प्रेयसी
हिजोआज त म
प्रत्येक साँझ
मसान घाटतिर धाउन थालेको छु
जहाँ असंख्य
कविताका चिहानहरू छन्
जहाँ असंख्य
काला रातहरू लम्पसार छन्।
प्रेयसी
कविता नलेखेर
प्रत्येक दिन
टोलटोलमा चटक देखाउन थालेको छु
जहाँ लाटाहरू पनि छन्
जहाँ बाठाहरू पनि छन्
लाटाहरू लठ्ठ पर्छन्
बाठाहरू छक्क पर्छन्
कि एउटा कवि
किन चटक देखाउन थालेको छ?
र रहस्यमय अनुहारहरू
क्रमश :
हाजिर हुन आउँछन्
म अनुहार नबिग्रने गरी
तिनीहरूकै समर्थनमा
लाटाहरू अलि बाठा हुनलाई
बाठाहरू झन् बाठा हुनलाई
तिनीहरूले पत्तै नपाउने गरी
हस्ताक्षर गर्दै हिँड्ने गरेको छु
लाग्छ म मदारी हुँ
मलाई चटक देखाउन राम्ररी आउँछ।
प्रेयसी
हिजोआज त म
कविता नलेखेर
प्रत्येक बिहान
देवदेवीको मन्दिर धाउन थालेको छु (आस्थाले हैन, अवलोकन गर्न)
जहाँ अस्ताउनै लागेका जून घाम जस्ता
हजुरबा/हजुरआमाहरू प्रार्थनामा हुनु हुन्छ
जहाँ फक्रनै लागेका फूल जस्तै
अबोध बालबालिकाहरू
आफ्ना आमाका हात समाएर निस्फिक्री हिँडिरहेका हुन्छन्
जहाँ दिदीबहिनीहरू
भविष्य पुकारेर
भगवानसँग के वर माग्छन् कुन्नि?
जम्लाहात जोडिरहेका हुन्छन्
म
दृश्य हेरेर फर्कन्छु
आकाश
धरतीलाई ओत दिइरहेकै हुन्छ।
प्रेयसी
म व्यस्त छु
मलाई फुर्सदै कहाँ छ र?
प्रत्येक दिन
तिम्रो यात्रामा
सहयात्री बन्न आऊँ
प्रत्येक रात
तिमीसँग
जीवनशैलीका कथाहरू सुनाउन आऊँ।
प्रेयसी
हिजोआज त म
कहिले उकालीहरूमा
भरियासँगसँगै हिँड्ने गरेको छु
कहिले ओरालीहरूमा
कालापत्थर धाउने गरेको छु।
प्रेयसी
हिजो मात्रै तिम्रो पत्र पाएँ
पढेर झस्किएँ
तिमीले घरजमको कुरा लेखेकी रहिछौ
तिम्रो प्रेम अजम्बरी होला
बालापनका यादहरूले सताउँदा
तिम्रो फुर्के धागो समाई
कपाल कोरेको याद आउँछ
यादहरू नै जीवनको कथा रहेछ।
प्रेयसी
तिमी मायाप्रेमको मात्रै कुरा नगर
देश रोइरहेको छ
मैले देश हँसाउनु छ
आऊ मलाई साथ देऊ
म विद्रोह गर्दै
देश लुट्नेहरूसँग
बदला लिएर
तिमीलाई आत्मसात गर्ने छु।
Shares

प्रतिक्रिया