सुदूरपश्चिम


कञ्चनपुरमा ४८ प्रतिशत धान रोपाइँ, पर्याप्त वर्षा नहुँदा समस्या

कञ्चनपुरमा ४८ प्रतिशत धान रोपाइँ, पर्याप्त वर्षा नहुँदा समस्या

नेपालखबर
असार १६, २०८२ सोमबार १४:४८, कञ्चनपुर

कञ्चनपुरमा हालसम्म ४८ प्रतिशत धान रोपाइँ गरिएको छ। कृषि ज्ञान केन्द्र कञ्चनपुरका सहायक बाली विकास अधिकृत धर्म साउदका अनुसार जिल्लामा ४८ हजार ४९६ हेक्टर क्षेत्रफलमा धानखेती हुने गरेको छ। जसमध्ये २३ हजार २७८ हेक्टर क्षेत्रफलमा धान रोपिएको छ। वर्षा हुने क्रम जारी भएकाले अबको दुई साताभित्रै धान रोपाइँको कार्य ८० प्रतिशतसम्म सकिने उनले बताए।

धानको उत्पादन प्रतिहेक्टर चार मेट्रिक टन रहेको छ। किसानले विशेषगरी सर्जु ५२ जातको धानको खेती बढी गर्दै आएका छन्। त्यसपछि राधा ४, सुख्खा १ र २, बहुगुणी लगात धानको खेती हुने गरेको छ। सिँचाइको सुविधा पुगेका क्षेत्रमा चैते धानखेती हुन थालेकाले धानको उत्पादन प्रतिवर्ष बढ्दो रूपमा रहेको अधिकृत साउदको भनाइ छ।

वर्षा ढिलो गरी भए पनि सिँचाइको उपलब्धताले किसानले धान रोपाइँको कार्यलाई अगाडि बढाउँदै आएका छन्। महाकाली सिँचाइको सुविधा पुगेका क्षेत्रमा किसानले जेठको अन्तिम सातादेखि नै रोपाइँको कार्य गर्दै आएका छन्। नहर नभएका क्षेत्रमा किसानले असारको पहिलो सातादेखि नै स्यालो ट्युवेल, डिप ट्युवेलबाट सिँचाइ गरी खेत हिल्याएर रोपाइँको कार्य गर्दै आएका हुन्। 

भीमदत्त नगरपालिका, बेदकोट नगरपालिका, बेलडाँडी गाउँपालिका र बेलौरी नगरपालिकालगायतका केही क्षेत्रमा महाकाली सिँचाइको नहरबाट सिँचाइ सुविधा उपलब्ध छ।

अन्य क्षेत्रका किसानले निजी र अनुदानमा जडान गरिएका स्यालो ट्युवेल, डिप ट्युवेलबाट धान रोपाइँका लागि सिँचाइ गर्दै आएका छन्। सिँचाइको सुविधा नपुगेका आकासेपानीको भरमा रोपाइँ गर्ने किसानले समेत गएरातिदेखि आज बिहानसम्म परेको वर्षाको पानीबाट धान रोपाइँको कार्यलाई अगाडि बढाएका छन्।

शुक्लाफाँटा नगरपालिका–३ का किसान विलबहादुर चौधरीले पर्याप्त वर्षा नहुँदा स्यालो ट्युवेलको सहायताले खेतमा सिँचाइ गरी धान रोप्ने कार्य गरेको बताए। 

‘समयमै रासायनिक मल पायौँ,’ उनले भने, ‘अनुदानमा खेतमा स्याले ट्युवेल गाडेका छौँ, त्यसबाटै सिँचाइ गरी धान राप्ने कार्य गरिएको छ।’

लागत खर्च बढे पनि रोपाइँ समयमै भएकाले धानको उत्पादन बढ्नेमा आशावादी भएको उनको भनाइ छ। धानको बीउबिजन, विषादी, कृषि औजार मेसिनलगायतमा किसानलाई कृषि ज्ञान केन्द, पालिकालगायतले आधुनिक तरिकाले खेती गर्नका लागि किसानलाई अनुदान दिने कार्य गर्दै आएका छन्। किसानले हाल स्थानीय जातभन्दा बढी उत्पादन दिने वर्णशङ्कर (हाइब्रिड) जातका धान बढी रोप्ने गरेका छन्। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad