सुदूरपश्चिम


सुदूरपश्चिममा कृषि उब्जाउ भूमि घट्दै, उद्योगमा रोजगार १५ सयभन्दा कम

सुदूरपश्चिममा कृषि उब्जाउ भूमि घट्दै, उद्योगमा रोजगार १५ सयभन्दा कम

नेपालखबर
असार ५, २०८२ बिहिबार १६:३९, कञ्चनपुर

सुदूरपश्चिममा कृषि उपजले ढाकेको क्षेत्रफल घट्दै गएको छ। राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको सुदूरपश्चिमको आर्थिक वर्ष ०८१/०८२ को अर्धवार्षिक आर्थिक गतिविधि अध्ययनले पछिल्ला वर्षमा त्यस्तो क्षेत्रफल घट्दै गएको देखाएको छ।

जमिनको खण्डीकरण, युवाहरुको कृषि क्षेत्रप्रतिको विकर्षण तथा वैदेशिक रोजगारीको बढ्दो मोह, पहाडी तथा हिमाली भेगबाट शहरी क्षेत्रमा बसाई–सराई लगायतका कारणले कृषि उपजले ढाकेको भू–क्षेत्रमा गिरावट आएको प्रतिवेदनमा उल्लेख छ। 

समीक्षा अवधिमा प्रमुख कृषि बाली (खाद्य तथा अन्य बाली, तरकारी एवम् फलफूल तथा मसला) ले ढाकेको क्षेत्रफलमा २.८५ प्रतिशतले ह्रास आएको छ। गत वर्षको सोही अवधिमा यस्तो क्षेत्रफल ४.२५ प्रतिशतले ह्रास भएको थियो।

खाद्य तथा अन्य बालीले ढाकेको क्षेत्रफल ३.०७ प्रतिशतले घटेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो क्षेत्रफलमा ५.७५ प्रतिशतले ह्रास आएको थियो। 

समीक्षा अवधिमा मकै, कोदो, फापर, दलहन, र उखुको क्षेत्रफल क्रमशः ३.९७ प्रतिशत, ८.३७ प्रतिशत, १६६.६३ प्रतिशत, ६.४४ प्रतिशत र ०.४० प्रतिशतले वृद्धि भएको छ। 

धान, आलु, भटमास र तेलहनको क्षेत्रफल क्रमशः ३.२८ प्रतिशत, १३.५६ प्रतिशत, २.०८ प्रतिशत र २.१६ प्रतिशतले ह्रास आएको छ। खाद्य तथा अन्य बालीले ढाकेको क्षेत्रफलको ५२.६९ प्रतिशत भू–भागमा धान र १४.५२ प्रतिशतमा मकै खेती रहेको छ।

फलफूलले ढाकेको क्षेत्रफल २.७५ प्रतिशतले ह्रास आएको अध्ययनले देखाएको छ। मसला वालीले ढाकेको क्षेत्रफल ८.६२ प्रतिशतले ह्रास भएको छ भने मह घारको संख्या ५३.९४ प्रतिशतले वृद्धि भएको छ।

खाद्य तथा अन्य बालीले ढाकेको क्षेत्रफलमा कैलाली जिल्लाको हिस्सा सबैभन्दा बढी ३७.४० प्रतिशत रहेको छ भने बाजुरा जिल्लाको सबैभन्दा कम ३.२४ प्रतिशत छ। 

प्रमुख कृषि बाली (खाद्य तथा अन्य बाली, तरकारी एवम् फलफूल तथा मसला) को उत्पादन २.२६ प्रतिशतले वृद्धि भएको छ। गत वर्षको सोही अवधिमा समग्र कृषि बालीको उत्पादनमा ०.९५ प्रतिशतले वृद्धि भएको थियो। 

‘यस प्रदेशको कृषि वालीले ढाकेको क्षेत्रफलमा केही कमी आएतापनि कृषिमा बढेको व्यावसायिकता, सिँचाइमा भएको विस्तार, चक्लाबन्दी तथा बेमौसमी तरकारी खेतीमा आकर्षण लगायतका कारणले प्रमुख कृषि बालीको उत्पादनमा वृद्धि भएको देखिएको छ,’ प्रतिवेदनमा उल्लेख छ।

उद्योगमा एक हजार ४ सय बढीलाई रोजगारी


सुदूरपश्चिम प्रदेशमा सञ्चालनमा रहेका उद्योगहरुमा १ हजार ४ सय ५३ जनाले रोजगारी पाएका छन्। राष्ट्र बैंकको आर्थिक वर्ष ०८१/०८२ को अर्धवार्षिक आर्थिक गतिविधि अध्ययनले यस्तो देखाएको छ। 

उद्योगहरुमा काम गर्ने कामदारमा महिलाको हिस्सा ९.०२ र पुरुषको ९०.९८ प्रतिशत छ। 

ती उद्योगमा काम गर्ने कुल कामदारमध्ये २१.९५ प्रतिशत विदेशी रहेको प्रतिवेदनले औँल्याएको छ।

सुदूरपश्चिममा राष्ट्र बैंकले खाने तेल, प्रशोधित दूध, गहुँको पिठो, चामल, चिनी, काठ, साबुन, इँट, रोजिन एन्ड टर्पेन्टाइन लगायतका उद्योग दर्ता रहेकामा १३ वटा उद्योगबाट नियमित रुपमा तथ्यांक संकलन गरी अध्ययन गरेको हो। 

‘प्रशोधित दूधको उद्योग भने हाल सञ्चालनमा नरहेको हुँदा सोको विवरण यस प्रतिवेदनमा समावेश गरिएको छैन,’ प्रतिवेदनमा भनिएको छ।

सो अवधिमा यस प्रदेशका उद्योगको औसत क्षमता उपयोग ३५.७९ प्रतिशत छ। जसअनुसार तोरीको तेल र कंक्रिट उत्पादन गर्ने उद्योगको तुलनात्मक रुपमा बढी क्षमता उपयोग भएको देखिएको छ। 

चामल, गहुँको पिठो, चिनी, साबुन र इँटाको उत्पादन गर्ने उद्योगको औसत क्षमता उपयोग भएको छ भने रोजिन उत्पादन गर्ने उद्योगको क्षमता उपयोग शून्य रहेको छ।

यस्तै, कच्चा पदार्थको कमी तथा खोटो संकलनमा भएको ढिलाइका कारण रोजिनको उत्पादन शून्य रहेको छ। अध्ययनमा समेटिएका उद्योगहरुमा प्रत्यक्ष रोजगारी १ हजार ४ सय ५३ जना रहेको छ।

इँटाको उत्पादनमा १५० प्रतिशतले वृद्धि भएको छ भने अन्य सबै उद्योगको उत्पादनमा कमी आएको छ। उक्त उद्योगमा तोरीको तेल ८६.३३, चामल २१.३७, गहुँको पिठो ३९.८०, चिनी ७.३४ र साबुनको ६६.८० प्रतिशतले उत्पादन ह्रास भएको छ।

समीक्षा अवधिमा व्यापारिक गतिविधिमा आएको सुस्तता, कच्चा पदार्थको कमी, माग बढ्न नसक्नु लगायतका कारणले वस्तु उत्पादन गर्ने उद्योगहरुको क्षमता उपयोग घटेर उत्पादनमा ह्रास आएको प्रतिवेदनमा उल्लेख छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad