राजनीति


उखु किसानको अनुदान कटौती फिर्ता लिन सांसदहरूको माग

उखु किसानको अनुदान कटौती फिर्ता लिन सांसदहरूको माग

नेपालखबर
असार ५, २०८२ बिहिबार १५:४८, काठमाडौँ

राष्ट्रियसभाको आजको बैठकमा सांसदहरूले उखु किसानलाई दिइँदै आइएको अनुदान खारेज गर्ने निर्णय फिर्ता हुनुपर्ने माग गरेका छन्। बैठकमा शून्य समयमा बोल्दै सांसदहरूले सरकारले आगामी आर्थिक वर्षदेखि उखु किसानलाई दिँदै आइएको प्रतिक्विन्टल ७० को उत्पादन अनुदान खारेज गर्ने निर्णयप्रति असन्तुष्टि व्यक्त गर्दै उक्त अनुदान नरोक्न सभाध्यक्षमार्फत सरकारको ध्यानार्कषण गराएका हुन्।

विगत ३० वर्षदेखि निरन्तर उपलब्ध गराउँदै आइएको सुविधा खारेज गर्ने निर्णयले किसान मर्कामा पर्ने उनहरूको भनाइ छ। सांसद डा.बेदुराम भुसालले उक्त अनुदान नरोक्न सरकारको ध्यानार्कषण गराए। उनले भने,‘यो अनुदान रोक्नु भनेको किसानलाई असहयोग गर्नु हो तसर्थ यो निर्णय तुरुन्त फिर्ता गरियोस्।’ सांसद गोपीबहादुर सार्की अछामीले उखु किसानलाई दिइँदै आइएको अनुदान खारेज गर्दा रौतहट, सर्लाही, महोत्तरीलगायत जिल्लाका किसान निरुत्साहित हुने बताए।

सांसद मृगेन्द्रकुमार सिंह यादवले उखु किसानलाई दिइँदै आइएको अनुदान रोक्ने निर्णयबारे पुनःविचार गर्न आग्रह गरे। सांसद गोपाल भट्टराईले नारायणगढ–बुटवल खण्डको करिब ५० किलोमिटरसम्म अहिले ट्राफिक जाम हुने गरेको भन्दै विनयी खोलामा तत्काल पक्की पुल निर्माण गरी सञ्चालनमा ल्याउन माग गरे। सांसद जगप्रसाद शर्माले कृषि विकास बैंक र अन्य वित्तीय संस्थामा अवकाश कोष यथावत् राख्नुपर्ने माग गरे।

सांसद तारामान स्वाँर र सांसद शारदादेवी भट्टले कोरोना संक्रमण बढिरहेकाले सोको नियन्त्रणका लागि ध्यानार्कषण गराए। उनीहरूले भारतबाट फर्किनेसँगै कोरोना संक्रमण देखिएको भन्दै सीमानाकामा परीक्षण र उच्च सर्तकता अपनाउन आग्रह गरे। सांसद सुमित्रा बिसीले पूर्वपश्चिम राजमार्गअन्तर्गत पूर्वीनवलपरासीको विनयी खोलामा बनाइएको डाइभर्सन बाढीले बगाँउदा सडकमा सवारी आवागमन प्रभावित भएकातर्फ सम्बन्धित मन्त्रालयको ध्यानार्कषण गराइन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad