तर जाँच भएपनि किट अभाव हुँदा लापसे जाँच गर्न सकिदैन,’ प्रहरी निरीक्षक पचभैयाले भने, ‘किट महङ्गो हुनाले हामीसँग उपलब्ध छैन।’
उनका अनुसार स्वास्थ्य कार्यालयले उपलब्ध गराएको ५० किटबाटै अहिले जाँच भइरहेको छ।
Shares

प्रतिक्रिया