सुदूरपश्चिम प्रदेश माओवादी संसदीय दलको नेतामा अन्तत: खगराज भट्ट फर्काइएका छन्। करिब १५ महिनापछि भट्ट दलको नेतामा पुनर्बहाली भएका हुन्।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपाध्यक्ष नन्दकिशोर पुन पासाङ, महासचिव देव गुरुङ, उपमहासचिव तथा सुदूरपश्चिम प्रदेश इन्चार्जसहितका नेताहरूको उपस्थितिमा गएराति बसेको बैठकले भट्टलाई दल नेतामा पुन:स्थापित गरेको हो।
२०८० माघ १२ गते मानबहादुर धामीको नेतृत्वमा बहुमत सांसद जुटाउँदै खगराज भट्टलाई दल नेताबाट हटाएर उनको स्थानमा धामीलाई ल्याइएको थियो।
त्यसको दल नेताको विवाद चर्किएको माओवादीमा केही महिनापछि अध्यक्ष प्रचण्ड र महासचिव गुरुङले भट्टलाई दल नेतामा पुन:स्थापित गर्न पटकपटक लिखित तथा मौखिम निर्देशन दिएका थिए। तर उक्त निर्देशन अवज्ञा भइरहेको थियो।
मध्यपहाडी लोकमार्ग केन्द्रित माओवादीको जागरण अभियानका क्रममा डडल्धुरा पुगेका प्रचण्डसहित माओवादीका पदाधिकारी र सांसदहरूको उपस्थितिमा बैठक बसेर निर्देशन कार्यान्वयन गराएको माओवादी नेताहरू बताउँछन्।
आफ्नो निर्देशनको अवज्ञा भएपछि प्रचण्डले आफूसहित पदाधिकारीको उपस्थितमा दल नेता परिवर्तन गर्ने निर्णय गरेका हुन्।
प्रचण्डको निर्देशन अवज्ञा गर्दै धामी पक्षले बहुमत जुटाएर दल नेता फेर्नुपर्ने अडान राखिरहेको थियो। नेताबाट हटाउँदा भट्टका पक्षमा सभामुखबाहेक १० सांसदमध्ये ४ जना थिए भने धामीका पक्षमा ६ सांसद थिए।
अहिले माओवादी सुदूरपश्चिम संसदीय दलमा खगराज र मानबहादुर समूहमा ५/५ सांसद भएका छन्। खगराजका पक्षमा शिवसिंह ओली, झपट साउद, रमेश धामी, जानकी पौडेल कुँवर छन्।
मानबहादुरका पक्षमा अक्कल रावल, ओमविक्रम भाट सरल, लक्ष्मी विक र गीता माल छन्।
यस्तो अवस्थामा प्रचण्डले हस्तक्षेप गर्दै दल नेता परिवर्तन गरेका हुन्।
Shares

प्रतिक्रिया