राजनीति


द्रुतमार्गको समस्याबारे खोकना र बुङमतीका स्थानीयसँग प्रधानमन्त्रीको छलफल

द्रुतमार्गको समस्याबारे खोकना र बुङमतीका स्थानीयसँग प्रधानमन्त्रीको छलफल

नेपालखबर
जेठ २६, २०८२ सोमबार १६:४८, काठमाडौँ

प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँ–तराई/मधेस दू्रतमार्ग सडक आयोजनाको सुरु बिन्दु विवाद र समाधनका उपायबारे आज ललितपुरको खोकना र बुङमतिका स्थानीयबासीका प्रतिनिधिसँग छलफल गरेका छन्।  

प्रधानमन्त्री निवास, बालुुवाटारमा प्रधानमन्त्री ओलीलाई तत्कालीन खोकना गाविसका पूर्वअध्यक्ष मदनकृष्ण डङ्गोल, नेकपा (एमाले) ललितपुर महानगर कमिटीका अध्यक्ष ज्ञानेन्द्र शाक्य, स्थानीय जनसरोकार समितिका संयोजक नेपाल डङ्गोल, एमाले ललितपुर महानगर, वडा नं २१ कमिटीका अध्यक्ष ज्ञानभक्त महर्जनसहितले भेटेर समस्या र समाधानको विकल्पबारे सुझाव दिएका हुन्। 

सरोकार समितिले खोकनामा सुरु बिन्दु कायम गर्दा परम्परागत सभ्यता र संस्कृति मासिने भएकाले सो स्थलभन्दा साढे पाँच किलोमिटर तल डुकुछापमा कायम गर्न विकल्प दिएको छ।  

रक्षा मन्त्रालयका सचिव रामेश्वर दङ्गाल, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अधिकारी र नेपाली सेनाका प्रतिनिधिसमेत सहभागी छलफलमा प्रधानमन्त्री ओलीले स्थानीय जनतालाई मर्का पर्ने गरी विकास गर्ने सरकारको ध्येय नभएको स्पष्ट गर्दै समस्याको समाधानका लागि निर्णयमा पुग्नुपूर्व आफू एक पटक स्थलगत अवलोकनमा आउने जानकारी गराए। 

यसअघि प्रधानमन्त्री ओलीले गत माघ २३ गते प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल, भौतिक यातायात तथा पूर्वाधारमन्त्री देवेन्द्र दाहाल, रक्षामन्त्री मानवीर राई, प्रधानमन्त्रीका आर्थिक मामिला सल्लाहकार डा युवराज खतिवडा, नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देल र उच्चाधिकारीको सहभागितमा आयोजनाको प्रगति र देखिएका समस्या समाधानका लागि छलफल गरेका थिए। 

कूल ७० दशमलव ९७ किलोमिटर दूरीको रु दुई खर्ब ११ अर्ब ९३ करोड लागतको सो सडक आयोजना विसं. २०७४ मा सुरु भएको हो । आयोजनाको संशोधित अवधि २०८३ चैतमा सम्पन्न गर्ने लक्ष्य रहेको छ ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad