सुदूरपश्चिम


कैलालीमा कैदी मृत्यु घटनाको अनुसन्धानका लागि सई नाथ पक्राउ

कैलालीमा कैदी मृत्यु घटनाको अनुसन्धानका लागि सई नाथ पक्राउ

नेपालखबर
असार ५, २०८२ बिहिबार १५:४५, कञ्चनपुर

कैलाली कारागारका कैदीको मृत्यु भएको घटनामा प्रहरीका एक जना प्रहरी नायब निरीक्षक (सई) पक्राउ परेका छन्। 

घटनाको अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय कैलालीमा कार्यरत सई हरजीत नाथलाई नियन्त्रणमा लिइएको डीएसपी राजकुमार सिंहले जानकारी दिए। 

नाथलाई हिरासतमा राखेर अनुसन्धान भइरहेको छ। डडेल्धुराको भागेश्वर गाउँपालिका–५ का २८ वर्षीय हरिस सिंह पालीको कैलाली कारागारमा मृत्यु भएको थियो। 

मृतककी श्रीमती जानकी साउँदले सई नाथकै योजनामा कारागारभित्र कुटपिट गरि श्रीमानको हत्या गरिएको आरोप लगाउदै किटानी जाहेरी दिएकी छन्। 

किटानी जाहेरीको आधारमा सईलाई पक्राउ गरिएको हो। सई नाथ मृतक पाली प्रतिवादी रहेको बैंकिङ कसुर मुद्दाका वादी समेत हुन्। 

नाथले दिएको मुद्दामा पालीलाई जिल्ला अदालतले २०८० सालको फागुनमा १० दिन कैद र दुई लाख जरिवाना हुने फैसला गरेको थियो।

फरार रहेका उनलाई २९ जेठमा डडेल्धुराबाट पक्राउ गरेर  कैलाली प्रहरीले ३० गते धनगढी ल्याएको थियो। ३१ गते बिदा परेका कारण असार १ गते मात्र अदालत पेश गरिएको थियो। 

अदालतले पालीलाई सोही दिन कैद भुक्तानका लागि जिल्ला कारागार चलान गरिएको थियो। 

अर्को राति कारागारको बाथरुम नजिकै पाली अचेत अवस्थामा भेटिएपछि सेती प्रादेशिक अस्पताल लगिएकोमा सोही राति मृत्यु भएको थियो।

उनको शरीरमा घाउ, निलडाम भएकोले घटनालाई शंकास्पद भन्दै पीडित परिवारले छानविनको माग गर्दै आएको थियो।

आरोपी सई पक्राउ परेसँगै पीडित परिवार शव बुझ्न तयार भएको छ। सेती प्रादेशिक अस्पतालमा शव परीक्षण पछि परिवारको जिम्मा लगाइने प्रहरीले जनाएको छ। 

घटनको अनुसन्धानको माग गर्दै बुधबार डडेल्धुरामा आन्दोलन समेत भएको थियो।

चौतर्फी दबाबपछि जिल्ला प्रशासन कार्यालय, कैलालीले पनि घटनको अनुसन्धानका लागि सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशीको नेतृत्वमा ७ सदस्य छानबिन समिति बनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad