सुदूरपश्चिम


महाकालीको बाढीले भत्काएको गाइड बन्ड निर्माण गर्दै सेना

महाकालीको बाढीले भत्काएको गाइड बन्ड निर्माण गर्दै सेना

गोकुल जोशी
जेठ १८, २०८२ आइतबार १५:१८, कञ्चनपुर

महाकाली नदीको बाढीले भत्काएको निर्माणाधीन चार लेनको पक्की पुलको गाइड बन्ड मर्मतको काम नेपाली सेनाले धमाधम गरिरहेको छ। 

बर्खा अगावै सक्ने गरी सेनाले भत्केको गाइडबण्ड मर्मतको काम तीव्र गतिमा गरिरहेको हो। गत वर्ष महाकालीमा आएको बाढीले पुलको गाइड बण्ड भत्काएको थियो। 

बर्खामा भत्केको गाइड बण्डबाट महाकालीको बाढी बस्ती पस्ने जोखिम छ। ‘भेरियसन’ नहुँदा एक वर्षसम्म गाइड बण्ड पुनर्निमाण हुन सकेको थिएन। 

जिल्ला विपद् व्यस्थापन समितिले संकटग्रस्त क्षेत्र घोषणाका लागि सिफारिस गरेपछि मन्त्रिपरिषद्को निर्णय अनुसार सेनाले भत्केको स्थानमा पुनःनिर्माणसँगै महाकाली नदीलाई बीच भागमा बगाउने गरी च्यानलाइजेसनको काम गरिरहेको छ। 

मन्त्रिपरिषद्को जेठ ६ गतेको निर्णयले महाकाली नदी किनारको गाइड बन्ड भत्केको क्षेत्रलाई संकटग्रस्त घोषणा गरी नेपाली सेनामार्फत काम गराउने निर्णय भएको थियो। 

सोही अनुसार सेनाले गाइड बन्डसँगै महाकाली नदीलाई च्यानलाइजेसन गएर पुलको बीचबाट बगाउने गरी काम गरिरहेको हो। 

‘अहिले गाइड बन्ड मर्मत र दोधारा चाँदनीतर्फ नदीलाई बीच भागमा बगाउन खन्ने काम भइरहेको छ,’ नेपाली सेनाको इन्जिनियर विभागका इन्जिनियर प्रमुख सेनानी निसान्त पण्डितले भने, ‘एक महिनाभित्र काम सक्ने गरी गरिरहेका छौँ। मौसमले साथ दिएमा त्यो सम्भव छ।’ 

अहिले नेपाली सेनाका करिब ३ सय जना जवानदेखि अधिकृतहरू महाकालीमा खटिएका छन्। ब्याकहोलोडरदेखि टिपरलगायतका ४० भन्दा बढी उपकरण प्रयोग गरेर काम भइरहेको छ। उनका अनुसार आवश्यकताअनुसार समयमै काम सक्न उपकरण थप गरिने प्रक्रियामा छ। 

भत्केको गाइड बण्ड मर्मत हुन थालेपछि भीमदत्त नगरपालिका १२ र १३ का स्थानीय बर्खामा महाकालीको बाढीले दुःख नदिनेमा आशावादी भएका छन्।

गत वर्ष भदौमा महाकाली नदीमा आएको बाढीले गाइड बन्ड भत्काएको थियो। त्यसपछि भेरिएसन नहुँदा गाइड बन्डको मर्मत हुन सकेको थिएन।

महाकाली नदीमा निर्मित चार लेनको पक्की पुलको दुवैतर्फ ६ सय मिटर चौडाइका र २८/२८ सय मिटर लम्बाइका पोखरी निर्माण गर्नुपर्ने डिजाइन छ। त्यही अनुसार दुई वर्षअघि नै स्विकृत भएको डिजाइन अनुसार गाइड बन्ड निर्माण गरिएको थियो।

सुरुमा ठूलो ढुंगाबाट गाइड बन्ड बनाउने डिजाइन बनाइको थियो। महाकाली नदीको वहावले २ सय ५० किलोग्रामभन्दा बढी तौलका ढुंगा बगाउन नसक्ने मापन गरिए अनुसार उक्त डिजाइन बनाइएको हो। तर ठूला ढुंगा नपाइएपछि डिजाइन परिवर्तन गरेर पलम्ब कंक्रिटको गाइड बन्ड बनाउने तय गरिएको छ।

सोही अनुसार गत आर्थिक वर्षमा नदीको दुवैतर्फ पुल पलम्ब कंक्रिटको गाइड बन्ड बनाइएको थियो। नदीको पूर्व भीमदत्त नगरपालिकातर्फको गाइड बन्ड महाकाली नदीको बाढीले बगाएको थियो। बगाएको सोही २ सय ६२ मिटर गाइड बन्ड र २६ सय मिटर नदीको बहाव परिवर्तन गर्ने काम गर्नुपर्नेछ।

जिल्ला विपद् व्यस्थापन समिति कञ्चनपुरले बर्खा नजिकिदै गर्दा समेत गाइड बन्डको भेरिएसन नभएपछि उक्त क्षेत्रलाई संकटग्रस्त घोषणाका लागि सिफारिस गरेको थियो। 

त्यही आधारमा गृह मन्त्रालयको सिफारिसमा मन्त्रिपरिषदले निर्णय गरेर सेना परिचालन गरेर गाइड बन्ड बनाउन लागेको छ। गाइड बन्ड र च्यानलाइजेसनका लागि १९ देखि २९ करोड बजेट खर्च हुने अनुमान गरिएको छ। 

महाकाली नदीमा निर्माणाधीन चार लेनको पुल आयोजनाको काम अन्तर्गत पक्की पुल निर्माणको काम सकिएको छ। 

पूर्व–पश्चिम राजमार्गको अन्तिम बिन्दु गड्डाचौकीदेखि दोधारा चाँदनीको मलेरिया नालासम्म ८ किलोमिटर पहुँच मार्ग निर्माणको काम अन्तिम चरणमा पुगेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad