सुदूरपश्चिम


सेक्युरिटीमा काम गर्न पोल्यान्ड जान्छु भनेर गए, १५ महिनापछि रुस–युक्रेन युद्धमा मारिए अर्जुन

मेलौलीका अर्का युवा बेपत्ता
सेक्युरिटीमा काम गर्न पोल्यान्ड जान्छु भनेर गए, १५ महिनापछि रुस–युक्रेन युद्धमा मारिए अर्जुन

गोकुल जोशी
बैशाख ३१, २०८२ बुधबार २०:३०, काठमाडौँ

बैतडीको मेलौली नगरपालिका-९ असुरका ४२ वर्षीय अर्जुनदत्त भट्टलाई करिब डेढ वर्षअघि घरपरिवारले बिदा गरेका थिए। रोजगारीका लागि पोल्यान्ड जाने कुरा अर्जुनले घरमा बताएका थिए। 

टीकाटालो गरेर परिवारले अर्जुनको २०८० असोज २६ मा बिदा गरेका थिए। छोराको उज्जवल भविष्य र परिवारको आर्थिक अवस्था उकास्न अर्जुन विदेश हानिनु परेको थियो।

परिवारले बिदा गरेर सात समुद्र दुर पठाउँदा जति मनभारी थियो, तीन/चार दिनपछि सुनेको खबरले छाँगाबाट खसेझै बनायो। अर्जुनले फोन सम्पर्क गरेर आफू रुसी सेनामा भर्ना भएको परिवारलाई बताएपछि बेचैनी बढेको थियो। 

‘जाने बेला घरपरिवार कसैलाई केही बताएन। पोल्यान्डमा सेक्युरिटीमा राम्रो छ, त्यतै जान्छुँ भनेको थियो,’ अर्जुनका दाइ भीम भन्छन्, ‘सेनामा भर्ना भएपछि मात्रै परिवारलाई बतायो। चिन्ता हुन्छ भनेर नबताएको र अब चिन्ता केही नमान्नु भनेर भन्थ्यो।’

अर्जुनदत्त भट्ट

अर्जुन रुसी सेनामा भर्ना भएपछि सुरुआतमा परिवारसंग सम्पर्क भइरहन्थ्यो। तीन महिनासम्म निरन्तर सम्पर्क भयो। तर त्यसपछि भने अर्जुन परिवारको सम्पर्कमा आएनन्। ‘वारमा युक्रेन जाँदैछु। फोन सम्पर्क गर्न दिँदैन, नआत्तिनुहोला। फुर्सद पाए भने सम्पर्क गरिहाल्छु भन्थ्यो,’ दाइ भीम भन्छन्, ‘त्यसपछि उ कहिल्यै सम्पर्कमा आएन।’

युद्धमा खटिएका अर्जुनबारे कुनै जानकारी नपाएपछि परिवार बेचैनसंगै चिन्तित थियो। सम्पर्कविहीन भएको करिब १५ महिनापछि २०८२ बैशाख २६ गते अर्जुनको मृत्यु भएको पुष्टि भयो। 

रुस-युक्रेन युद्धमा अर्जुन मारिएको परराष्ट्र मन्त्रालयले पुष्टि गरेपछि शनिबार परिवारले कुशको शव बनाएर अन्तिम संस्कार गरेको छ।

अर्जुनको घरमा श्रीमती र १५ वर्षीय छोरा छन्। छोरा आर्मी स्कुल तेघरीमा कक्षा ९ मा पढ्छन्। अर्जुन नेपाली सेनामा काम गर्थे। संकटकालमा विद्रोही माओवादीसंग युद्ध लडेका उनी आर्मीबाट रिटायर्ड भएपछि घरमै थिए।

परिवारका अनुसार उनी ५ वर्षअघि रिटायर्ड भएका थिए। नेपाली सेनामा हुँदा शान्ति सेनामा विदेश गएका थिए। उनै अर्जुन विदेशी भूमिमा युद्धमा ढलेका हुन। होनाहार युवा गुमाएपछि मेलौली नगरपालिका शोकमग्न छ। परिवार विक्षिप्त छ। 

मेलौली नगरपालिका-७ का मनोज भाट पनि रुसी सेनामा छन्। उनी पनि परिवारको सम्पर्कमा नआउँदा परिवार चिन्तित छ।

मनोजको अत्तोपत्तो चलेको छैन। अवस्था पत्ता लगाएर आधिकारिक जानकारी गराइदिन परिवारले सरकारसंग माग गरेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad